बागमती संसदको आयु पाँच वर्ष, मुख्यमन्त्री चार

बागमती प्रदेशमा अल्पमतको सरकारको नेतृत्व गरिरहेकी अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी छन् । विश्वासको मत पाउने सम्भावना संसदमा नभएपछि शाक्य राजीनामा दिन बाध्य भएकी हुन् ।

संसदमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी रहेको चार दलीय गठबन्धनको पक्षमा बहुमत छ ।

शाक्य मुख्यमन्त्री रहेको दल नेकपा एमाले विभाजनपछि बहुमत गुमाएको अवस्थामा संविधानको धारा १६९ को उपधारा (१) (क) अनुसार बुधबारको संसद् बैठकमा राजीनामा घोषणा गरेकी हुन् ।

राजीनामा घोषणा गर्ने क्रममा उनले बागमती प्रदेशको समृद्धिका लागि भने एकअर्कामा भावना जोड्न आवश्यक रहेको बताएकी छन् । 

उनले भनिन्, ‘हामी संस्कारयुक्त बनौं । एकअर्कामा भावना जोडौं । प्रदेश बनाउने कुरामा मिलेर अगाडि बढौं । पदीय दायित्व आफ्नै होला । तर, प्रदेश बनाउन नमिली सुखै छैन र नेपालको संविधान छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको धारा १६९ उपधारा (१) (क) अनुसार यो ठाउँबाट मुख्यमन्त्रीमा मार्ग प्रशस्त गर्छु ।’ 

सम्बोधनका क्रममा शाक्यले प्रदेश सरकारको बेरुजु निकै कम रहेको पनि जिकिर गरेकी छन्।
 
मुख्यमन्त्री हुने बाटो पाण्डे र बानियाँलाई खुला



शाक्यले पदबाट राजीनामा घोषणा गरेपछि प्रदेशमा रहेको चार दलीय गठबन्धनलाई सरकार बनाउन मार्ग प्रशस्त भएको छ ।

अब गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् । उनी उक्त पार्टीको संसदीय दलका नेता हुन् । आलोपालोअनुसार उनी पहिले मुख्यमन्त्री बन्ने भएका हुन् । गठबन्धनबीच यही सहमति भएको छ । 



उनीपछि भने कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री हुनेछन् । दुबै जना संसद्को आधा/आधा कार्यकाल मुख्यमन्त्री हुने सहमति गठबन्धनकाे छ । 

संसद्को आयु पाँच वर्ष, मुख्यमन्त्री चार जना

प्रदेश संसदको आयु पाँच वर्ष हो । तर, बागमती प्रदेश यस्तो प्रदेश बन्ने भएको छ, जुन प्रदेशले संसदको एउटै कार्यकालमा चार जना मुख्यमन्त्री पाउने भएको छ ।
 
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएर नेकपा बनेपछि बागमतीको मुख्यमन्त्री डोरमणि पौडेल बने । 

पछि नेकपा विघटन हुँदै एमाले पनि फुटको दिशामा जाँदा पौडेलले पदबाट राजीनामा दिएर अष्टलक्ष्मी शाक्यका लागि मार्ग प्रशस्त गरे । उनी अढाइ महिना पनि मन्त्री बनिनन् । 

अब नेकपा (एकीकृत समाजवादी)बाट पाण्डे र त्यसपछि कांग्रेसका बानियाँ मुख्यमन्त्री बन्ने अवस्थामा छन् । 

यसरी देशकै एउटा यस्तो प्रदेश बागमती बन्ने भयो, जसले संसदको एउटै कार्यकालमा चार मुख्यमन्त्री पाउने भएको छ ।


 

  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार १४:५८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया