मिटू: महिलाको आवाज

पछिल्लो समय सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको छ– ‘मिटू’ अर्थात् ‘म पनि’ । तर, वैचारिक रूपमा हेर्ने हो भने मि टुका सकारात्मक सँगसँगै नकारात्मक पक्ष पनि छन् । 

सकारात्मक रूपमा हेर्दा समाजमा महिलाले भोगेका यौन हिंसालाई बाहिर ल्याउन ठूलो भूमिका खेलिरहेको छ । हिसांको सिकार महिला मात्र हुन्छन् भन्ने हुँदैन, पुरुष पनि विभिन्न रूपमा हिसांको सिकार भइरहेका छन् । 

तर, तुलनात्मक रूपमा हाम्रोे पितृसत्तामक समाजमा महिलाले बढी मात्रा उत्पीडन भोगेका छन् । पीडित महिलाको आवाज उठाउने बाटोको रूपमा मिटूले राम्रो काम गरिरहेको छ । एकजना महिलालाई दुर्व्यवहार गर्ने पुरुषले अन्य धेरै महिलालाई पनि दुव्यवहार गरेको हुन सक्छ । हाम्रो सामाजिक दायराका कारण महिलाले यस्ता विषयमा बोल्न सकेका छैनन् । यस्तो समयमा मिटूले धेरै नै सकरात्मक काम गरिरहेको छ । 

अर्कातिर, हाम्रोजस्तो तरल अवस्थामा रहेको देशमा मिटूकै सहारा लिएर महिलाले विभिन्न अपराध पनि गर्न सक्ने सम्भावना देखिएको छ । 

कसैसँग राजीखुसीमा प्रेम भएपछि शारीरिक सम्बन्ध राख्नु अहिले सामान्य भइसकेको छ । तर, केही कुरामा मनमुटाव भएपछि राजीखुसीमा भएको कुरालाई पनि दुर्व्यवहारको नाम दिएर बाहिर ल्याउन सक्ने देखिन्छ । मिटूको सहारा लिएर यस्ता अवस्थामा महिलाले पुरुषलाई पनि पीडित बनाउने अवस्था छ । सम्पत्तिका लागि मिटूको सहारा लिएर महिलाले पुरुषलाई ब्ल्याक मेल गर्न सक्ने सम्भावना पनि उत्तिकै छ । 

हाम्रा सरोकारवाला मान्छेले यस्ता दुवै पक्षलाई ध्यानमा राखेर अगाडि लैजानु आवश्यक  छ । नत्र, मिटूको सहारा लिएर अन्य अपराधका घटना निम्तिन सक्ने सम्भावना धेरै बढी छ । तर, सकारात्मक रूपमा यो अभियानको प्रयोग हुने हो भने महिलाका दबेका आवाज बाहिर आउने वातावरण बन्छ । 



मैले आफैंले पनि विभिन्न तवरबाट भावनात्मक तथा शारीरिक रूपमा यस्ता दुर्व्यवहारका भोगेकी छु । म मात्र होइन, हाम्रो समाजमा रहेका सबैजसो महिला यस्ता दुर्व्यवहारको सिकार भएका छन् । 

हाम्रो समाजकै अवस्था हेर्ने हो भने नेपाली समुदायमा महिलालाई कहीँ–कतै पठाउँदा कुनै पुरुषको साथमा पठाउने चलन छ । जसको साथमा लगाएर महिलालाई पठाइन्छ उनीहरूबाट नै महिला पीडित भएका हुन्छन् । जुन कुरा भन्न उनीहरू सक्दैनन् । मैले आजसम्म भेटेका सबैजसो महिलाले बाल्यकालदेखि आफ्नो बुढ्यौलीसम्म पनि यस्ता दुर्व्यवहारका सिकार भएका छन् । 



मेरी आमाले पनि केही सालअघि दुर्व्यवहार भोगेकी थिइन् । गाउँमा आमाकै भिनाजु पर्ने एकजना पुरोहितले विनाकारण उनको हात समाएको थियो । 

मेरो बाबा शिक्षक भएका कारण आमाले यस्तो विषयमा बताउन सक्नुभयो । पछि कुरा खोतल्दै जाँदा ती पुरोहितबाट अधिकांश गाउँका महिला पीडित भएको पाइयो ।

अर्कातिर, नेपाली साहित्यमा लागेकै कारण दुर्व्यवहार भोग्नेको संख्या पनि कम छैन । मुख्य रूपमा जो साहित्यमा नयाँ आइरहेका हुन्छन्, उनीहरू बढी मात्रामा दुर्व्यवहारको सिकार भइरहेको पाएको छु । 

साहित्यमा लागे पनि म धेरैको संगत गरेर हिँडिनँ । यसर्थ, शारीरिक रूपमा दुर्व्यवहार भोग्न परेन । तर, भावनात्मक तथा मानसिक रूपमा धेरै नै पटक दुर्व्यवहारको सिकार भएकी छु । 

म सादा भएर हिँडेको कारण कतिपय स्थापित साहित्यकारले नै पनि मलाई किन मेकअप नगरेको ? राम्रो मेकअप गर्दा राम्री देखिन्छौं, किन केटाको जस्तो हुलिया बनाएर हिँडेको ? जस्ता अनेक प्रश्न गरेका छन् । एक प्रकारले मेरो शरीरप्रति लक्षित गरेर भनिएका यी कुरा दुर्व्यवहार हुन् । 

शारीरिक दुर्व्यवहारकै कुरा गर्ने हो भने विराटनगरमा आयोजित भए कार्यक्रममा देशका नाम चलेका एक गजलकारसँग मेरो हात हालाहाल भएको छ । 

भर्खर गजल लेख्न सुरु गर्दै गरेकी एक बहिनीलाई उनले गजलकै माध्यमबाट शारीरिक रूपमा असर गर्ने विभिन्न कुरा भनिरहेका थिए । जुन कारण पछि उनीसँग मेरो हात हालाहाल भएको थियो ।

साहित्यमा लागेका कारण नभएको भए पनि, शारीरिक रूपमा आफ्नै मान्छेबाट दुर्व्यवहारको सिकार म पनि भएकी छु । केही दिनअघि मात्र मेरी हजुरआमा बित्नुभयो । उहाँको अन्त्येष्टिको लागि घाटमा थियौं । दाहाल परिवारका धेरै मान्छे उपस्थिति भएका थिए । हजुरआमालाई चितामा राखेर जलाउन सुरु गर्दै गर्दा कसैले आएर मेरो टाङमुनि हात राख्यो । 

मैले तत्कालै पछाडि फर्किएर हेरे पनि त्यो मान्छेलाई भेट्न सकिनँ । तर, दाहाल परिवारकै मेरा दाजु पर्ने चार जनामध्ये एकले त्यस्तो गरेको थियो । पछि सँगै भएका बहिनी–ज्वाँईसँग त्यो कुरा गरें । तर, कसै गर्दा पनि त्यो मान्छे पत्ता लगाउन सकिनँ ।

यी घटना त उदाहरण मात्र हुन् । यस्ता कैयौं घटना छन्, जुन आज पनि महिलाका मनमा दबेर बसेका छन् । मिटूका कारण यस्ता घटनाका बारेमा खुलेर बोल्न सक्ने वातावरण सिर्जना भएको छ । आफूले भोगेको उत्पीडनबारे बोल्न सक्ने बाटो खुलेको छ । तर, यस अभियानको आडमा कुनै अन्य अपराध नहुन् भन्ने कुरालाई पनि ध्यान दिनु आवश्यक छ ।
 

  • प्रकाशित मिति : कात्तिक १५, २०७५ बिहीबार १४:१८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया