नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष तथा वरिष्ठ पत्रकार रामानन्द प्रसाद गुप्ताको निधन भएको छ ।
विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा शुक्रबार राति साढे २ बजे उनको निधन भएको हो ।
गत बुधबार उच्च रक्तचाप भएपछि ६० वर्षीय गुप्तालाई परिवारजनले विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरेका थिए । उनी विगत लामो समयदेखि रक्तचापकाे समस्याबाट ग्रसित थिए।
सिरहामा पत्रकारिताको जग गाडेका गुप्ता त्यहाँबाट ब्रोडसिट अखबार प्रकाशन गर्ने पहिलो व्यक्ति हुन् । जिल्लामा उनको योगदान अविस्मरणीय रहेको सिरहाका पत्रकारहरूको भनाइ छ ।
नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राजेशकुमार कर्णले उपाध्यक्ष गुप्ताको निधनले आफूहरू मर्माहित भएको बताए । उनले गुप्ताको निधनले सञ्चारजगतमा ठूलो क्षति पुगेको बताउँदै परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासमेत गरेका छन् ।
गुप्ताको पार्थिव शरीरमाथि नेपाल पत्रकार महासंघ सिरहा शाखाले झण्डा ओढाएर सम्मान प्रकट गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।