वायु सेवा निगमका थनिएका जहाज तत्काल सञ्चालनमा ल्याउँछौं : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आलेले निजी क्षेत्रको कम्पनीसँग साँठगाँठ गरेर नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने पक्षमा आफू नरहेको बताएका छन् ।

उनले विगतमा निगमको जहाजको ग्राउन्ड ल्यान्डिङसमेत आफ्नो व्यक्तिगत स्वार्थका लागि निजी कम्पनीलाई दिएको उल्लेख गर्दै आफूले त्यसो नगर्ने प्रतिवद्धता समेत जनाए ।

नेपाल पर्यटन बोर्डले मंगलबार आफ्नै स्वागतमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री आलेले निगमको थन्किएर बसेको दुई वटा जहाजलाई तत्काल सञ्चालनमा ल्याएर नेपालमा पर्यटन भित्र्याउने काममा आफू लागिपर्ने कार्ययोजना पनि सार्वजनिक गरे ।

मन्त्री आलेले आईकाओको कालो सूचीबाट नेपाललाई हटाउन पनि आफूले पहल गर्ने बताए । त्यसका लागि आफूले निगमकै कर्मचारी संघ, संगठनहरूको मागअनुसार कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको गरेको उनले स्पष्ट पारे ।

अब निगमको बैठक बस्ने र त्यसले निगमको थन्किएर बसेको विमान सञ्चालन गर्ने, पर्यटन प्रवद्र्धन हुने गरी उडान भर्ने लगायतका काम गर्ने मन्त्री आलेको दाबी छ । 

‘आफ्नो नेपाल एयरलाइन्सको जहाजलाई घाममा सुकाएर प्राइभेट एयरलाईन्ससँग सेटिङ गरेर उसलाई रातारात करोडपति बनाउने अनि नेपाल एयरलाइन्सको ग्राउन्ड ल्यान्डिङ चाँहि कुनै निजी कम्पनीलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि दिने काम प्रेम आलेले गर्दैन । म त्यसमा छैन,’ उनले भने, ‘म त्यो पनि विश्वास दिलाउन चाहन्छु । र, म आएको २४ घण्टा नबित्दै नेपाल एयरलाइन्सको १ सय ४ दिनदेखि लगाइएको तालाबन्दी खुलाए । त्यहाँका संघ, संगठन र युनियनका कर्मचारीसँग वार्ता गरेर त्यो समस्या समाधान गरियो ।’



मन्त्री आलेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू मन्त्री भएर आएको पनि बताए । कोभिडको कारण थला परेको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न नसके पदमा बसिरहने पक्षमा आफू नरहेको पनि उनले बताए।  



  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १७:३१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया