\
आइसिसी टि-२० पुरुष विश्वकप अन्तर्गत आइतबार सुपर १२ का २ खेल हुँदैछन् ।
सुपर १२ को समूह ‘१’अन्तर्गत आज हुने पहिलो खेलमा श्रीलंकाले बंगलादेशको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सारजाह क्रिकेट मैदानमा हुनेछ ।
पहिलो चरण पार गरेर सुपर १२ मा स्थान बनाएका दुवै टोली आजको खेल जित्दै सुखद् सुरुवात गर्ने सोचमा हुनेछन् ।
श्रीलंकाले पहिलो चरणबाट समूह ‘ए’को विजेता तथा बंगलादेशले समूह‘बी’को उपविजेताका हैसियतले सुपर १२ मा स्थान पक्का गरेका हुन् ।
विश्व क्रिकेटको ध्यान भने दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार राति पौने ८ बजे आज हुने दोस्रो खेलमा हुनेछ ।
किनकि समूह ‘२’अन्तर्गत यो खेलमा विश्व क्रिकेटका दुई ठूला प्रतिस्पर्धी भारत र पाकिस्तान भिड्दै छन् । यी दुईबीचको प्रतिस्पर्धालाई केबल खेलसँग मात्र नभएर देशको प्रतिष्ठासँग पनि जोडेर हेरिन्छ ।
यो खेल केबल भारत र पाकिस्तानको मात्र नभएर वर्तमान समयमा टि-२०का दुई उत्कृष्ट ब्याटर विराट कोहली र बाबर आजबीचको पनि प्रतिस्पर्धा हो ।
विराटले भारत तथा बाबरले पाकिस्तानको नेतृत्व सम्हाल्नेछन् । टि-२० दुई उत्कृष्ट टोलीबीचको प्रतिस्पर्धा निकै रोमान्चक हुने अनुमान लगाउन सकिन्छ ।
टि-२० विश्वकपको इतिहासलाई हेर्ने हो भने भारत नै बलियो देखिन्छ । यसअघिका पाँचै भेटमा भारत विजयी भएको छ ।
यी दुईले पहिलोपटक सन् २००७ को विश्वकपमा एक अर्काको सामना गरेका थिए । उक्त खेल निर्धारित २० ओभरमा बराबरी सकिएपछि भारत बोल आउटका आधारमा विजयी भएको थियो ।
सन् २०१६ मा भएको पछिल्लो भेटमा भारत ६ विकेटले विजयी भएको थियो । पाँच वर्षपछि पाकिस्तानसँग प्रतिस्पर्धा गर्दा भारतको लक्ष्य आफ्नो जितको यात्रालाई कायम राख्ने हुनेछ ।
पछिल्लो समय लयमा देखिएको पाकिस्तान पनि इतिहास भुलाउँदै टि-२० विश्वकपमा पहिलोपटक भारतलाई हराउने प्रयासमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।