किन घटिरहेको छ जिडिपीमा कृषि क्षेत्रको योगदान ?

काठमाडाैं- सरकारले कृषि उत्पादन बढाउन गरेका थुप्रै प्रयासका बाबजुद पनि नेपाली कृषि क्षेत्र भने कमजोर बन्दै गइरहेको छ । पछिल्ला वर्षहरूमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान निरन्तर घटिरहेकाले पनि यसलाई पुष्टि गरेको छ । 

आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०६७/६८ मा ३७ प्रतिशत रहेको कृषि क्षेत्रको योगदान आव २०७४/७५ सम्म १० प्रतिशतले घटेको छ । गत आर्थिक वर्षमा नेपालको जिडिपीमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत मात्र थियो । 

अल्पविकसित देशबाट विकासोन्मुख मार्गमा लाग्दा कृषि क्षेत्रको योगदान घट्दै जानुलाई स्वाभाविक मानिन्छ । तर, कृषि क्षेत्रबाट त्यो योगदान उद्योगमा परिवर्तन हुनुपर्छ । नेपालको सन्दर्भमा भने कृषि क्षेत्रको योगदान घटे पनि उद्योगको लगानी नबढेकाले नेपालको अर्थतन्त्र खतरामा परेको संकेत मान्न सकिन्छ । 

एकातर्फ कृषि उत्पादन घटेको छ, तर कृषिमा आश्रित जनसंख्या भने घटेको छैन । लामो समयदेखि नेपालको दुई तिहाइ जनसंख्या कृषि पेसामा नै आबद्ध छ । यसले नेपालको उत्पादकत्व ओरालो लागेको संकेत मिल्छ । 

नेपालको व्यापार घाटा पनि क्रमशः बढ्दै गएको छ । उत्पादन घटिरहँदा व्यापार घाटा बढ्नुले हामी आयातीत वस्तु नै उपभोग गरिरहेका छौं भन्ने बुझिन्छ । त्यस्तै, रेमिट्यान्सबाट आएको मोटो रकम हामी आयातीत वस्तु खरिदमा खर्च गरिरहेका छौँ । हामीले त्यो व्यापार घाटाको पूर्ति रेमिट्यान्सबाट गरिरहेका छौं । 

यसरी आयातमा निरन्तर वृद्धि हुनु र कृषि क्षेत्रको उत्पादकत्व घट्नुले नेपालको अर्थतन्त्र थप परनिर्भर भइरहेको देखिन्छ । अर्थ मन्त्रालयले भने हरेक वर्ष कृषि क्षेत्रको विकास र विस्तारमा विभिन्न अनुदानका कार्यक्रम पनि ल्याइरहेको छ । बजेटमा उच्च मूल्यका वस्तु उत्पादन, बजार प्रवद्र्धनलगायतका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ ।



व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा प्रदान गर्दासमेत ५ प्रतिशत अनुदान उपलब्ध गराउने सरकारले उल्लेख गरेको छ । यति मात्रै होइन, सरकारले रासायनिक मल र मुख्य खाद्यान्न बालीहरूको उन्नत बिउका लागि प्राथमिकता दिएर बजेट निकासा गरिरहेको छ । 

सरकारले नीति तथा कार्यक्रममा पछिल्लो समय रेमिट्यान्समा आधारित नेपालको अर्थतन्त्र परिवर्तन गरेर उत्पादनशील क्षेत्रमा आधारित बनाउने बताएको छ । तर, सरकारले नीति तथा कार्यक्रम एकातिर र कार्यान्वयन अर्कैतिर हुने समस्याले गर्दा पनि कार्यक्रमहरूको परिणाम देखिएको छैन ।



कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने रटान लामो समयदेखि सुनिरहिएको छ । यसैको उदाहरण हो– प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम । यस्ता कार्यक्रम बनाए पनि उत्पादन वा जिडिपीमा कृषि क्षेत्रको योगदान घट्नुले उत्पादनमा समस्या भएको प्रस्ट पारेको छ ।

‘नेपालको अर्थतन्त्र संरचनागत रूपान्तरणको चरणमा छ,’ अर्थशास्त्री पोषराज पाण्डे भन्छन्, ‘कृषिबाट अर्थतन्त्र उद्योगमा रूपान्तरण हुनुपर्नेमा सेवा क्षेत्रमा गएको छ । यसले गर्दा नेपालको अर्थतन्त्रलाई समस्या पार्न सक्छ ।’

पाण्डेका अनुसार संरचनागत रूपान्तरणपछि सेवा क्षेत्रको योगदान धेरै हुन्छ भने त्यसपछि उद्योगको हुन्छ । अनि मात्रै कृषि क्षेत्रको योगदान हुने हो । ‘विकासको चरणमा कृषि क्षेत्रलाई औद्योगिक क्षेत्रले प्रतिस्थापन गर्नुपर्ने थियो । हाम्रोमा त्यस्तो भएन सेवा क्षेत्रले नै कृषि क्षेत्रलाई रिप्लेस ग¥यो ।’

अर्थतन्त्रमा प्रशस्त मात्रामा रोजगारी सिर्जना नगर्ने हुनाले सेवा क्षेत्रको विकास अर्थतन्त्रलाई फाइदाजनक हुँदैन । ‘जति उद्योगले रोजगारी दिन्छ त्यति सेवा क्षेत्रले दिँदैन । त्यसैले पनि नेपाली अर्थतन्त्रामा जुन रूपमा रूपान्तरण आइरहेको छ त्यो ठीक मार्गमा रहेको छैन,’ पाण्डेले भने । 

केही वर्षमा दोहोरो अंकको आर्थिक विकास गर्ने गरी सरकारको नीति रहेको बताइन्छ । तर, सबैभन्दा धेरैलाई रोजगरी दिइरहेको कृषि क्षेत्रको उत्पादन भने घटिरहेको छ । सरकारले लगानी गरिरहेको भए पनि त्यसको परिणाम भने देखिएको छैन । अर्थतन्त्रमा यसको कृषि उत्पादन घट्नुको असर देखिनुअघि नै यस विषयमा सोच्नु आवश्यक हुन्छ । 
 

  • प्रकाशित मिति : कात्तिक १६, २०७५ शुक्रबार १२:१०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया