ब्याजदरको रफ्तारमा राष्ट्र बैंकले देखायो ‘यल्लो कार्ड’
फरकधार / ७ कात्तिक, २०७८

बैंकमा निक्षेप तथा कर्जाको ब्याजदरले वित्तीय बजारमा तरंग पैदा गरिदिएिको छ । बैंकहरुले तरलतामा चाप पर्दा व्यवस्थापनका लागि भन्दै धमाधम निक्षेपको ब्याजदर बढाएपछि यो विषयमा चर्चा हुन थालेको हो ।



निक्षेपमा बैंकहरुले दिने ब्याजदर दोहोरो अंकमा पुगेपछि नेपाल राष्ट्र बैंकले कडा हस्तक्षेप नै गर्नुपर्‍यो । राष्ट्र बैंकले जुनसुकै निक्षेपमा पनि अघिल्लो महिनाको प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्रै परिवर्तन गर्न पाइने व्यवस्था गरेपछि बैंकहरु एकाएक हच्किए । 

राष्ट्र बैंकको यल्लो कार्ड !

बैंकहरुले निक्षेपमा ब्याज बढाएर कर्जाको ब्याजदर पनि बढाउने र कर्जा प्रवाह घटाउने उद्देश्य राखेपछि व्यवसायीहरुले निरन्तर दबाब दिए, त्यसपछि राष्ट्र बैंक एक्सनमा गएको थियो । निक्षेपको तुलनामा कर्जा प्रवाह बढेपछि बैंकहरुले लगानीयोग्य रकम अपुग हुन नदिन भन्दै निक्षेप बढाउन ब्याज बढाउँदा बैंकहरुले सिडी रेसियोको सीमा पनि नाघेका थिए । 



चालू आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले सिडी रेसियोलाई ९० प्रतिशतको सीमामा राख्नुपर्ने व्यवस्थामा दबाब सृजना भएको थियो । विभिन्न १० वाणिज्य बैंकले सीमा नाघ्दै ९० प्रतिशत नघाएका थिए । 

बैंक अफ काठमान्डू, ग्लोबल आइएमई, हिमालयन, कुमारी, मेगा, एनसिसी, नेपाल इन्भेस्टभेन्ट, एनएमबी, नेपाल एसबिआई र प्राइम बैंकको सिडी रेसियो ९० प्रतिशत नाघेको हो । यी बैंकहरुले राष्ट्र बैंकले हस्तक्षेप नै गरेपछि अहिले कर्जा प्रवाह रोकेका छन् । 

बैंकहरुमा ब्याजदरमा चर्को प्रतिस्पर्धा भएको यो पहिलो पटक होइन । जबजब बजारमा तरलतामा संकुचन पैदा हुन्छ, तबतब अन्य तरिकाले व्यवस्थापन गर्नुभन्दा पनि कर्जामा चर्को ब्याज असुल्ने रणनीति नै बनाउँछन् । राष्ट्र बैंकले यसलाई अस्वस्थ प्रतिस्पर्धा भने पनि बैंकहरुले यसलाई स्वीकार गरेका छैनन् । 

बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल समयसमयमा ब्याजदर घटबढ हुनु स्वाभाविक प्रक्रिया भएको बताउँछन् । उनी भन्छन्, यो स्वाभाविक प्रक्रिया हो । यसलाई अस्वस्थ प्रतिस्पर्धा भन्न मिल्दैन ।’

मैदानमा खेल खेलिरहँदा कहिलेकाहीँ फल (गल्ती) हुँदा यल्लो कार्ड देखाएजस्तै राष्ट्र बैंकको निर्देशन भएको बताउँदै दाहाल भन्छन्, ‘हामी मैदानमा खेलिरहेका छौं । खेल्दाखेल्दै कहिलेकाहीँ फल हुनु स्वाभाविक हो । राष्ट्र बैंकले यल्लो कार्ड देखाएको हो ।’ 

बैंकहरुले ब्याजदर बढाउँदा लगानीकर्ता अर्थात् कर्जा लिनेहरुलाई बेफाइदा भए पनि सर्वसाधरण वचतकर्ताहरुलाई भने फाइदा नै हुन्छ । बैंकिङ प्रणालीमा निक्षेपको ब्याज बढ्दा सर्वसाधारणले राखेको निक्षेपमा राम्रो ब्याज आउँछ । 

घट्दै निक्षेप, कर्जामा सुस्तता

बैंकहरुले निक्षेपमा ब्याज बढाएपछि असोज लागेपछि बैंकिङ प्रणालीमा निक्षेप बढिरहेको थियो । तर, पछिल्ला साता तरलतामा उच्च चाप परेपछि पुनः बैंकिङ प्रणालीबाट निक्षेप घटिरहेको छ ।   

यही कात्तिक २ गते मंगलबार बैंंकिङ प्रणालीमा रहेको निक्षेपबाट एकै दिनमा ११ अर्ब घटेको देखिएको छ । मंगलबार बैंंकिङ प्रणालीमा ४२ खर्ब ५४ अर्ब निक्षेप रहेकोमा बुधबार ४२ खर्ब ४३ अर्बमात्रै रहेको देखिन्छ ।  

गत आवको अन्तिम अर्थात् गत असार मसान्तमा वाणिज्य बैंकहरूमा ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप थियो । त्यसपछि गत साउन मसान्तमा यस्तो निक्षेप ४१ खर्ब २३ खर्ब रुपैयाँ पुगेको थियो भने भदौ मसान्तमा ४१ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको थियो । असोजको पहिलो सातासम्म यस्तो निक्षेप ४१ खर्ब ८० अर्ब रुपैयाँ थियो । 

त्यसपछि गत असोज ११ गतेसम्म आइपुग्दा त्यस्तो रकम ४१ खर्ब ४६ अर्ब संकलन भएको थियो । असोज तेस्रो साता पुग्दा चालू आवमा भएको घाटा परिपूर्ति गर्दै १ खर्ब ३ अर्बले निक्षेपमा बृद्धि हुँदै ४२ खर्ब ४९ अर्ब पुगेको थियो ।  

बैंकिङ प्रणालीमा रकम अभाव भएको भन्दै बढेको ब्याजदरका कारण कर्जा प्रवाहमा पनि उस्तै सुस्तता देखिन्छ । असोज २० गते बुधबारसम्ममा वाणिज्य बैंकहरूको कर्जा लगानी ३९ खर्ब ९६ अर्ब रुपैयाँ छ ।

गत आवको अन्तिम अर्थात् असार मसान्तमा वाणिज्य बैंकहरूको कर्जा लगानी ३७ खर्ब २१ अर्ब रुपैयाँ थियो । यस्तो लगानी साउन मसान्तमा ३७ खर्ब ६४ अर्ब पुगेको थियो । भदौ मसान्तमा बैंकहरूले ३८ खर्ब ७२ अर्ब मात्रै कर्जा प्रवाह गर्न सकेका थिए । 

असोजको पहिलो सातासम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरुले ३९ खर्ब ११ अर्ब कर्जा प्रवाह गरेका थिए । दोस्रो साताको मंगलबारसम्ममा कर्जा ३९ खर्ब १८ अर्ब रुपैयाँ पुगेको थियो । तेस्रो सातासम्ममा बैंकहरुले प्रवाह गरेको कर्जाको आकार ४३ अर्बले बढ्दै ३९ खर्ब ६१ अर्ब थियो ।

तरलताको चाप उस्तै

बजारमा तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकको निरन्तर प्रयास गरिरहे पनि चाप भने उस्तै छ । अहिले बैंकिङ प्रणालीमा जम्मा ५० अर्ब रकम मात्रै लगानीयोग्य पुँजी रहेको छ ।  

बैंकिङ प्रणालीमा कर्जा प्रवाहका लागि तरलता (रकम) अभाव हुँदा नियामक निकाय राष्ट्र बैंकले व्यवस्थापन गर्दै आएको छ । साधारण प्रकृतिको तरलता अभावको स्थिति बनेमा ‘खुला बजार कारोबार सञ्चालन समिति’को नीतिअनुसार रिपो जारी गरिन्छ भने बैंकहरुले तोकिएको ब्याजदरमा स्थायी तरलता सुविधाको पनि उपयोग गर्ने गर्छन् ।  

चालू आव सुरु भएपछि बैंकिङ प्रणालीमा रकम अभाव भएपछि राष्ट्र बैंकले सातौं पटक रिपो जारी गरिसकेको छ । 

पछिल्लो पटक यही ४ गते साताैं पटक गरी चालू आर्थिक वर्षभरिमा १ खर्ब ६० अर्बको  रिपो जारी गरिसकेको छ ।  राष्ट्र बैंकले जारी गरेको रिपो लिनका लागि ४ खर्ब ५ करोडको आवेदन परेको छ । यसले बजारमा तरलताको संकट निकै माथि पुगिसकेको संकेत गर्छ ।  

यति मात्रै होइन चालू आवमा झण्डै ९ खर्बभन्दा बढीको स्थायी तरलता सुविधा एसएलएफ पनि बैंकहरुले लिइसकेका छन् । चालू आव सुरु भएपछि गत शुक्रबार अर्थात् कात्तिक ५ गतेसम्ममा विभिन्न बैंकहरुले ४ सय ७४ पटक गरी ९ खर्ब ७७ अर्ब २४ कोड रुपैयाँ यस्तो कर्जा सुविधा लिएका छन् । 

एसएलएफ सुविधा गत महिनाको अन्तिम सातासम्ममा ६ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँ मात्रै लिएका थिए । योबीचमा तरलतामा यति धेरै चाप प¥यो दसैंको समयमा समेत दुई सातामा वाणिज्य बैंकहरुले २ खर्ब ८३ अर्ब रकम एफएसएल सुविधाको प्रयोग गरेका छन् ।   

पछिल्लो तथ्यांकअनुसार एसएलएफ र रिपो गरेर राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाहरुको दायित्व ८८ अर्ब ८५ करोड पुगेको छ ।
 

  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार ११:५८:५,   अन्तिम अपडेट : कात्तिक ७, २०७८ आइतबार १५:५७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया