नेपथ्यले ततायाे राबाङ

सिक्किम– समुद्री सतहबाट २१ सय मिटरको उचाइमा रहेको छो जो तालमा रातको आठ बजे चर्को आवाजमा स्पिकर घन्किन्छन् । चिसो मौसममा अचानक न्यानोपन मिसिन्छ ।

मैदानमा अटार्इ–नअटार्इ हजारौँको भिड लाग्छ । ताल वरपरका ढिस्काहरूबाट पनि सयौँ आँखा र कान मञ्चतिर सोझिन्छन् ।

नेपाली लोक रक ब्यान्ड नेपथ्यका लागि यो नियमितभन्दा बेग्लै माहोल थियाे । 

कलाकारहरू मञ्चमा आउनेबित्तिकै सुरु हुन्छ, ‘कुरूप अनुहार हो, यहाँ कोही साथी छैन’

हरेकजसो शब्दको पछाडि ‘ला’ जोडेर सम्मान प्रकट गर्ने सिक्किमको पुरानै परम्परा हो । त्यसैले, चल्तीको नाम राबाङ भए पनि यो बस्तीलाई सबैले राबाङला भनेर पुकार्छन् । हिमाली भेगको यो उच्च भू–भागमा बौद्ध परम्पराको स्वाद दिने गरी अनेक पर्यटकीय आकर्षणहरू विकास भएका छन् । त्यसैलाई प्रवर्द्धन गर्न आयोजना गरिएको हो ‘राबाङ छो जो फेस्ट’।

लामो समयदेखि बर्सेनि आयोजना हुँदै आएको यो उत्सवमा यसपटक नेपाली लोक रक ब्यान्ड नेपथ्य पुगेको थियो ।



कार्यक्रम ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो,’ ‘मै मरी जाउँला’ हुँदै ‘आँगनैभरि हिउँ नै झरे’ तिर लम्कँदै थियो । युवा दर्शकको हुलमा छुट्टै आकर्षणका साथ देखा परिन्, ७० वर्षीया रमा लामा । राबाङभन्दा सात किलोमिटर पर पर्ने रायाङलाबाट उनी बुहारीसँग कार्यक्रम हेर्न आएकी थिइन् । 

मञ्चमा गाइरहेका को हुन् र कहाँबाट आएका हुन् भन्ने केही थाहा नभए पनि यी कलाकारले आफूहरूकै भाका निकालेर गाइरहेको देख्दा रमाइलो लागेको उनले सुनाइन् ।  ‘यो लोकगीत हो जस्तो लाग्छ,’ नेपथ्यका प्रचारक अर्पण शर्माको एक प्रश्नमा निकैबेर लजाएपछि मसिनो आवाज निकाल्दै उनले भनिन्,  ‘बुहारीले जाऊँ भनेपछि आएको । रमाइलै लागिरहेको छ ।’



कार्यक्रम नेपथ्यको पछिल्लो सिर्जना ‘शिरफूल शिरैमा’ हुँदै ‘लामपाते सुरती’, ‘चरि मर्यो’ तर्फ अघि बढ्दै थियो । मैदानको अर्को भागमा एक हुल दर्शक आफ्नै पाराले रमाउँदै थिए । उनीहरू थिए, बिहारको किशनगञ्ज जिल्लादेखि आर्जनका निम्ति राबाङ आइपुगेका मुश्लिम समुदायका युवा ।

‘बजारमा अस्तिनैदेखि यो समूहको चर्चा चलेपछि कस्तो रहेछ भनेर सुन्न आएका हौं,’ राशन पसल गर्ने अनवर आलमले भने,  ‘रमाइलो लागिरहेको छ ।’ 

अनवरको साथमा आएका जहिद आलम २५ वर्षदेखि राबाङला बस्दै आएका रहेछन् । नेपाली भाषा राम्रोसँग बुझ्ने भन्दै जहिदले यीमध्ये केही गीत यतैका युवाले पहिल्यै आफूलाई गाएर सुनाएकाले झनै रमाइलो लागिरहेको बताए ।

‘जोमसोमे बजारमा’ गाउँदै गर्दा गायक अमृतले अघिल्लो दिनको अनुभव सुनाए । ‘हिजो यहाँका केही स्थानीयले मुस्ताङ घुम्ने इच्छा सुनाइरहनुभएको थियो,’ उनले नेपाल चिनाउँदै थपे,  ‘त्यो ठाउँ पुग्न यस गीतमा भनिएको मेरो घर अर्थात् पोखराकै बाटो जानुपर्छ ।’

‘नेपाल र नेपाली फैलिएको विश्वको जुनसुकै कुनामा हुने कार्यक्रम हाम्रा निम्ति एकै हो र हामीले हरेक कार्यक्रममा भाषा, भ्रातृत्व र हार्दिकताका सन्देशहरूमा जोड दिने गरेका छौँ,’ अमृत भन्दै थिए । 

कार्यक्रमको अन्त्यतिर ‘कोशीको पानी’, ‘रेशम’, ‘हिमाल चुचुरे’ र ‘मै नाचेँ छमछमी’ प्रस्तुत गरिरहँदा भिक्षु पोसाकमा उपस्थित पचासौँ युवा पनि नाचिरहेका देखिन्थे । उनीहरूमध्येकै एक थिए, ३८ वर्षे पेमा भुटिया । राबाङकै शिखरमा रहेको बुद्धपार्क गुम्बामा २८ वर्षदेखि आबद्ध उनी सानो छोरालाई पनि साथै लिएर आएका थिए । 

 ‘मैले कुनै पनि सांगीतिक समूहबारे जानकारी राखेको छैन,’ उनी भन्दै थिए,  ‘पहिलोपटक सुन्दा पनि यो नेपथ्यका गीतहरू रमाइलो लागिरहेका छन् ।’ गुम्बाको कामले धेरै मुलुक घुमेको भए पनि नेपालचाहिँ नपुगेको तर केही महिनामै मुस्ताङको यात्रा गर्न लागेको उनले बताए । यो कार्यक्रम हेरेपछि नेपाल जाने चाहना अझ बढेको उनले सुनाए ।

यी बेग्लै जमातबाहेक अधिकांश तन्नेरी दर्शक भने नेपथ्यबारे राम्रो जानकारी राख्थे । उनीहरू कुनै पनि गीतको धुन सुन्नेबित्तिकै शब्द गाउन थालिहाल्थे ।

रैथाने पेमाका अनुसार मंगलबार कार्यक्रममा उपस्थित ४० प्रतिशतभन्दा बढी दर्शक राबाङबाहिरबाट आएका थिए । यसरी उत्तेजित झन्डै ८० प्रतिशत दर्शक भने नेपालमै आयोजित कन्सर्ट हेर्न आउने दर्शकसँग मिल्दाजुल्दा देखिन्थे । सुरुदेखि अन्त्यसम्मै मग्न हुँदै नाचिरहेका उनीहरूले कार्यक्रमको अन्तिममा  ‘तालको पानी’ गाएर बिदा माग्दा पनि थप गीतको माग गरिरहेका थिए ।

राबाङमा यस्तो उत्सव धेरै वर्षदेखि आयोजना हुँदै आएको बताउने पर्यटन व्यावसायी निमा लेप्चा यसरी नै अन्यत्रका दर्शक बढ्दै जाने हो भने यहाँको पर्यटकीय महत्व झनै बढ्ने विश्वास गर्छिन् । उत्सव अवधिभर दिउँसोदेखि राती अबेरसम्म यहाँका पर्यटकीय गन्तव्यहरूमा सांगीतिक चहलपहल देखिएको थियो ।

तीनदिने उत्सवको उद्घाटन सिक्किमका मुख्यमन्त्री पवन चामलिङले शनिबार गरेका थिए । त्यसैको समापन मंगलबार राती नेपथ्यको कन्सर्टबाट भएको हो ।

  • प्रकाशित मिति : कात्तिक १५, २०७५ बिहीबार १७:५४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया