सन् २००९ मा लाहोरमा श्रीलंकन खेलाडीमाथि आक्रमण भएपछि पाकिस्तानले लामो समय घरेलु मैदानमा खेल्न पाएन ।
यो आक्रमणपछि अन्य देशका खेलाडी पाकिस्तान आउन नमानेपछि उसले लामो समय युएईको दुबई अन्तर्राष्ट्रिय मैदानलाई घरेलु मैदानको रुपमा प्रयोग गर्यो ।
सन् २०१५मा जिम्बावेविरुद्धको सिरिजमार्फत पाकिस्तान घरेलु मैदमा फर्कियो । उनीहरुले टि–२० र एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेका थिए । पाकिस्तानले करिब १० वर्षपछि सन् २०१९मा श्रीलंकाविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा पनि घरेलु मैदानमा पुनारगमन गर्यो ।
पछिल्लो समय पाकिस्तानी क्रिकेटले गति लिँदै थियो, तर यही वर्ष न्युजिल्यान्ड सुरक्षा खतरा देखाउँदै पाकिस्तान भ्रमण स्थगित गरेर फर्कियो ।
न्युजिल्यान्डको यो व्यवहारले फेरि पाकिस्तानी भूमिमा अरु टिम नआउने खतरा बढेको छ । न्युजिल्यान्डले महिला तथा पुरुष टोलीको भ्रमण स्थगित गर्नुलाई यसको संकेत मान्न सकिन्छ ।
पछिल्लो समय पाकिस्तानले विश्व क्रिकेटमा आफूलाई अपमानित महसुस गरिरहेको छ । यसको प्रमुख कारण हो, भारत । भारतले लामो समयदेखि आइसिसीका प्रतियोगिताबाहेक अन्य समयमा पाकिस्तानसँग खेल्न मानिरहेको छैन ।
भारतमा पाकिस्तानलाई तल्लो दर्जाको टोलीका रुपमा प्रस्तुत गरिन्छ । भारत– पाकिस्तान खेल भएका बेलामा उनीहरुको बेइज्जत गर्नेदेखि समर्थकमाथि हातपातसम्म हुने गरेको छ ।
आइसिसी टि–२० विश्वकपमा पराजय बेहोरेपछि पाकिस्तानको समार्थक गरेकै भरमा पन्जाबमा कास्मिरी छात्रमाथि आक्रमण हुनु र राजस्थानमा शिक्षिकालाई जागिरबाट निकाल्नु यसका उदाहरण मात्र हुन् ।
क्रिकेटमा ठूला मानिएका राष्ट्रले विभिन्न बहानामा पाकिस्तानमाथि अपमान गरिरहँदा पनि विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) भने मुकदर्शक बनिरहेको छ । आइसिसीले भारतलाई पाकिस्तानविरुद्ध मैत्रीपूर्ण सिरिज खेल्न मनाउन सकिरहेको छैन । अन्य राष्ट्रले पनि विस्तारै यसको सिको गर्दै छन् ।
विश्व क्रिकेटले आफ्नो अपमान गरिरहँदा पनि पाकिस्तानले आफू कमजोर नभएको प्रमाण युएई र ओमानमा जारी आइसिसी टि–२० विश्वकपमा दिइरहेको छ । उसले विश्वकपको पहिलो खेलमा आफूलाई विश्व क्रिकेटको शक्तिशाली मान्ने भारतलाई १० विकेटको नमिठो हार चखायो ।
त्यस्तै, पछिल्लो समय आफूमाथि अपमानजनक व्यवहार गरिरहेको न्युजिल्यान्डलाई पनि ५ विकेटले पराजित गर्यो । पाकिस्तनको यो प्रदर्शन विश्व क्रिकेटमा आफूलाई बलियो हुँ भन्दै दम्भ पालिरहेका राष्ट्रलाई गतिलो जवाफ हो ।
पाकिस्तानले उनीहरुलाई तिमीहरुले जति नै अपमान गरेर आफ्नो गिराउन खोजे पनि म त्यति कमजोर छैन भन्ने सन्देश दिएको छ । उसले आफ्नो अपमानको जवाफ उत्कृष्ट प्रदर्शन गरेर दिइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।