२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

प्रधानमन्त्रीलाई सांसद महतोको प्रश्न : कर्णाली प्रदेशको अवलोकन गर्नु पर्दैन, त्यहाँ मान्छे बस्दैनन्?

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावित कर्णाली प्रदेशको स्थलगत अवलोकन नगरेकोमा आपत्ति जनाएका छन् । 

हुम्लाका सांसद महतले आफूले आग्रह गर्दा पनि प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्मा सुदूरपश्चिम प्रदेश पुगेर पनि नजिकैको कर्णाली प्रदेश नपुगेकोमा आपत्ति जनाएका हुन् । 



संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा उनले कर्णाली प्रदेशमा बाढीपहिरोको कारण ठूलो अन्नबाली नष्ट हुँदा स्थलगत अवलोकनका लागि नजाने प्रधानमन्त्री सुदूरपश्चिम प्रदेश भने आफ्नो निर्वाचन क्षेत्र भएर गएको आरोप पनि लगाए । सांसद महतले कर्णाली प्रदेशका पनि मान्छे हुन भन्ने कुराको हेक्का राख्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । 

‘बाढीपहिरोले क्षति भयो, पश्चिममा प्रधानमन्त्री पुग्नु भयो । आफ्नो क्षेत्र भएको हो कि, अथवा आफ्नो पार्टीले बोलाएर हो कि? कर्णालीका त मान्छे होइनन् । कर्णालीमा जानु पर्दैन क्या हो? कर्णाली कस्तो अवस्थामा छ? त्यहाँ कति खाद्यान्न नष्ट भयो? त्यहाँ पनि मान्छे बस्छन् । त्यहाँ पनि विद्यालय छ, त्यहाँ विद्यालय बगाएको छ,’ सांसद महतले भने, ‘त्यहाँ धानखेती यति चौपट भएको छ, मार्सी धानको बीऊ पाउन मुस्किल भइसक्यो । त्यहाँ पनि मान्छे बस्छन् । प्रधानमन्त्रीलाई, अर्थमन्त्रीलाई मैले भने– काठमाडौं गएर सल्लाह गरौंला रे । त्यहाँ गएर सान्त्वना दिएर आउँदा भइहाल्थ्यो नि ।’ 



प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले बाढीपहिरोबाट अवरुद्ध सडक तत्काल सुचारु गराउन सरकारसँग माग गरेका छन् । उनले मनाङ, बाजुरा र बझाङ जिल्लाको यातायात ठप्प भएकाले त्यसलाई तत्काल सुचारु गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेका हुन् ।

यता, सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले ८/१० दिनभित्र बाढीपहिरोले अवरुद्ध सबै सडक सुचारु गराउने प्रतिवद्धता जनाइन् । उनले अवरुद्ध सडक सुचारु गराउने काममा तीव्रता दिन पनि मातहतका सबै निकायलाई निर्देशन दिएकी छन् ।



  • प्रकाशित मिति : ७ कात्तिक, २०७८ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया