बढ्दो चाउचाउ संस्कृतिसँगै बढिरहेको जोखिम
फरकधार / ८ कात्तिक, २०७८

‘चट्ट पिरो राखेर चाउचाउ बनाउनुस् है ।’ काठमाडौंको बानेश्वर चोकमा रहेको मिडचोक खाजाघरमा पसेर एक महिला ग्राहकले भनिन् । उनको खाजा नबनिसक्दै आएका ५ जना टिनएजरको समूह पनि खाजामा चाउचाउ खानै तम्सियो । उनीहरूकाे मागको स्वाद भने अलि फरक थियो । उनीहरूले भने, ‘चाउचाउ साँधेर खाने । चारवटा बनाइदिनुस्, चट्ट पिरो अमिलो पनि है ।’



‘वाउ कति मिठो !’ चाउचाउका विभिन्न स्वादमा रमाउनेहरू बच्चादेखि वृद्धसम्म धेरै छन् ।  अर्थात् नेपालमा चाउचाउ भित्रिएदेखि यसको स्वाद वरिपरि झुम्ने प्रशस्तै छन्। 

जापानबाट नेपालसम्म ‘छाउछाउ’

चाउचाउको नाम पहिला छाउछाउ थियो । नेपालमा यसको व्यावसायिक उत्पादन सुरु भएपछि मात्रै यसको नाम चाउचाउ राखिएको हो । कल्चरकाे रूपमा जापानी समुदायबाट सुरु भएको हो । जापानी उद्योगी ममफुकु आन्दोले सन् १९५८ मा ‘चिकेन रामेन’ नामक तयारी ‘छाउछाउ’को उत्पादन गर्दै उपभोक्तासामु पठाएका थिए।



सुरुवाती बेला चाउचाउ ‘छाउछाउ’को नामले चिनिन्थ्यो । जापानबाट सुरु भएको छाउछाउ अन्य देशहरूमा पनि यही नामले चिनिन्थ्यो । पछि त्यही छाउछाउ चीनमा भित्रिएपछि यसको बजार बिस्तार भयो । यसरी जापान हुँदै चीन, कोरिया, थाइल्यान्ड सुरुवाती वर्षहरूमा तातोपानीमा दुई मिनेट डुबाएपछि खान मिल्ने छिटो र सहज खाजाका रूपमा जापानमा यसको खपत बढ्दै गयाे। प्रविधि र अन्य विकाससँगै पछिल्लो समय रोजगारी र पढाइका सिलसिलामा पूर्वी मुलुकमा नेपालीको ‘कनेक्टिभिटी’ बढ्दै गएपछि यहाँ पनि छाउछाउ संस्कृति बढ्न थाल्यो ।

जसअनुसार नेपालमा चाउचाउको उपभोग निकै बढिरहेको देखिन्छ । गत वर्ष सन् २०२० मा गरिएको एक अध्ययनअनुसार विश्वभरिको चौधौं नम्बर तयारी चाउचाउको उपभोक्ताहरू रहेका छन् । त्यसअघिको वर्ष सन् २०१९ मा संसारभर १ खर्ब ६ अर्ब प्याकेट तयारी चाउचाउ बिक्री भएकोमा नेपालमा मात्रै १ अर्ब ६४ करोड प्याकेट चाउचाउको खपत भएको थियो । सो वर्ष चाउचाउ खपत गर्ने मुलुकमा नेपाल १३ औं स्थानमा थियो । सो वर्ष ४१ अर्बभन्दा बढी तयारी चाउचाउको प्याकेट खपत गर्दै चीन पहिलो स्थानमा थियो ।

यसरी छिमेकी मुलुक चीनमा पनि चाउचाउको उच्च प्रयोगसँगै नेपालमा पनि यसको प्रयोग बढिरहेको छ । अहिले नेपाली बजारमा वाइवाई, रारा, रम्बा, टु पिएम प्रितिलगायतका चाउचाउ छन् । 

नेपालमा चाउचाउ इतिहास

३० को दशकसम्म विभिन्न देशमा कामका सिलसिलामा गएकाहरूले तयारी चाउचाउ बोकेर नेपालमा स्वाद चखाउँथे । पछि पोखराका केही व्यवसायीहरू मिलेर जापानबाटै प्रविधि मगाइ रारा चाउचाउको उत्पादन गरेका हुन् । २०४१ सालपछि रेडियो नेपालबाट घन्किने ‘आरए आरए रारा, मिठो भन्छन् सारा’ भन्ने विज्ञापन रारा चाउचाउलाई गाउँगाउसम्म पुर्‍याएकाे हो ।  पोखरामा स्थापित गण्डकी नुडल्स प्रालिले २०३९ सालदेखि नै उत्पादन सुरु गरेको रारा चाउचाउले बजार पाउन निकै सकस परेको थियो । सुरुवाती चरणमा उत्पादनकर्ताहरू आफैंले चाउचाउ पकाएर खान दिएर पल्काएको पनि भन्ने गरिन्छ ।
 
लमजुङका बेलायती सेनाबाट सेवानिवृत्त भएका फणिन्द्रमान श्रेष्ठले पोखराको महेन्द्रपुलमा किराना पसल खोलेर विदेशी चाउचाउ बेच्दथे । लामो समयदेखि पाचनको समस्या खेपिरहेका फणिन्द्रमानको गत सातामात्रै उपचारका क्रममा निधन भयो । उनै फणिन्द्रमानको पसल नजिकै पोखराकै कृष्ण आचार्यले खाजा पसल चलाएका थिए । यी दुबै जनाको  हितैषी सम्बन्धले सिन्के चाउचाउ उत्पादन गर्ने उद्योग स्थापना भयो । तर, सिन्के चाउचाउ उद्योग चल्न सकेन ।

पछि गएर ५० जनाभन्दा बढी लगानीकर्ता मिलेर गण्डकी नुडल्स प्रालि स्थापना गरी रारा चाउचाउ उत्पादन भएको हो । गण्डकी नुडल्सले नेपालीलाई उच्चारण गर्न सहज हुने भन्दै चाउचाउ नाम राखेको तत्कालीन उद्योगी आचार्य बताउँछन् । 

आचार्य भन्छन्, ‘नाम जुराउनेदेखि राराले रेडियो नेपालमा विज्ञापनसँगै बजार पाउन थालेपछि २०४१ सालमै चौधरी ग्रुपले थाइल्याण्डको निकै लोकप्रिय ब्राण्ड वाइवाईलाई नेपाल ल्यायो ।  राराभन्दा फरक चटपटे स्वादको वाइवाईको बजार निकै माथि पुग्यो ।’ 

चौधरी ग्रुपकाे उत्पादन वाइवाई नेपालसँगै कयौं देशमा पुगिसकेको छ । अहिले बजारमा झण्डै एक दर्जन चाउचाउको ब्राण्ड भए पनि चाउचाउ भन्ने वित्तिकै वाइवाई मात्रै सम्झिनेहरू धेरै छन्। अन्य चाउचाउहरूले सानो बजारहिस्सा मात्रै ओगटेका छन् ।
 
नेपालमा चाउचाउ संस्कृति

पछिल्लो दशकमा घर-घरमा चाउचाउ संस्कृतिजस्तै बनिसकेको छ । ३० को दशकअघि विदेशबाट लाहुरेहरूले कोसेलीको रूपमा ल्याउने गरेको चाउचाउ यतै उत्पादन हुन थालेपछि हरेक नेपालीको जिब्रोमा झुण्डिएको छ ।
 
अहिले चाउचाउ नखाने मान्छे सायदै भेटिएला । अर्गानिक खानेकुरा प्रशस्त पाउने गाउँघर दूरदराजमा पनि अभिभावकले आफ्ना बालबच्चाहरूलाई पैसा दिएर खाजाको रूपमा चाउचाउ खाऊ भन्दै फकाउने संस्कृति बढिरहेको छ ।
  
हरेक किराना पसलहरूमा एक दर्जन बढीका नेपाली र आयातित उत्पादनका चाउचाउ पाइन्छन्। यसले चाउचाउको संस्कृति बढिरहेको देखिन्छ ।  यद्यपि खस आर्य समुदायका उपल्लो भनिने वर्गको भान्सामा चाउचाउ पुग्न भने केही समय लागेको देखिन्छ ।  खासगरी ब्राह्मण वर्गहरूले यसमा मिसाउने वस्तुहरूबारे प्रश्न उठाउने गर्दथे । खानामा भात रोटी पाक्ने गरे पनि धेरै नेपालीहरूको भान्सामा खाजाका रूपमा चाउचाउ पाक्ने क्रम बढिरहेको पाइन्छ ।

बढ्दो जोखिम

बढ्दाे चाउचाउ संस्कृतिले स्वास्थ्य समस्या बढिरहेको भन्दै सरोकारवाला भने चिन्तित छन् ।  चाउचाउमा स्वादका लागि प्रयोग हुने अजिनोमोटो र मैदाले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने चिकित्सकहरू बताउँछन् । चिकित्सकहरूले सुझावका आधारमा केही वर्षअघि बजारमा चाउचाउलाई प्रतिबन्ध नै लगाउनेबारे स्वास्थ्य मन्त्रालयमा छलफल नै भएको थियो । तर, व्यावसायीहरूको चर्को दबाबकाबीच केही सीप लागेन । 

तर, अजिनामोटो र मैदाको उच्च प्रयोग हुने चाउचाउ र यस्तै प्रकृतिका खानेकुराहरू मानव स्वास्थ्यका लागि निकै घातक रहेको चिकित्सकहरूकाे भनाइ छ । बढ्दो चाउचाउ संस्कृतिसँगै विभिन्न रोग भित्रिरहेको दाबी पोषणविद् डा. अरुणा उप्रेती बताउँछिन् । ‘जंक फुड’ का रूपमा रहेको चाउचाउ मानव शरीरका लागि निकै हानिकारक रहेको भन्दै पोषणविज्ञ डा.उप्रेती भन्छिन्, ‘चाउचाउ पत्रुखाना हो । अर्थात् यसले मानव शरीरमा फाइदाको तुलनामा निकै बेफाइदा गरिरहेको हुन्छ ।  अझै बालबच्चामा यसले कुपोषणको जोखिम पनि बढिरहेको पाइन्छ ।’

चाउचाउ लगायत मैदाबाट बन्ने जंक फुडहरूमा फाइबर अर्थात् रेसादार पदार्थ नहुने भएकोले यसले मुटु र पेटसम्बन्धी समस्या बढ्ने हुँदा खानु र खुवाउनुभन्दा पहिला सोच्नुपर्ने उनको भनाइ छ ।
  
त्यसैगरी सन् २०१८ मा पोषणसम्बन्धी मेडिकल जर्नल ‘द लान्सेट’ मा प्रकाशित रिपोर्टअनुसार नेपाली किशोरकिशोरीमा ४० वर्षयता २९ गुणाले अत्याधिक मोटोपन बढेको छ । यसको कारण मैदाजन्य तयारी खानेकुराको प्रयोगले भएको चिकित्सकहरू बताउँछन् । 

  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार ७:४३:४४,   अन्तिम अपडेट : कात्तिक ८, २०७८ साेमबार १२:३१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया