इंग्ल्यान्ड विश्व खेलकुदमा एक परिचित नाम हो । उसले फुटबल र क्रिकेटमा मात्र नभएर अन्य विभिन्न खेलमा पनि विश्वस्तरीय खेलाडी उत्पादन गरिरहेको छ ।
यतिबेला युएई र ओमानमा टि–२० विश्वकप चलिरहेको छ र यसको उपाधि दाबेदारको रूपमा हेरिएको टोली हो इंग्ल्यान्ड । उसले पहिलो खेलमा साविक विजेता वेस्ट इन्डिजलाई हराएर यसको संकेत दिइसकेको छ ।
सन् २०१० को टि–२० विश्वकप विजेता र अघिल्लो संस्करणको उपविजेता टोली इंग्ल्यान्डको उत्कृष्ट प्रदर्शनका पछाडि आप्रवासी खेलाडीको ठूलो योगदान छ ।
अहिले विश्वकप खेलिरहेको इंग्लिस टोलीका १५ मध्ये कप्तानसहित ५ खेलाडी विदेशी तथा विदेशी मूलका छन् ।
इयान मोर्गन
कप्तान इयोन मोर्गन आयरल्यान्डको राजधानी डब्लिनमा जन्मिएका हुन् । उनले आयरल्यान्डबाट सन् २००७ को विश्वकप पनि खेलेका थिए ।
सन् २००३ देखि २००९ सम्म आयरल्यान्डको टिमबाट खेलेपछि उनले इंग्लिस टोलीबाट खेल्न थालेका हुन् ।
जेसन जोय
इंग्ल्यान्ड टोलीका अर्का महत्वपूर्ण खेलाडी हुन्, जेसन रोय । उनी दक्षिण अफ्रिकामा जन्मिएर थिए ।
रोय १० वर्षको हुँदा उनको परिवार इंग्ल्यान्ड आएको हो । उनी सन् २०१४ देखि इंग्ल्यान्ड क्रिकेट टिमको हिस्सा बन्दै आएका छन् ।
टम करन
टम करन पनि इंग्ल्यान्डका होइनन् । दक्षिण अफ्रिकामा जन्मिएका उनको पूरा नाम थोमस केभिन करन हो । इंग्ल्यान्डको टेस्ट र वानडे टोलीका सदस्य टम जिम्बावेका पूर्वक्रिकेटर केभिन करनका छोरा हुन् ।
दक्षिण अफ्रिकामा जन्मिएका करनको बाल्यकाल जिम्बावेमा बितेको थियो । वेलिंगटन कलेज बढ्न गएदेखि भने उनी इंग्ल्यान्डमा छन् ।
करनले सन् २०१७ देखि इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट खेलिरहेका छन् । उनका भाई साम करनले पनि इंग्ल्यान्डको क्रिकेट टिमबाट खेलिसकेका छन् ।
इंग्ल्यान्डको राष्ट्रिय टोलीमा रहेका अलराउन्डर मोइन अली र बलर अदिल रासिद इंग्ल्यान्डमा जन्मिएको भए पनि उनीहरू दुवैजना पाकिस्तानी मूलका हुन् ।
मोइन अली
अलीको जन्म इंग्ल्यान्डको बर्मिङ्घममा भए पनि उनका हजुरबुबा पाकिस्तान प्रशासित काश्मीरको मिरपुरबाट इंग्ल्यान्ड गएका थिए ।
उर्दु र पन्जाबी भाषासमेत बोल्न सक्ने अली सन् २०१४ देखि इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट खेलिरहेका छन् ।
आदिल राशिद
लेग स्पिनर इंग्ल्यान्डको ब्रार्डफोर्डमा जन्मिएका राशिद पनि मोइन अलीजस्तै मिरपुरी समुदायका हुन् ।
उनको परिवार सन् १९६७ मा पाकिस्तान प्रशासित आजाद काश्मीरको मिरपुरबाट बसाई सरेर इंग्ल्यान्ड गएका हुन् । सन् २००९ देखि उनले इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् ।
अहिले चोट र व्यक्तिगत कारणले टि–२० खेल्ने टोलीमा नरहे पनि इंग्ल्यान्ड राष्ट्रिय टिमका महत्पूर्ण सदस्य रहेका बेन स्टोक्स र जोफ्रा आर्चर पनि विदेशी हुन् ।
न्युजिल्यान्डमा जन्मिएका स्टोक्स सन् २०११ देखि इंग्ल्यान्डको राष्ट्रिय टोलीको हिस्सा रहँदै आएका छन् ।
व्यक्तिगत कारण देखिाउँदै केही समयमा लागि क्रिकेटबाट आराम लिने निर्णय गरेकाले स्टोक्स इंग्ल्यान्डको विश्वकप टोलीमा नपरेका हुन् ।
क्यारेबियन राष्ट्र बार्बाडोसमा जन्मिएर वेस्ट इन्डिजको यू–१९ टोलीवाट खेलिसकेका आर्चर सन् २०१९ देखि इंग्लिस टोलीको हिस्सा बनिरहेका छन् । उनले चोटका कारण टि–२० विश्वकप गुमाएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।