मिटू अभियानबारे कलाकार सरिता गिरीको विचार: हामी मौन बस्नु नै हिंसा मौलाउनु हो

मिटू अभियानको शृखंला नेपालसम्म पुगेको छ । पश्चिमा देशमा केही वर्षपहिले नै सुरु भएको यो अभियान महिलाले भोग्नुपरेका यौन हिंसाका आवाज सुनाउने माध्यम बनेको छ । यौनांग भएकै कारण सामना गर्नुपरेका पीडाका आवाज समाजलाई सुनाउने बाटो बनेको छ, मिटू ।

पीडा र हिंसाका आवाज प्रिय हुँदैनन् । ती अप्रिय नै हुन्छन् । यिनै अप्रिय आवाजलाई अब हामीले पनि सुन्नुपर्नेछ । व्यावसायिक र सामाजिक जीवन निर्वाह गर्नुपर्दा खेप्नुपरेका दुव्र्यवहारको पर्दाफास गर्ने यो अभियान आजको आवश्यकता हो ।

आवश्यकता किन भने हामीकहाँ बोल्ने र प्रश्न गर्ने चलन छैन । मिटू अभियानले मानिसलाई बोल्न सिकाउँछ र प्रश्न गर्न सिकाउँछ । प्रश्नहरूसँग प्रहार गर्ने शक्ति हुन्छ, यही शक्तिको बलमा मिटू अभियानले विश्वसमुदायलाई तरंगित बनाइदिएको छ । नेपालमा पनि यसको तरंग देखिनु सकारात्मक हो ।

मिटू अभियानको विषयमा नेपाली समाजले थाहा पाएर मात्रै पुग्दैन । यसका विषयमा बोल्न पनि जरुरी छ । विशेषगरी सामाजिक र सार्वजनिक परिचय बनाएका मानिसहरूले यो विषयमा बोल्नुपर्ने अपरिहार्य भइसकेको छ । 

१३ वर्षकी बालिका बलात्कृत हुँदा सरकार नै अपराधी जोगाउन लाग्ने समाजमा हामी बाँचेका छौं । हाम्रो समाजको यो अनुदार चरित्रले गर्दा यो अभियान फैलिन नपाउँदै सेलाउँछ कि भन्ने डर पनि छ । चुनौतीका बाबजुद पनि यो अभियान आवश्यक छ । 

नयाँ सामाजिक परिभाषा, नयाँ सामाजिक बहस र परिचय निर्माण गर्न पनि यो अभियान सहयोगी हुन्छ ।



तर, दुर्भाग्य हाम्रो समाजमा बोल्ने मान्छेको अभाव छ । फेमिनिस्ट भनिएकाहरू अरूका मुद्दामा मात्रै चर्को स्वरमा बोल्छन् । आफ्नै विषयमा बोल्न चाहँदैनन, आफ्नै विषयमा बोल्न रुचिसमेत देखाउँदैनन् ।

महिलाका विषयलाई खरो रूपमा प्रस्तुत गर्न सक्ने पत्रकारको अभाव पनि नेपाली समाजले भोगेको छ । सर्वस्वीकार्य तथ्य हो, पत्रकारहरू सबैभन्दा धेरै हिंसामा परेका छन् । अझ विशेषगरी महिला पत्रकारहरूको अवस्था दयनीय छ । तर, किन बोल्दैनन् महिला पत्रकार ? 



कसैले मेरो अनुमतिवनिा मलाई छुँदा म बोल्न सक्दिनँ ? मेरो इच्छाविपरीत कसैले मलाई छुँदा म किन बोल्न सकिनँ ? मैले किन प्रतिकार गरिनँ भनेर म आफंैलाई समेत प्रश्न गर्न सक्दिनँ ।

कसैले मलाई कुनै प्रकारको दुव्र्यवहार गर्दा म मौन हुन्छु । म आफूमाथि दुव्र्यवहार हुँदा मात्र होइन, अरूमाथि भइरहेको दुव्र्यवहारको विषयमा पनि मौन बस्छु ।

तर, अब यो मौनता भंग गर्नुपर्छ । हामी धेरैले कुनै न कुनै रूपमा हिंसाको सामना गरेका छौं । हामी मौन बस्नु नै हिंसा मौलाउनु हो । 

कसैले आफूमाथिको दुव्र्यवहारको विषयमा बोल्यो भने उल्टै उसमाथि प्रश्न गर्ने हाम्रो गलत संस्कारका कारण पनि हामी बोल्न डराएका छांै । तर, अब यो डरलाई त्याग्नैपर्छ । डर त्याग्नुको विकल्प छैन ।

सार्वजनिक यातायातमा अपरिचितबाट, कार्यालयमा सहकर्मी र हाकिमबाट, विद्यालयमा शिक्षकबाट, रंगमञ्चमा सहकर्मी र गुरुबाट, सिनेमा उद्योगमा निर्देशक र निर्माताबाट हामी शारीरिक, वैचारिक र भावनात्मक रूपमा हिंसामा परेका छांै ।

मैले केही सिनेमामा पनि अभिनय गरेकी छु । मसंग सिनेमाको अनुभव थोरै भएकाले पनि होला, मैले सिनेमामा दुव्र्यवहार र हिंसाको सामना गर्नुपरेको छैन । तर, रंगमञ्चमा भने केही समस्या भोगेकी छु । चाहेर, नचाहेर, जानेर वा नजानेर रंगमञ्चमा हिंसा, दुव्र्यवहार हुने गर्छ ।

केही समयअघि एउटा नाटकको दौरान मेरा सहकर्मीले ममाथि दुव्र्यवहारको प्रयास गरेका थिए । तर, मैले तत्काल नै उनलाई सचेत गराएँ, यस्तो नगर्न निर्देशन दिएँ । रंगमञ्चमा यस्ता घटना दैनिक भइरहेका हुन्छन् । तर, साथीहरू तत्काल प्रतिकार गर्न सक्दैनन्, सहेर बस्छन् । हिंसा सहेर बस्नु भनेको थप हिंसाका लागि आमन्त्रण गर्नुजस्तै हो ।

केही समयअघि योनिका कथा (भजाइना मोनोलग) नामक नाटक प्रस्तुत गरेका थियौं । यो नाटकमा महिलाका यौनांगको विषयमा उदार र खुला तवरमा संवाद राखिएका छन् । 

नाटकका दौरान हामी अभियनकर्तालाई देशका प्रतिष्ठित साहित्यकार, समाजशाश्त्री भनिएका मानिसले नाटकमा प्रस्तुत गरिएका दृश्य र संवादमा आपत्ति जनाएका थिए । पुस्तकमा दर्जनौं प्रेमिका बनाएको कुरा गर्वका साथ लेख्न सक्ने मानिस महिलाले आफ्नै शरीरको कुरा गर्दा लाज मानेको देख्दा अच्चम लागेको थियो ।

म भन्छु– तपाईंहरूले महिलाको शरीर, महिलाका यौनागंको विषयमा कल्पना गर्दै लेख्न हुने, अनि हामीले आफ्नै शरीरको विषयमा बोल्न नहुने ? छोरा मान्छेले महिलाका अंगको कल्पना गर्न हुने, अनि हामीले बोल्न नहुने ?

यो नाटक गरिरहँदा देशका बौद्धिक भनिने कतिपय मानिसँग चर्काचर्की नै भएको थियो । मैले त्यतिखेर नै उहाँहरूलाई भनेकी थिएँ, ‘मैले किन मेरा अंगको विषयमा बोल्न नहुने ? पुरुष साहित्यकार, लेखकले कल्पना गर्दै लेख्न हुन्छ भने हामीले बोल्न पनि नहुने ?’

महिलाको पहिरन हेरेर उसमाथि विचार बनाइन्छ । पहिरन र बोलीको आधारमा महिलाको मूल्यांकन गरिन्छ । आफैं नग्न मानसिकता बोकी हिँड्नेहरू नै महिलाको शरीर र उसको पहिरनका आधारमा मूल्यांकन गर्ने गर्छन् ।

हिंसा जहाँ पनि हुन सक्छ । जसरी पनि हुनसक्छ । जहिले पनि हुनसक्छ । हिंसाका स्वरूप फरक हुन सक्छन्, बोली, इशारा, छुवाइ र विचारको माध्यमबाट हिंसा हुने गर्छ ।
मिटू अभियानका केही चुनौती पनि छन् । सामाजिक सञ्जालमा फेक आइडी बनाएर कसैलाई बदनाम बनाउने प्रयास पनि हुन सक्छ । कसैलाई रिसिइवीकै कारणले पनि लाञ्छना लगाउने प्रयास पनि हुन सक्छन् । यस विषयमा हाम्रो मिडिया र हामी सबै सचेत हुनैपर्छ ।

अर्कोतर्फ स्वाभाविक गतिमा चलिरहेको समाजलाई मिटू अभियानले खलबल्याउने हो कि भन्ने चिन्ता पनि छ । तर, समाज खलबिलिनु भन्दा ठूलो र गम्भीर कुरा समाजमा हिंसा हुनु र अन्याय सहनु हो ।

नेपालमा चलिरहेको मिटू अभियान यत्तिकै सेलाएर जान्छ कि भन्ने डर पनि छ किनभने हामीकहाँ निर्लजताको पराकाष्ठ छ । लाज पनि मजैले पचाउने मान्छेको बाहुल्य हाम्रो समाजमा छ । आउँछ–जान्छ भन्ने विचार बोक्ने मानिस धेरै छन् ।

तर, यो अभियानलाई सेलाउन भने दिनु हुन्न । कुनै हालतमा सेलाउन दिनु हुन्न । बोल्नुपर्छ, बोल्नुको विकल्प छैन ।
 

  • प्रकाशित मिति : कात्तिक १६, २०७५ शुक्रबार १२:५९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया