नेपाली युवा उद्यमी मञ्ज (एनवाइइएफ) वीरगञ्ज र लेडिज सर्कल नेपालको सहकार्यमा वीरगन्जमा युवा महिला उद्यमी सम्मेलन सम्पन्न भएको छ । मोफसलमै पहिलो पटक यस्तो सम्मेलनको आयोजना गरिएको थियो ।
सम्मेलनमा प्रदेश २ का उर्जा तथा खानेपानी विकासमन्त्री ओमप्रकाश शर्माले आर्थिक रुपमा महिला सशक्तीकरणविना देशको आर्थिक कल्पना गर्न नसकिने बताए ।
आर्थिक रुपमा महिला सशक्तीकरणको विषय अगाडि आएता पनि नेपालका सन्दर्भमा अझै पनि महिलाले आर्थिक क्रियाकलापमा सहभागिताको समान अवसर नपाएको मन्त्री शर्माले जनाए ।
उद्यम व्यापारमा युवा महिलालाई अघि बढाउन नीतिगत सुधार र योजनाको आवश्यकता रहेको मन्त्री शर्माले औंल्याए । उनले प्रदेश नं. २ को सरकार महिला उद्यमशीलता प्रवद्र्धनमा प्रतिबद्ध भएको पनि उल्लेख गरे ।
उद्यमशीलता अघि बढाउन सरकार र उद्यमीबीच समन्वय र सहकार्य जरुरी भएको उनको भनाइ थियो । उनले प्रदेश २ का उद्यमी महिलालाई उर्जामा सहुलियत दिने आश्वासन दिए ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले उद्यम व्यापारका क्षेत्रमा महिलाको उल्लेख्य सहभागितामा जोड दिँदै महिला उद्यमी र उद्यमशीलता प्रवद्र्धनमा संघले सहकार्य गर्दै आएको बताए ।
सो अवसरमा एनवाइइएफले वीरगन्जकी ८० वर्षीया महिला उद्यमी भगवती अग्रवाललाई सम्मानित गरेको थियो । अर्थतन्त्रमा महिलाको सक्रिय सहभागिताबारेमा अन्तरक्रिया र महिलाहरूको उद्यमयात्राको अनुभव आदानप्रदान भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।