अब नेतृत्व युवाले लिनुपर्छ : गुरुराज घिमिरे

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले अब कांग्रेसको नेतृत्व युवा पुस्ताले गर्नुपर्नेमा जोड दिएका छन् । सर्लाहीको जानकीनगर वडा नम्बर–१ मा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले अब बुढो पुस्ताले अभिभावकत्व ग्रहण गर्ने बेला आएको बताए । 

‘जसरी पेले दर्शक छन्, सल्लाहकार छन्, तर खेलाडी भने नेइमार छन्, अब हाम्रो पार्टीमा पनि त्यस्तै हुनुपर्छ,’ उनले भने, ‘अब हाम्रो पुस्ताले राजनीति गर्ने हो र हाम्रो अग्रजले सल्लाहकारको भूमिका निर्वाह गर्ने हो ।’ उनले उमेर पुगेका नेताहरूलाई अब ढुक्क भएर रिटायर्ड हुन आग्रह गरे । 

‘तपाईंहरू सभापति भइसक्नुभो, वरिष्ठ नेता भइसक्नुभयो र देशसमेत हाँकिसक्नुभएको छ,’ उनले भने, ‘अब आराम गर्नुस्, हामीले पनि पार्टी राम्रोसँग चलाउनेछौँ ।’

सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेस नेता बद्री पाण्डेले लोकतन्त्र पार्टी भित्र पनि जरुरी रहेकोमा जोड दिए । ‘अब आन्तरिक लोकतन्त्रलाई पनि मजबुत गर्नु पर्ने दायित्व बढेको छ,’ उनले भने, ‘अब वैचारिक बहसले पार्टीलाई अगाडि बढाउनुपर्छ । नत्र हामीले जनताको विश्वास गुमाउन सक्छौँ ।’ 

उनले युवाहरूको उपस्थिति १४औँ महाधिवेशनमा राम्रो देखिँदै गरेको बताए । ‘हामी कहाँ बाहिरी पार्टीबाट आएर भाँडभैलो गरेको जस्तो पनि देखिएको छ, त्यस्तो हामी कदापि हुन दिने छैनौँ,’ उनले भने ।

नेपाली कांग्रेस सर्लाहीका पूर्व जिल्ला उपसभापति तथा क्षेत्र नम्बर ३ का युवा नेता विनोदकुमार खनालको नेतृत्वमा भएको कार्यक्रममा चार सयभन्दा बढीले पार्टी प्रवेश गरेको जनाइएको छ ।
 





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार २०:४९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया