अमेरिकासहित १० देशका राजदूत ‘अवान्छित व्यक्ति’ घोषित, टर्की छाड्न आदेश

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले घरेलु मामिलामा हस्तक्षेप गर्न खोजेको भन्दै अमेरिकासहित १० देशका राजदूतलाई अवान्छिन व्यक्ति घोषित गर्दै देश छाड्न आदेश दिएका छन् । 

उनले टर्कीको विदेश मन्त्रालयलाई यो आदेश कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । 

अमेरिकासहित १० देशका राजदूतले टर्कीका अभियन्ता उस्मान कवलालाई रिहा गर्न माग गर्दै विज्ञप्ति जारी गरेका थिए । उस्मान कवला चार वर्षदेखि जेलमा छन् ।

उनीमाथि सन् २०१३ मा देशव्यापी विरोध प्रदर्शनका लागि रकम जम्मा गरेको आरोप लागेको छ । टर्कीले सन् २०१६ मा भएको असफल सैन्य ‘कू’ मा पनि उस्मानको हात रहेको आरोप लगाएको छ ।

उनले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । उनलाई सन् २०१७ मा पक्राउ गरी दोषी ठहर नगरी जेलमा राखिएको छ । 

१८ अक्टोबरमा अमेरिका, फ्रान्स, जर्मनी, क्यानडा, डेनमार्क, नेदरल्याण्ड, नर्वे, स्वीडेन, फिनल्याण्ड र न्युजिल्याण्डका राजदूतले संयुक्त विज्ञप्ति जारी गर्दैै उनको रिहाईको माग गरेका थिए । उनीहरुले उस्मान कवलाका विषयमा तत्काल निर्णय लिन दबाब दिएका थिए ।



टर्कीले राजदूतहरुको विज्ञप्ति गैरजिम्मेवार भएको बताएको छ । टर्कीको विदेश मन्त्रालयले यी देशका राजदूतलाई ‘परसोना नन ग्राटा’ घोषित गरेको छ । यसको अर्थ राजदूतलाई अवान्छित व्यक्ति घोषणा गरिएको हो । १० देशका राजदूतलाई ४८ देखि ७२ घन्टाभित्र देश छाड्न आदेश दिएको हो । 

कुनै पनि देशले कूटनीतिज्ञलाई देश निकाला गन सक्ने भए पनि राजदूतलाई नै देश निकाला गरेकाले टर्कीले गरेको कारबाही अन्तर्राष्ट्रिय नियम विपरीत हुन सक्छ । टर्कीले यसअघिदेखि नै अमेरिकाको कडा प्रतिबन्धको सामना गरिरहेको छ । यद्यपि यस विषयमा पश्चिमा राष्ट्रको कुनै प्रतिक्रिया आएको छैन । 
 
 



  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार ७:२२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया