लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलले प्रदेश सरकारले चोर बाटोबाट अध्यादेश ल्याएर संघीयता कमजोर पार्न खोजेको टिप्पणी गरेका छन् ।
मंगलबार प्रदेश सरकारले विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक अध्यादेश सिफारिस गर्ने निर्णय गरेलगत्तै नेता सोनलले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रदेश सरकारसँग बहुमत हुँदाहुँदै पनि प्रदेशसभालाई छलेर अध्यादेश मार्फत सरकार सञ्चालनको प्रयास गर्नु अलोकतान्त्रिक र गैरसंवैधानिक भएको आरोप लगाए ।
उनले भने, ‘प्रदेश सरकारसँग बहुमत रहे पनि प्रदेशसभालाई विजनेस नै नदिई कानुनलाई आफ्नो अनुकूल खेलाँची गर्नका लागि अध्यादेश ल्याएर जनतालाई भ्रममा पार्न खोजिएको छ ।’
अध्यादेशमार्फत सरकार चलाउन खोजेर संघीयता संस्थागत नहुने उल्लेख गर्दै उनले भने, ‘बरु संघीयतालाई संस्थागत गर्नका लागि हाउसमा ल्याई प्रक्रिया अनुसार सो अध्यादेशलाई पारित गर्नुपर्ने देखिन्छ । यसले संघीयताप्रतिको उत्तरदायित्व र सरकारको दायित्व निर्वाहले पनि संघीयता संस्थागत हुन्छ ।’
संसद स्थगित रहेको अवस्थामा ल्याउन लागेको अध्यादेशलाई कार्यान्वयन गरिए यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत नेता सोनलले दिए ।
प्रदेशको विकास र सबलीकरणका लागि लोसपा सदैव अग्रसर रहेको भन्दै उनले संसदबाटै सो विधेयक छलफल गरी पारित गर्नुपर्ने माग गरे ।
उनले भने,‘आपतविपद्, असहज परिस्थिति वा हाउस बोलाउन नसक्ने अवस्था रहेमा मात्र अध्यादेश ल्याउनुपर्ने हुन्छ, तर प्रदेश २ सरकारले संघीयता संस्थागत गर्नुपर्ने बेलामा उल्टै अहिले लोकतान्त्रिक मूल्यमान्यता र कानुनको खिल्ली उडाएको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।