समिक्षासँगको सम्बन्धका बारेमा पलले दिए स्पष्टीकरण
चित्त दुखाएको भए माफी माग्छु

अभिनेता पल शाहले गायिका समिक्षा अधिकारीको सम्बन्धका बारेमा स्पष्टीकरण दिएका छन् । केही दिनयता उनीहरूको सम्बन्धलाई लिएर सामाजिक सञ्जाल रंगिएको छ । सम्बन्धको यही चर्चालाई लिएर गायिका अधिकारीले स्पष्टीकरण दिएको भोलिपल्ट पलले पनि स्पष्टीकरण दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् पलले समिक्षासँग नाम जोडेर बनाइएका गसिपले आफूलाई मात्रै नभएर आफ्ना दर्शकलाई पनि दुःखी बनाएको बताएका छन् । उनी लेख्छन्, ‘देश विदेशमा रहनुभएका सम्पूर्ण मेरा दर्शकश्रोताज्यूहरूमा हार्दिक सम्मान अनि धेरै माया । विगत केही दिनदेखि मेरो र गायिका समिक्षा अधिकारीको विषयमा आइरहेका समाचारबाट म लगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिंगाे दर्शकलाई नै दुःखी बनेको महसुस हामीले गरेका छौं । जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति समूह कही न कही कुनै न कुनै प्रकारले नजिक हुने गर्छ । यो हामी सबैलाई थाहा भएकै कुरा हो । मेरो पेशा र विधाका कारण म धेरै मान्छेहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरूमाझ मैले सदैव आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु ।’

पलले अगाडि लेखेका छन्, ‘अरू कलाकारहरूसँग जस्तै र अरूले जस्तै सांगीतिक सहकार्य गायिका समिक्षा अधिकारीसँग पनि भएको कुरा यहाँहरूलाई विदितै छ । हुँदै नभएका, गर्दै नगरिएका, बिना आधारका कुराहरूलाई गसिप बनाएर एउटा कलाकार र उसको व्यक्त्तिगत जीवनमाथि आँच आउने किसिमले लेखिएका झुटा समाचारहरूले मलाई अत्यन्तै दुःखी बनाएको छ। यसरी कसैको व्यक्तिगत प्रतिष्ठा र चरित्र हत्या हुनेगरी बदनाम गर्नेगरी समाचार नबनाई दिनुहुन सम्पूर्ण मिडियाकर्मीज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु ।’

‘मैले सधैं दर्शक श्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु । यही घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहाँसम्म आइपुगेको छु । मैले जानेर नजानेर कसैको चित्त दुखाएको छु भने म यसै पोस्टमार्फत् हार्दिक माफी माग्दछु । गायिका समिक्षा अधिकारी र मेरो बीचमा भएको मित्रता र सहकार्यलाई अन्य तथानाम शीर्षक दिएर सिंगाे पत्रकारितालाई पनि बदनाम गर्ने र हाम्रो चरित्र हत्या हुने कार्य नगरिदिनुहोला ’, पलले अन्त्यमा आग्रह गरेका छन् । 





  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार ८:२३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया