‘खोज पत्रकारिता पुरस्कार’ रमेश र ‘साहसिक पत्रकारिता पुरस्कार’ चौधरीलाई

काठमाडौं– फ्रिडम फोरमले यस वर्षको ‘खोज पत्रकारिता पुरस्कार’ र ‘साहसिक पत्रकारिता पुरस्कार’बाट दुई पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको छ । पुरस्कार छनोट समिति संयोजक एवं नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिल  ‘खोज पत्रकारिता पुरस्कार’ ‘हिमाल’ खबर पत्रिकाका विशेष संवाददाता रमेश कुमार (काठमाडौं र ‘साहसिक पत्रकारिता पुरस्कार पत्रकार रामविकास चौधरी (रुपन्देही)लाई प्रदान गर्ने निर्णय गरेको छ । 

संयोजक विरही रहेको पुरस्कार छनोट समितिका सदस्यमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, खोज पत्रकारिता केन्द्रका प्रधानसम्पादक शिव गाउँले, नेपाल वातावरण पत्रकार समूहका तर्फबाट आमसञ्चार तथा पत्रकारिताका सहप्राध्यापक बद्री पौडेल र फोरमका संस्थापक अध्यक्ष तारानाथ दाहाल थिए ।     

खोज पत्रकारितामार्फत देशको प्रशासनिक, आर्थिक नीति र तिनको कार्यान्वयनमा लुकाइएका विषयवस्तुलाई उधिनेर जनसमक्ष ल्याई राज्यका निकायका कमजोरी राज्य शक्ति तथा स्रोतको दुरुपयोगजस्ता विषय, पाठकलाई सचेत गराई नीति तथा व्यवहारमा सुधार ल्याउन र सुशासन निर्माणमा योगदान पुर्याएबापत खोज पत्रकारिता पुरस्कार रमेशलाई प्रदान गरिएको हो । 

विभिन्न समयमा भौतिक आक्रमण तथा ज्यानको धम्कीका बाबजुद निडर रही स्थानीय तहमा भएका प्रशासनिक तथा आर्थिक विसंगति, स्रोतको दुरुपयोगजस्ता विषयमा निरन्तर चासो र खोजबिन गरी विभिन्न आमसञ्चारका माध्यमबाट समाचार प्रवाह गर्न मोफसलमा निरन्तर सक्रिय रहेकाले चौधरीलाई ‘साहसिक पत्रकारिता पुरस्कार पुरस्कार प्रदान गरिएको हो । 

प्रशंसापत्रसहित पुरस्कारको राशि जनही २५ हजार नगद रहेको छ । दुवै पुरस्कार पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रदान गरिनेछ । 





  • प्रकाशित मिति : कात्तिक १६, २०७५ शुक्रबार १३:५९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया