विश्वविद्यालय स्थापना सम्बन्धी दुई अध्यादेश सिफारिस

प्रदेश–२ सरकारले विश्वविद्यालय स्थापना सम्बन्धी दुई वटा अध्यादेश सिफारिस गरेको छ । 

प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले वीरगञ्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापना सम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए । 

जनकपुरधाममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी सञ्चालनमा ल्याईसकेको सरकारले राजविराजमा कृषि विश्वविद्यालय र वीरगञ्जमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेको हो । 

प्रदेश प्रमुखबाट अध्यादेश जारी भएलगत्तै दुबै विश्वविद्यालय स्थापनाको बाटो खुल्ने छ । 

कृषि तथा प्राविधिक सम्बन्धी उच्च स्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिक सम्बन्धि अध्ययन अनुसन्धानलाई समय सापेक्ष, व्यापक, व्यवहारिक र स्तरीय बनाउन प्रदेश स्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएकोले नेपालको संविधानको धारा २०२ बमोजिम प्रदेशसभा सञ्चालनमा नरहेको अवस्थामा अध्यादेश सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणको कार्यलाई प्राविधिकसहितको उच्च स्तरीय टोलीद्वारा स्थलगत निरीक्षण गराई ढिलासुस्ती एवं गुणस्तरहीन काम गरिरहेको पाईए त्यस्ता ठेक्केदार कम्पनीलाई बैंक ग्यारेन्टी जफत देखि कालो सूचीमा राख्नेसम्मको कारबाही प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको साहले बताए । 



यसैगरी प्रदेश सरकारले ग्रिन सिटी, क्लिन सिटी अन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र वीरगञ्जमा सरसफाइ, विजुली बत्ती तथा वृक्षारोपण कार्य संञ्चालन गर्ने निर्णय समेत गरेको प्रवक्ता साहले बताए ।



  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १२:३८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया