दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ प्रतियोगिताको अन्तिम चरणमा पुगेको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘दोहोरी च्याम्पियन’को पहिलो सिजनको उपाधिका लागि दुई टिम अन्तिम प्रतिस्पर्धामा छन् । उपाधि प्रतिस्पर्धाका लागि प्रकाश पराजुली र मिना बुढाथोकी तथा बालचन्द्र बराल र शोभा कार्कीको टिमले प्रस्तुती दिएका छन् ।
पहिलो पटक आयोजना भएको ‘दोहोरी च्याम्पियन’को ‘ग्राण्ड फिनाले’ आउँदो शनिबार पोखरामा सम्पन्न हुने छ । पोखराको बाराही घाटमा सम्पन्न हुने प्रतियोगिताको उपाधि विजेता दर्शकले दिएको भोटको आधारमा छानिने छ । प्रतियोगीलाई दर्शकले आउँदो शनिबार साँझ ६ बजेसम्म भोट गर्न सक्नेछन् ।
‘दोहोरी च्याम्पियन’को उपाधि प्रतिस्पर्धामा २४ टिमले सहभागिता जनाएका थिए । डिजिटल अडिसनबाट सहभागी हुन आएका ३५ टिमका सहभागी मध्ये फिजिकल अडिसनबाट २४ टिम छनौट गरिएको थियो ।
दोहोरी च्याम्पियनको उपाधि विजेताले २० लाख नगदका साथमा १ करोड बराबरको जीवन बिमा प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले १० लाख रुपैयाँ र ५० लाख बराबरको जीवन बिमा प्राप्त गर्ने आयोजकले जनाएको छ । तृतीय हुने टिमले ३ लाख र सान्त्वना हुने टिमले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा गायक प्रजापति पराजुली, गायिका सीता थापा, गायक चन्द्र शर्मा र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी निर्णायकका रुपमा छन् । गायक बद्री पंगेनी र गायिका प्रिती आलेले कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।