प्रदीप पौडेलको विचारः यस्तो हुनेछ अबको नेपाली कांग्रेस

पछिल्लो समय नेपाली कांग्रेस सुस्तायो भनेर विभिन्न प्रकारका टीकाटिप्पणी सुरु हुन थालेका छन् । निर्वाचनलाई आधार बनाएर यस्ता टिप्पणी आउन थालेका हुन सक्छन् । 

एउटा निर्वाचनले कुनै पनि राजनीतिक दलको भविष्य निर्धारण गर्न सक्दैन । निर्वाचनमा हारजित हुनु कुनै असामान्य कुरा होइन । त्यसकारण, यो निर्वाचनमा कांग्रेस पराजय भयो । यसको अर्थ कांग्रेस कहिल्यै उठ्न सक्दैन वा जित्न सक्दैन भन्नु भ्रम मात्र हो । 

जसले बढी मत प्राप्त गर्छ त्यसले नेतृत्व गर्छ भन्ने कुराको पक्षधर हामी नै हौं । निर्वाचनमा हामी हा¥यौं, त्यसलाई हामीले स्वीकारेका छौं । निर्वाचन हार्नुमा के कमजोरी भयो र केके कुरामा सुधार गर्न आवश्यक छ भनेर आन्तरिक रूपमा छलफल भइसकेको छ । हुँदै पनि छ । त्यसकारण अब नेपाली कांग्रेसले के कुरामा सुधार गर्न आवश्यक छ, के कुराबाट हामी सफल हुन सक्छौं भनेर आन्तरिक रूपमा रणनीति तय गर्ने कुरा एउटा विषय हो । त्यसमा केही कमजोरी सुधारिएको देख्नुपर्छ । त्यस्तै, हामीले प्रतिपक्षीय भूमिका निर्वाह गर्ने कुरामा संवेदनशील हुनुपर्छ । प्रमुख प्रतिपक्षी पनि संसदीय व्यवस्थाको एउटा बलियो पक्ष हो । 

त्यसकारण यसमा भएका जिम्मेवारीलाई प्रभावकारी ढंगबाट निर्वाह गर्न सक्नुपर्छ । हामीले प्रतिपक्षीको भूमिका निर्वाह गर्दै गर्दा आफूलाई सशक्त रूपमा उभ्याउनुपर्ने अर्को विषय हो । संगठनलाई गतिशील बनाउने र योजनाबद्ध ढंगबाट अगाडि बढाउनेजस्ता कुरा पनि अर्को महत्त्वपूर्ण विषय हो । 

केही सैद्धान्तिक विषयलाई सुधार गर्ने, नेपाली कांग्रेसभित्रको आन्तरीक कुरालाई सशक्त बनाउने, विधिसम्मत ढंगबाट पार्टी अगाडि बढाउने, नयाँ विधेयकका कुनै पनि विषय नराम्रा छन् भने त्यसविरुद्ध आवाज उठाउने, जुनसुकै स्तरका सरकारले आफ्ना काम सही ढंगबाट सञ्चालन गरेको छ÷छैन भनेर नियमन गर्ने, यदि छैन भने त्यसविरुद्ध औंला उठाउने, अथवा पूर्ण रूपमा जनताका पक्षमा बोल्न अबको कांग्रेसले सक्नुपर्छ । यी विषयमा बोल्न नसक्दा पनि नेपाली कांग्रेस सुस्त भएको हो कि भनेर मानिसहरूले टिप्पणी गर्न थालेका छन् । 

अब हामी अझ प्रभावकारी भूमिकामा प्रस्तुत हुनुपर्छ । हामीले आफूलाई सशक्त बनाउनुपर्छ । यस्तो अवस्थामा देशको पुरानो दल नेपाली कांग्रेस पुनः जनताको आँखामा नपर्ने भन्ने हुनै सक्दैन । 



इतिहासमा नेपाली कांग्रेसले धेरै राम्रा काम गरेको छ । कांग्रसकै सरकारको बेलामा ठूला समस्याको समाधान भएको इतिहास हामीसँग छ । कांग्रेसकै नेतृत्वमा क्रान्तिहरू सफल भएका छन् । स्वर्णीम इतिहासको जगमा अगाडि बढ्दै गर्दा अहिले पनि नेपाली कांग्रेस भन्ने पार्टी केवल लोकतन्त्रका लागि मात्र होइन विकास र समृद्धिका लागि पनि हो । अथवा समग्र नेपाल र नेपाली जनताका लागि नेपाली कांग्रेस प्रस्ट हुनु जरुरी छ । 

यो विषयमा नेपाली कांग्रेस संवेदनशील छ । पार्टीले अब कसरी अगाडि बढ्ने भनेर गृहकार्य गरिरहेको छ । नेपाली कांग्रेस प्रभावकारिता प्रस्तुत गर्ने गरी अघि बढेको छ । 



वर्तमान सरकार जुन गतिमा अगाडि बढ्नुपथ्र्यो त्यो गतिमा अगाडि बढ्न सकेन । अब सम्पूर्ण जनताको आशा तथा भरोसा भनेको नेपाली कांग्रेस नै हो । त्यसैले कांग्रेसले पनि आफूलाई चुस्त, दुरुस्त बनाउन सकेन भने जनताको आशा निराशातर्फ बदलिन्छ । व्यवस्थाप्रति नै प्रशन उठ्न सक्ने खतरा बढ्छ । 

हाम्रो संगठन सञ्चालनका विषयमा केही विवाद वा बहस हुन्छन् । त्यसलाई विधिसम्मत ढंगबाट टुंग्याउने कुरा महत्त्वपूर्ण हुन्छ । त्यसलाई विधिमन्दा बाहिरबाट अगाडि बढाउनु हुँदैन । हाम्रो विधि वा व्यवस्था जस्तो छ, त्यही विधि वा व्यवस्थालाई अपनाएर अघि बढ्नुपर्छ । 

हामी महासमिति बैठकको संघारमा आइपुगेका छौं । आगामी मंसिर ५ गते महासमिति बैठक बस्ने भएको छ । त्यसले हाम्रो विधानलाई समयसापेक्ष रूपमा संशोधन गर्दै छ । र, महासमितिको बैठकपछि कांग्रेसले गति लिने अवस्था बन्छ, हाम्रा रिक्त रहेका पदीय जिम्मेवारीहरू पूरा हुने अवस्था आउँछ । अनि कांग्रेस पूर्ण रूपमा एक दिशामा जान्छ । 

कांग्रेसले एकतिहाइ महिलालाई प्रतिनिधित्व गराउँछ, संविधानले व्यवस्था गरेका सबै विषयको प्रतिनिधित्व गराउँछ र संघीयतामुखी विधान नेपाली कांग्रेसले बनाउँदै छ । नेपाली राजीनीतिक दलहरूमध्येको सबैभन्दा बलियो विधान कांग्रेसले बनाउँछ । 

सरकारलाई केही प्रश्न

यो सरकार केन्द्रमा पनि दुई तिहाइको समर्थनमा बनेको छ । नेकपाले केन्द्रीय सरकार र ६ वटा प्रदेशमा आफ्नो एक नेतृत्व गरिरहेको छ । एउटा प्रदेशमा नेतृत्व गरेको पार्टी पनि नेकपासँग नै जोडिएको छ । त्यसैले तल कार्यान्वयन गर्ने तह र माथि पनि नेकपाको नै नेतृत्व छ । 

तर, प्रदेश सरकारका प्रमुखहरू नै केन्द्रीय सरकारले सहयोग गरेन, प्रादेशिक क्षेत्रभित्र परेका संरचना निर्माण गर्ने कुरामा संघीय सरकारले सहयोग गरेन, यो सरकाले ससाना योजना आफैंसँग राख्यो भनेर गुनासो गरिरहेका छन् । यसबाट प्रदेश सरकारले संघीय सरकारका कारण कामहरू सञ्चालन गर्न नसकेको भन्ने बुझिन्छ । अहिले यो सरकार आएको झन्डै ९ महिना भयो, तर यसबीचमा केन्द्रीय सरकार र प्रदेश सरकारले कुनै पनि योजना ल्याएका छैनन् र देखिने काम गर्न सकेका पनि छैनन् ।

विगतका सरकारले ल्याएका योजनाहरू सम्पन्न भएको छ । त्यो सम्पन्न भएका कामहरूको जस सम्पूर्ण रूपमा यो सरकारले लिन खोजिरहेको छ । जस्तो कि, मुग्लिन–नारायणगढ सडकखण्ड, मेलम्ची खानेपानी आयोजनाजस्ता कामहरूको जस अहिलेको सरकारले मात्र लिन मिल्दैन ।

धेरै प्रगतिशील र महत्त्वाकांक्षी योजना पनि ल्याइए । तर त्यो केवल भाषणमा मात्र सीमित भएको हामी देख्न सक्छौं । ओली सरकारले रेल ल्याउने कुरा गरे पनि सरकार आइसकेपछि त्यसको प्राविधिक र आर्थिक कुराहरूमा सरकार गम्भीर भएर योजना ल्याएको छैन । 

सरकारले नै उठाएको सुन काण्ड यतिबेला गुमनामजस्तै छ । सुन काण्ड यतिबेला गोरेमा पुगेर टुंगिएको छ । गोरेलाई साथ दिने प्रशासनभित्र अरू मान्छे नभई त त्यो काम सम्भव थिएन । सरकारलाई प्रश्नः गोरेभन्दा अगाडि त्यो कुरा किन अघि बढ्न सकेन ? 

मुलुकमा यो सरकार आइसकेपछि नै ४५ प्रतिशतको हाराहारीमा महँगी बढेको छ । निर्मला पन्तको केसमा प्रशस्त प्रमाण हुँदाहुँदै पनि अपराधी किन लुकिरहेको छ ? अपराधी पत्ता लगाउन सरकार किन सक्दैन ? यो सरकारले अपराधी पत्ता लगाउनुभन्दा पनि लुकाउन लागेजस्तो देखिन्छ । यस्ता कुरामा नेपाली कांग्रेसले सशक्त रूपमा आवाज उठाइरहेको छ, र उठाइरहन्छ ।
 

  • प्रकाशित मिति : कात्तिक १५, २०७५ बिहीबार १३:१३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया