नेपालले उत्कृष्ट नतिजाका लागि सक्दो प्रयास गर्नेछ : प्रशिक्षक महर्जन

नेपाली राष्ट्रिय यू–२३ फुटबल टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले एएफसी यू–२३ एसियन कप छनोटमा राम्रो नतिजा निकाल्न तयार रहेको बताएका छन् ।ताजिकिस्तानमा आइतबार प्रि–म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक महर्जनले राम्रो नतिजाका लागि टिम तयार रहेको बताएका हुन् ।

विपक्षी टिम बलिया भए पनि आफूले राम्रो नतिजाका लागि सक्दो प्रयास गर्ने उनले बताए । ‘हाम्रा विपक्षीहरू गुणस्तरीय र बलिया टोली छन् । हामीले यो वास्तविकतालाई स्वीकार गर्नुपर्छ । तर, हामी राम्रो नतिजाको लागि तत्पर छौं । मेरा केटाहरू र म सक्दो प्रयास गर्नेछौँ,’ प्रशिक्षक महर्जनले भने ।

प्रशिक्षक महर्जनले साफ च्याम्पियनसिपको कारण टिमले छोटो तयारी मात्र गर्न सकिएको बताए । ‘प्रशिक्षकको रूपमा छनोटका लागि तयारी गर्न थोरै समय थियो । हामीले एक टोलीको रूपमा केही हप्ता मात्र प्रशिक्षण गर्न सक्यौं,’ उनले भने, ‘किनकी अधिकांश खेलाडी साफ च्याम्पियनसिपको लागि सिनियर टोलीमा थिए ।’

नेपाली टोलीका कप्तान तथा गोलकिपर अर्पण कार्कीले टिमको तयारी राम्रो रहेकाले प्रतिस्पर्धाका लागि टिम तयार भएको समेत बताए । ‘हामी एक टिमको रूपमा सबै प्रशिक्षण सत्रहरू गर्दैछौँ, हामीले राम्रो प्रशिक्षण गरेका छौँ । इन्डोनेसियासँगको मैत्रीपूर्णले हामीलाई सहयोग गर्‍यो,’ अर्पणले भने, ‘हामी कडा प्रतिस्पर्धाका लागि तयार छौँ ।’

छनोटको समूह ‘बी’ मा नेपालसहित ताजिकिस्तान, लेबनान र इरान छन् । नेपालले समूह चरणको पहिलो खेलमा भोलि सोमबार इरानसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा ताजिकिस्तानसँग १८ अक्टोबरमा खेल्दा अन्तिम खेल लेबनानसँग ३१ अक्टोबरमा खेल्नेछ ।

नेपाली टोलीले तयारी स्वरूप शुक्रबार इन्डोनेसियाको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल २–० ले पराजित भएको थियो । 



छनोटबाट पत्येक समूहका शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो हुने मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् ।

मुख्य प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म उज्वेकिस्तानमा हुनेछ । 
 



  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १४:१६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया