नेकपा माले हुँदै नेकपा एमालेको राजनीतिमा लामो समय बिताएका धादिङका नेता राजेन्द्रप्रसाद पाण्डे बागमती प्रदेशको सत्ता सम्हाल्दै छन् ।
अघिल्लो चुनावमा माओवादीसमेतलाई एकल बनेर चुनावमा होमिएका एमाले नेताहरू अहिले आफैँ विभाजित भए । एमाले विभाजनको श्रृङ्खलामा अग्रपंक्तिमै देखिएका पाण्डे बागमतीका तेस्रो मुख्यमन्त्री हुन् ।
आफ्नै सहोदर भाइ सुरेन्द्र पाण्डे एमालेमै बसेर अन्तसंघर्ष गरिरहँदा दाजुले आजबाट बागमतीको सत्ता बागडोर सम्हालेका छन् । सुरेन्द्र चितवनबाट प्रतिनिधिसभा सदस्य छन् भने राजेन्द्र धादिङबाट प्रदेशसभा सदस्य छन् । राजेन्द्र परिवारका जेठा छोरा हुन भने सुरेन्द्र कान्छा ।
नेकपा एमालेमा १० बुँदे कार्यान्वयन हुनुपर्छ भनेर मरिहत्ते गरिरहेका सुरेन्द्र हिजोआज गुमनामजस्तै छन् । लामो समयदेखि माधव नेपाललाई नै साथ दिँदै आएका राजेन्द्र बागमतीका तेस्रो मुख्यमन्त्री बनेका छन् ।
यी दुई दाजुभाइले नवौं महाधिवेशनमा भोगेको पराजयको चर्चा अहिले पनि एमाले वृत्तमा हुन छाडेको छैन । प्यानलगत चुनाव हुने भएपछि त्यतिबेला माधव नेपालको समूहबाट सुरेन्द्र महासचिव र राजेन्द्र उपाध्यक्षको उम्मेदवार थिए । थोरै मतान्तरले दाजुभाई नै पराजित भएका थिए ।
दुवै दाजुभाइले पार्टीमा माधव नेपालको साथ दिँदै आएका थिए । एमाले विभाजनपछि भने सुरेन्द्रले नेपालको साथ छाडिदिए । राजेन्द्र नेपालको बलियो खम्बा बन्दै नेकपा एकीकृत समाजवादी गठनसम्मको यात्रामा अग्रमोर्चामा खटिए ।
फलस्वरूपः मुख्यमन्त्रीको ‘उपहार’ राजेन्द्रले पाएका छन् ।
को हुन् राजेन्द्र पाण्डे?
०४८ सालयता निरन्तर सांसदको रूपमा संसदीय भूमिका देखिरहेका छन्, राजेन्द्र । उनी धादिङमा नेकपा एमालेका तर्फबाट २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएका थिए ।
पछिल्लो निर्वाचनमा पाण्डे एमालेबाट धादिङ क्षेत्र नम्बर १ (क) मा निर्वाचित भएका थिए । धादिङको गजुरीमा जन्मिएका उनको शैक्षिक योग्यता ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । एमाले विभाजन भएपछि बनेको नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेताको भूमिका रहेका पाण्डेलाई निरन्तर चुनाव जित्ने नेतामध्येको अपवादमा पर्छन् ।
एमालेमा ‘भिजनरी’ नेताको परिचय बनाएका राजेन्द्रले संसदीय फाँटमा पनि प्रभावशाली नेता मानिन्छन् । उनको राजनीतिक उदय नेकपा माले हुँदादेखि नै थियो । मालेको सहसचिव हुँदै २०५० सालमा एमालेको अञ्चल सचिव बनेका थिए । पाण्डेले स्थानिय विकासमन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।
अहिले उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्ष छन् । विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय हुनुभन्दा अघि उनी शिक्षण पेसामा आवद्ध थिए ।
०३२ सालमा सरस्वती क्याम्पसको नेतृत्व गरेर आन्दोलनमा हिँड्ने क्रममा जेल परेका राजेन्द्र त्यसपछि झापा आन्दोलनलाई समर्थन गर्दै उनी सक्रिय राजनीतिमा लागेका थिए । २०३३ वैशाखमा राष्ट्र विप्लवको मुद्दामा उनलाई १० वर्ष जेल र १० हजार जरिवाना तोकिएको थियो ।
पाण्डेको जन्म २०१३ साल जेठ २९ गते धादिङको गजुरीमा भएको थियो । जेल बस्ने क्रममा उनी २०३३ सालमा केन्द्रीय कारागारमा पार्टीको जेल कमिटीको सदस्य भएका थिए । त्यतिबेला उनी ४२ दिन जेल बसेका थिए । पाण्डेले २०५० वैशाख २० देखि नेपालगन्जमा सम्पन्न छैटौं महाधिवेशनबाट अञ्चल सचिवको जिम्मेवारी सम्हालेका थिए । उनले २०३६, २०३८ र २०४२ सालमा सम्पन्न शिक्षक आन्दोलनको नेतृत्वसमेत गरेका थिए ।
पूरा भयो मुख्यमन्त्री बन्ने चाहना !
लामो राजनीतिक पृष्ठभूमि जोडिएका राजेन्द्रको मुख्यमन्त्री बन्ने चाहना पहिलोपटक सरकार गठनमै देखिएको थियो । प्रदेश सरकार स्थापना भएदेखि नै उनको नाम मुख्यमन्त्रीको वरिपरि नै रह्यो ।
तर, नेकपा स्थापनादेखि नै देखिँदै गएको संकटकाबीच उनको संभावना बढ्दै गएको थियो । नेकपा हुँदै एमाले विभाजन भइसक्दासम्म कार्यकालको अन्त्यतिर उनको मुख्यमन्त्री बन्ने चाहना पुरा भएको छ ।
विशेषगरी एमालेभित्रकै विवादका कारण उनको ठाउँमा ओलीले डोरमणि पौडेललाई मुख्यमन्त्री बनाएका थिए सुरुमा । नेपाल समूहकै प्रतिनिधित्व गर्दै आएकी अष्टलक्ष्मी शाक्यको पनि नाम पहिल्यैदेखि चर्चामा थियो ।
शाक्य छोटो कार्यकालका लागि पनि एमाले विभाजन भएपछि मुख्यमन्त्री बनिन् । ७१ दिन मुख्यमन्त्री बनेर बिदा भएकी शाक्यपछि अबको एक कार्यकाल उनको पक्का भएको छ ।
समाजवादीको पहिलो प्रदेश सत्तारोहण
त्यतिमात्र होइन एमाले फुटेर बनेको एकीकृत समाजवादीको पहिलो सत्तारोहण, राजेन्द्रले गर्ने अवसर पाएका छन् । लामो समय एमालेमा चलेको अन्तसंघर्ष मिल्न नसकेपछि ९ भदौमा माधव नेपाल नेतृत्वमा नयाँ दल दर्ता भएको थियो ।
केन्द्रमा एकीकृत समाजवादीले सरकारको नेतृत्व गरिसकेको छ । बागमती र प्रदेश १ मा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउनेगरी सत्ता गठबन्धनमा सहमति भएको सो दलले जनाएको छ ।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनमा सो सहमति भएको बताएका छन् । प्रदेश १ को सत्तासमीकरण फेरबदल भइसकेको छैन् । तर, त्यहाँका मुख्यमन्त्री भीम आचार्य भने अल्पमतमा परिसकेका छन् । त्यहाँको मुख्यमन्त्री कसले पाउने भन्नेबारे अहिलेसम्म विवाद टुंगिन सकेको छैन् ।
यद्यपी बागमती प्रदेश सरकारको जिम्मा भने एकीकृत समाजवादीले पाएको छ । अंक गणित अनुसार एकीकृत समाजवादी बागमती प्रदेश सभाको चौथो ठूलो दल हो । बागमती प्रदेश सभामा एकीकृत समाजवादीका १३ जना मात्रै सांसद छन् । सत्तारुढ गठबन्धनको आन्तरिक सहमति अनुसार बागमतीको नेतृत्व पाएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।