कैलालीमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी कार्यालयमा राख्ने विषयमा विवाद भएको छ ।
जिल्लाको गौरीगंगा नगरपालिकामा रहेको पार्टी कार्यालयबारे विवाद भएपछि सोमबार दिउँसो नेकपा (एस) ले एमाले पार्टी कार्यालयमा तालबन्दी गरेपछि त्यहाँ तनाव भएको थियो ।
पार्टी कार्यालयको विषयलाई लिएर मंगलबार जिल्लाको गौरीगंगा नगरपालिकाकी उपमेयर अञ्चला चौधरीले प्रमुख जिल्ला अधिकारी (सिडिओ) को पनि टाउको फुटाउन तयार रहेको बताएकी छिन् ।
प्रहरीसँग कुराकानी गर्दै उपमेयर चौधरीले भनेकी छिन्, ‘भोलिका दिनमा यहाँ केही घटना परिघटना भयो भने त्यसको जिम्मेवारी सिडिओ हुने? हामी सिडिओको पनि टाउको फुटाउन तयार छौं । तर, सिडिओले सहमतिका लागि वातावरण जुटाउनपर्छ यहाँ ।’
उपमेयर चौधरीले पार्टी कार्यालयबारे विवाद बढ्दै गएको र विवादले कुनै घटना निम्त्याए त्यसको जिम्मा सिडिओले लिनुपर्ने उनको भनाइ छ ।
एमालेबाट उपमेयरमा विजयी भएकी चौधरी पार्टी विभाजनपछि पनि एमालेमै सक्रिय छिन् । जिल्लाको गौरीगंगा नगरपालिकामा रहेको पार्टी कार्यालयबारे विवाद भएपछि सोमबारदेखि नै तनाव भइरहेको हो ।
नेकपा एमाले कैलालीका उपाध्यक्ष रणबहादुर चन्दले एमाले पार्टी कार्यालयमा नेकपा (एस) का कार्यकर्ताले तालाबन्दी गरेपछि विवाद सिर्जना भएको जानकारी दिए ।
एकीकृत समाजवादी गौरीगंगाका अध्यक्ष विष्णु आचार्यले छलफल गरेर पार्टी कार्यालयबारे टुंगो लगाउन ताला लगाएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।