रञ्जित रेको पुस्तकबारे पूर्व सहायक रथी बस्नेतको टिप्पणी– पढ्न योग्य छैन, जलाउनुपर्छ

नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले नेपालका लागि पूर्व राजदूत रञ्जित रेको पुस्तक ‘काठमाण्डू डिलेमाः रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताएका छन् ।

मंगलवार काठमाडौंमा पूर्व सुरक्षाकर्मी परिषद् नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खरेलले रञ्जित रेको पुस्तकमा नेपाललाई भुटान बनाउने उद्धृत गरिएको भन्दै यसको शान्तिपूर्ण बिरोध गर्नुपर्ने जनाए । 

उनले ‘काठमाडौं दुविधामा छ’ भन्ने शीर्षक राखेर पुस्तक प्रकाशन गर्दा समेत सरकार मौन रहेको भन्दै खेद प्रकट गरे । यसको सबै दोष राजनीतिक दलका नेतृत्व वर्गलाई जाने भन्दै उनले नेताहरु नै भारतसँग लम्पसार परेको आरोप लगाए । 

पूर्व डिआईजी खरेलले किताबमा मात्रै नभएर भारतले देशका विभिन्न सीमामा पनि नेपालको राष्ट्रियतामाथि प्रहार गरेको जनाए । पुस्तकमा उल्लेख गरिएको नारायणकाजी श्रेष्ठ र विमलेन्द्र निधिको द्वैध चरित्र यथार्थ भएको टिप्पणी उनले गरे । 

‘काठमाडौं दुविधामा छ–भन्ने यो पुस्तकको शीर्षक हो । यसको सबै दोष हाम्रो राजनीतिक नेतृत्वलाई जान्छ । हामी मित्र राष्ट्रसँग राम्रो सम्बन्ध बिस्तार गर्न चाहन्छौँ तर हाम्रा शासकहरु दुविधामा भए, लम्पसारवादमा विश्वास गरे, व्यक्तिगत स्वार्थका लागि नेपाल–भारतको नाता व्याख्या गर्न थाले, जसकारण भारतले हामीलाई हेप्यो, किताबमा मात्र होइन, हाम्रो राष्ट्रियतामाथि भारतले प्रहार गरेको छ,’ खरेलले भने । 

हाम्रो निकम्मापनका कारण भारतले हामीलाई हेपेको उनले बताए । खरेलले थपे, ‘नेपाल सरकार यो किताब सार्वजनिक भएको १५ दिन हुँदा समेत मौन छ । हामीले शान्तिपूर्वक यसको बिरोध गर्नुपर्छ । पुस्तकमा लेखिएका नारायणकाजी श्रेष्ठ र विमलेन्द्र निधिको द्वैध चरित्र भने यथार्थ हो ।’ 



कार्यक्रममा नेपाली सेनाका पूर्व सहायक रथी डा. प्रेमसिंह बस्नेतले नेपाललाई भूटान बनाउनुपर्छ भन्ने कुरा पुस्तकमा लेखिएको भन्दै नेपालीहरुले पुस्तक जलाउनुपर्ने बताए । उनले नेपालका लागि यो भन्दा ठूलो अपमान अरु नहुने भन्दै नेपालीहरु अब बीर गोर्खाली भएर जाग्नुपर्ने बेला आएको जनाए । 

नेपाललाई भूटान बनाएर भारतको अधिनमा राख्ने कुरा रञ्जित रे र भारतीयहरुको दिवा सपना भएको उल्लेख गर्दै उनले सरकारमा सहभागी र नेपालको मूलधारमा रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड किताबको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्नु नेपालको अपमान भएको टिप्पणी गरे । 



सहायक रथी बस्नेतले भने, ‘नेपाललाई भूटान बनाउने कुरा लेखिएको छ । यो पुस्तक पठन योग्य छैन । सबै नेपालीहरुले जलाउनुपर्छ । जसले भूटान बनाएर आफ्नो अधिनमा राख्न खोज्छ भने यो भन्दा ठूलो अपमान नेपालका लागि अरु केही हुँदैन, यो सम्भव छैन । नेपाललाई भूटान बनाएर आफ्नो अधिनमा राख्न खोज्नु भारतको दिवा सपना हो । प्रचण्डको अध्यक्षतामा यो किताब लञ्च गरेर ताली बजाउनेहरूलाई धिक्कार छ ।’ 

पूर्व सहायक रथी बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाले पटक पटक एमसीसी पास हुन्छ भनेपनि यो सर्वजनिक विषय भएको भन्दै यसरी राष्ट्रघात गरेर बोल्नेहरूलाई राजद्रोहको मुद्दा लगाउनुपर्ने बताए । 

  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १६:५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया