अष्टलक्ष्मीलाई प्रश्न : कस्तो रह्यो मुख्यमन्त्रीको अनुभव? के–के भयो काम?

नेपालको इतिहासमा पहिलो महिला मुख्यमन्त्री बनेर इतिहास रचेकी बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य सत्ताच्युत भइसकेकी छन् । एमाले विभाजनमा गुट–उपगुटको आरोप खेपेरै भए पनि मुख्यमन्त्री बनेकी शाक्यको कार्यकाल जम्मा ७१ दिनको मात्र रह्यो । केन्द्रमा सत्ता गठबन्धनले गरेका सहमतिअनुसार बागमतीका नयाँ मुख्यमन्त्रीको सपथ धादिङका राजेन्द्र पाण्डेले सम्हालिसकेका छन् । 

आफ्नो ७१ दिनको कार्यकाललाई कसरी लिनुभएको छ? कस्तो रह्यो अनुभव? भनेर हामीले शाक्यसँग सोधेका थियौं । शाक्य भन्छिन्, ‘यो छोटो अवधिलाई हामीले जस्तो टिम बनायौं, त्यो टिम अत्यन्तै सिर्जनात्मक र कामकाजी भयो ।’ कार्यकालभरी आफ्नो सरकारले प्रशंसायोग्य काम गरेको बताउँदै उनले मुख्यमन्त्री अनुभव यसरी सुनाइन :

नेपालको पहिलो महिला मुख्यमन्त्रीको रुपमा यहाँको कार्यकाल छोटो नै भयो । कस्तो रह्यो छोटो अनुभव? 

नेपालको पहिलो महिला मुख्यमन्त्रीको रूपमा मेरो कार्यकाल निकै सिर्जनात्मक भयो । समयको हिसाबले समय निकै छोटो भयो । तर, पनि यो छोटो अवधिलाई हामीले जस्तो टिम बनायौं, त्यो टिम अत्यन्तै सिर्जनात्मक र कामकाजी भयो । त्यसले गर्दा छोटो दिनमा पनि धेरै काम गर्न सक्यौं जस्तो लाग्छ । मेरो कार्यकालमा मन्त्रीहरू पनि भर्खरै सांसद भएका वा नयाँ थिए । 

एकैचोटी सांसद र एकैचोटी मन्त्री हुँदा उहाँहरूको सुरुवात अलमल पनि भयो होला । तर, मैले आत्तिनु पर्दैन भनेँ । पहिलो कुरा मन्त्रालय राम्रोसँग बुझ्नुस्, त्यसको संरचना, कानुन र योजनाहरू बुझ्नुभयो भने काम गर्न सजिलो हुन्छ भनेर भनेको थिएँ । 

केही पर्यो भने म छु भनेर अभिभावकत्व ग्रहण गरेको थिएँ । त्यसपछि केही दिन त उहाँहरू बुझ्नको लागि लाग्नुभयो । त्यसपछि एकसरो बुझिसकेपछि फटाफट काम भयो । टिमले नयाँ अनुभव पनि गर्नुभयो । कतिपय कार्यविधिहरू तयार पार्नुभयो । समयको कारणले कतिपय पास भए कतिपय यतिकै बसेका पनि छन् । कृषि क्षेत्रबाट राम्रो काम भयो, सामाजिक विकास मन्त्रालय, आन्तरिकबाट पनि राम्रो काम भयो भन्ने मैले अनुभव गरेको छ । नयाँ मान्छेलाई अर्थमन्त्रीको जिम्मा दिएका थियौं, उहाँको पनि पर्फमेन्स पनि राम्रो रह्यो ।
 
बागमती प्रदेशलाई साक्षर प्रदेशको रुपमा घोषणा गर्यौं । यो अहिले अरू प्रदेशमा भएको पनि छैन । त्यो कुनै हचुवाको भरमा भएको काम पनि होइन् । धेरै विज्ञहरू नै टिम बनाएर लाग्नुभएको थियो । सबै प्रदेशको अध्ययन गरेर गरिएको हो । अत्यन्तै महत्वपूर्ण कामको रूपमा मैले त्यसलाई लिएको थिएँ । यो कामलाई निरन्तर अघि बढाउनुपर्छ भनेर हामीले प्रदेशका सबै क्षेत्रमा भनेका पनि छौं । 



स्वास्थ्य मन्त्रालयलाई म मुख्यमन्त्री बन्नेबित्तिकै अलग राख्यौं । किनभने कोभिड–१९ (कोरोना भाइरस) का कारण देश यस्तो छ, स्वास्थ्य क्षेत्र सधैं गौण हुने समस्या बढ्दै गयो । केन्द्र सरकारमा शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता मन्त्रालय अलगअलग भएको कारणले काम हुने । तर, यी सबै मन्त्रालयहरू एकै ठाउँमा राख्दा निकै विशाल बन्यो । सामाजिक विकासमा पनि महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायतका धेरै मन्त्रालयहरू रहे । अहिलेको अवस्थालाई ध्यानमा राख्दै यो बेलामा स्वास्थ्यलाई अलग नराखौँ भनेर मैले नै भनेँ । 

छुट्टै मन्त्री बनाइसकेपछि सबै जिल्ला अस्पतालहरूलाई सबै हिसाबले बलियो बनाउनुपर्छ भनेर लाग्यौं । हामीले अक्सिजन प्लान्ट बनाउनका लागि पहल गर्यौं । म आफैँ रत्ननगरमा पुगेर उद्घाटन पनि गरेँ । बेडबेडमा अक्सिजन पुग्दैनथ्यो । हामीले त्यसमाथि काम अघि बढाएपछि कम्तिमा पनि बेडमा अक्सिजन गयो । त्यो भनेको साह्रै महत्वपूर्ण कुरा हो । हामीले विभिन्न खालको सामग्रीबाट अस्पतालमा पुर्याइयो ।



त्यस्तै, यो अवधिमा आन्तरिकबाट पनि साह्रै महत्वपूर्ण काम गर्यौं । आन्तरिक मामिलामन्त्री अजय क्रान्तिले पनि अत्यन्तै मिहिनेत गरेर मन्त्रालय चलाउने काम गर्नुभयो । ऐन, विधि, नियमलगायतका कामहरू गर्नुभयो । विपद् सम्बन्धी सुरक्षा निकाय बोलाएर पटकपटक छलफल गर्र्यौं । सामाजिक सुरक्षाको कसरी ग्यारेन्टी गर्ने भन्नेतिर कार्यक्रम बनायौं । विशेषगरी मकवानपुर र चितवनमा अलि बढी आत्महत्याको केन्द्र बनेको छ । त्यो पुलबाट हामफाल्ने घटनाहरू बढेका थिए । त्यसलाई कसरी जोगाउने भन्नेबारेमा पनि छलफल भयो । 

मान्छेलाई कसरी आशावादी बनाउने भन्नेबारे पनि छलफल गर्‍यौँ । दुर्व्यसनी कसरी काम गर्ने भन्नेबारेमा पनि सुरक्षा निकाय बोलाएर गहिराइमा पुगेर छलफल गर्यौं । के हो त समस्या भनेर पनि पहिल्यायौं । विपदको कुरामा ध्यान दियौँ । मेलम्ची र चनौटे बजारको विपदको बारेमा छलफल गर्यौं । केहीदिन अघि मात्र मैले केन्द्रको बैठकमा गएर यो कुरा राखेको थिएँ । एउटा बेलिब्रिज राखौं भनेर हामीले भन्दा औकातले दिँदैन । कम्तिमा केन्द्रीय सरकारले एउटा बेलिब्रिजका लागि प्रयास गरिनुपर्छ । सुत्केरी हेलिकोप्टरबाट ल्याएर लैजानुपर्ने दिन आयो भनेर कुरा राखेका थियौं । अहिले त्यहाँ प्रधानमन्त्री कार्यालयको काम अघि बढेको छ भन्ने सुन्नमा आएको छ । 

त्यस्तै, गरिबका लागि राहतको व्यवस्था यो अवधिमा हामीले गर्यौं । दसैँ आयो हातमुख जोड्ने ठाउँ छैन भनेर हामीले विपद् परेका ठाउँका जनप्रतिनिधिलाई बोलाएर छलफल गर्यौं । हामीले राहत पनि पठायौं । सँगसँगै हामीले विद्यालयहरूलाई अपांगमैत्री, महिलामैत्री बनाएर लैजानुपर्छ भन्ने आवाज बढायौं । महिलाहरूको हिंसा गर्दिन भनेर विशेष कार्यक्रम अघि बढायौं । यी सबै कामहरू निर्णय भएको छ, केही पूरा होलान् केही नहोलान् । यी लगायतका विभिन्न विषयमा यो अवधिमा हामीले काम गरेका छौं । राजनीतिक अस्थिरताकाबीच आज मैले मुख्यमन्त्री पद छाडेर बसेको छु, आगामी सरकारले जनताको उचित मूल्यांकन गर्नेगरी काम गर्न सुझाव दिन्छु । 

(फरकधारकर्मी रूपक चौलागाईंसँगको कुराकानीमा आधारित)
 


  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १८:९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया