[अन्तर्वार्ता] नेपालमा आइटीमा 'राइट ट्रेनिङ' आवश्यक छ: शंकर उप्रेती

एन्ड्रोइड होस् या आइओस् सिस्टममा चल्ने मोबाइलमा किन नहोस्, अहिले धेरै नेपालीले सबैभन्दा मन पराएको एप हो, हाम्रो पात्रो । पहिले तिथिमिति र दिन हेर्न प्रयोग हुने हाम्रो पात्रो अब नेपाली प्रयोगकर्ताका लागि जीवनशैलीको पर्याय बनेको छ । र, यसलाई ११ वर्षअघि सुरु गरेका हुन् शंकर उप्रेतीले । 

उप्रेतीसँग फरकधारले पछिल्लो समय विकास भइरहेको आइटी कल्चर, यसको व्यापकता र स्कोप, आइटीले बनाएको सहज जीवनशैली र हाम्रो पात्रो र यसका फिचर्सबारे कुराकानी गरेको छ । उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः 

 

पछिल्लो समय नेपालमा पनि आइटीका कलेजहरु निकै धेरै खुलिरहेका छन्, युवाहरुमा पनि आइटीको लोभ र मोह, चाह र इच्छा बढिरहेको देखिन्छ । के हाम्रो नेपालको वा ग्लोबल बजारले यो सब चाहना र अपेक्षालाई भोलि 'मिट' गर्ला ?

यो समय भनेको नै आइटीको समय हो । अहिले बजारमा पनि आइटीको माग धेरै नै छ । अहिले हामीले हेर्दा धेरै कम्पनीहरु खुलिरहेको देख्न सक्छौँ । नेपालमा आफ्नै प्रोडक्ट बनाउनका लागि पनि कम्पनीहरु खुलेका छन् ।

हामीले बुझ्नुपर्छ, १५/२० वर्षअघि आइटीको डिमान्ड खासै धेरै थिएन ।



अहिले हामीले गर्ने धेरै कामहरु सफ्टवेयरमा आएका छन्, वेबमा आएका छन् र विभिन्न एप्लिकेसनमा आएका पनि छन् । यसको अर्थ हो आइटीको डिमान्ड अहिले बढिरहेको छ, यसले बजारको मागलाई पनि सम्बोधन गर्ने देखिन्छ ।

 



हामी पछिल्लो समय आइटी आइटी त भनिरहेका छौँ, तर के यसले साँच्चिकै आम मानिसको जीवनशैलीमा पनि कुनै परिवर्तन ल्याएको छ, त्यसलाई सहज बनाउन सहयोग गरेको छ जस्तो लाग्छ तपाईंलाई ?

आइटी वास्तवमा एउटा टुल हो । हामीले जुनसुकै टेक्नोलोजीलाई पनि हेर्यौँ भने त्यसको सकारात्मक पाटोहरु देख्छौँ । जस्तो कि आजभन्दा १० वर्षअघि वा २० वर्षअघि कामहरु गर्दा ती ‘लेस इफिसियन्ट’ थिए । आइटीले के गर्छ भने ती कामहरुलाई पनि थप प्रभावकारी बनाउँछ, इफिसियन्ट बनाउँछ ।

एउटा सामान्य उदाहरण नै लिऔँ न । केही पहिले हामीलाई कतै जानु पर्ने थियो र ट्याक्सी बोलाउन परेको खण्डमा हामीलाई निकै धेरै असहज थियो । अब अहिले मोबाइलमा थिचेको भरमा ट्याक्सी ढोकामै आइपुग्छ । अर्थात्, हाम्रो जीवनलाई आइटीले सहज बनाएको छ ।

त्यस्तै, पहिले पहिले हामीले मिति हेर्न वा गते थाहा पाउन पात्रो पल्टाउनु पर्ने अवस्था थियो । तर, अब मोबाइलमा नै धेरै कुराहरु गर्न सकिने भइएको छ । यसको अर्थ हो, आइटीकै कारण हाम्रो जीवनलाई हामीले थप सहज बनाउन सकेका छौँ । हामीले जे काम गरिरहेका थियौँ, ती कामहरु अब थप सहज भएका छन् । अर्को उदाहरण लिनुस् न– पहिले बिजुलीको बिल तिर्नकै लागि हामीले एक दिन छुट्ट्याउनु पथ्र्यो । तर, अब त घरमै बसेर ती सब काम गर्न सकिने अवस्था छ, अर्थात् हाम्रो जीवनशैली थप सहज भएको छ ।

 

एकातिर आइटीले यो सहज जीवनशैलीमा ट्रान्सफर्म त गरिरहेको छ । तर, अर्कोतिर यसका नेगेटिभ इम्प्याक्ट्स पनि छन् भन्ने गरिन्छ । उदाहरणका लागि ट्याक्सी बोलाउनै भए पनि यसअघि केही हिडाइँ हुन्थ्यो । तर, अहिले मानिसलाई आइटीले अल्छी बनाइरहेको छ, उसको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ, मान्छे लेजी हुन थालेको छ भन्ने आरोप पनि लाग्छ नि ?

यो आरोप पनि सही हो । आइटीकै कारण मानिसहरु अल्छी हुँदै पनि गएका छन् । यस्तो किन पनि होला भने यसको सदुपयोग भएको छैन होला । मानिसहरु अनावश्यक कुरामा मोबाइलमा समय बिताइरहेका पनि छन् ।

यो एउटा पाटो भयो ।

तर, आइटीका लागि नेगेटिभ भन्दा पोेजेटिभ कुराहरु बढी छन् भन्ने मलाई लाग्छ । अब हेर्नुस् न, एक जनाले आफूलाई कसरी स्वास्थ्य राख्ने, कसरी आफ्नो दैनिकी व्यवस्थित बनाउने वा राम्रो बनाउने भन्ने कुरा पनि अब मोबाइलमा नै पाउन थालेको छ । कतिपय कुरा त गुगलबाट नै पनि अब पाउन सकिन्छ । 

त्यसैले महत्वपूर्ण कुरा भनेको हामीले टेक्नोलोजीलाई कसरी लिन्छौँ भन्ने हो । यसको प्रयोग कसरी गरिन्छ भन्ने पनि हो ।

टेक्नोलोजीलाई सही तरिकाले प्रयोग गर्ने हो भने महत्वपूर्ण कुराहरु हुन्छन् । मोबाइलमा नै गेम त खेल्न सकिन्छ तर हामीले हाम्रा बालबालिकालाई मोबाइलमा गेम खेल्नुभन्दा अन्य उपयोगी कुराहरुमा ध्यान दिन सकिन्छ । यो कुरा टेक्नोलोजीमा मात्र होइन, सामाजिक सन्जालमा पनि त लागू भएको हुन्छ ।

 

तपाईंले भन्नुभयो, टेक्नोलोजीको प्रयोग कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण हो । आम मानिसलाई टेक्नोलोजी प्रयोगमा कसरी सचेत बनाउने त ? आफ्नो जीवनलाई आइटीको प्रयोगबाट सकारात्मक तरिकामा कसरी अगाडि बढाउने, कसरी यसलाई बुझ्ने ?

सबैभन्दा पहिले यसका लागि सबैभन्दा बढी आवश्यकता भनेको जनचेतना नै हो, अवेयरनेस । कुनै पनि एउटा विषय वा कुरालाई सधैं दुई अर्थमा प्रयोग गर्न सकिन्छ । जस्तो कि मानिसहरुले युट्युब भएका करोडौं कुराहरुबाट के गर्ने भन्ने निर्धारण गर्नु पर्ने हुन्छ । त्यहाँ मानिसको जीवनलाई आवश्यक कुराहरु अत्यन्त धेरै पनि छन्, कतिपय कुराहरुले यत्तिकै समय व्यतित पनि भइरहेको हुन्छ ।

अरु टेक्नोलोजीका एक्सपेक्ट्समा पनि यही हो । नेपाल विकसित हुँदै छ, यहाँको टेक्नोलोजी मार्केट विकसित हुँदैछ । त्यसैले नेपालमा पनि कतिपय टुलहरु यत्तिकै प्रयोग गरिहाल्नु हुँदैन, त्यसका लागि अवेयरनेसको आवश्यकता हुन्छ ।

अनि टेक्नोलोजी पनि त्यही अनुसार विकास गराउँदै लैजानु पर्ने कुरा हो । अब हामीले पनि नयाँ भेन्चर सुरु गर्दै छौँ । जस्तो कि अब काठमाडौंमा उपलब्ध चिकित्सकहरुसँगको समन्वय हामी टेक्नोलोजीको माध्यमबाट गर्दै छौँ ।

काठमाडौंभन्दा बाहिर जो हुम्ला वा जुम्ला, कर्णाली वा संखुवासभामा हुनुहुन्छ, उहाँहरुले पनि काठमाडौंमा रहनु भएका चिकित्सकहरुसँग टेक्नोलोजीकै माध्यमबाट किन नहोस् सम्पर्क गर्न पाउनु पर्छ ।

तर, टेक्नोलोजीको प्रयोगको विषयमा अवेयरनेस चाहिँ बढाउनु नै पर्छ । यसको माध्यमबाट पैसा कम लाग्छ, समयको वचत हुन्छ । सँगसँगै यसका नकारात्मक पक्षबारे पनि बारम्बार छलफल हुनुपर्छ, यसबारे बहस आवश्यक पनि छ ।

त्यो आइटीकै क्षेत्रमा लाग्नु भएका साथीहरुले पनि ध्यान दिनु पर्ने कुरा हो ।

सिलिकन भ्याली । नेपालमा पनि थुप्रै आइटीमा लाग्न चाहने युवाहरुलाई लोभ्याउने नाम हो यो । अनि कतिसम्म भनिन्छ भने सिलिकन भ्यालीले त रातारात करोडपति बनाइदिन्छ । के आइटीमा लाग्यो भने कोही पनि व्यक्ति रातारात करोडपति हुन्छ ?

यो कदापि सत्य होइन । कोही पनि व्यक्ति आइटीमा लागेको छ भन्दैमा ऊ रातारात धनी हुनै सक्दैन । तर, आइटीको स्कोप राम्रो छ । आइटीको स्कोप राम्रो छ भन्नुको अर्थ चाहिँ कुनै एउटा आइटी प्रोडक्टमा काम गरेलगत्तै कोही पनि रातारात धनी हुन्छ भन्ने पनि होइन ।

जुनसुकै फिल्डमा पनि सफल हुनका लागि समय चाहिन्छ । 

आइटीमा पनि त्यही समय, मिहिनेत र प्यासनको आवश्यकता हुन्छ । आइटीमा लागेपछि कामै नगरे पनि मालामाल होइन्छ भन्ने चाहिँ भ्रम हो । तर, मिहिनेत गर्ने हो भने चाहिँ अवश्य सफल भइन्छ । एउटा सफल रात वा आफूले सोचेको रात आउनका लागि यो क्षेत्रमा पहिले हजारौँ रात काम गर्नु पर्ने हुन्छ ।

 

तपाईंको अर्थ अमेजनका जेफ बेजोस, फेसबुकका मार्क जुकरबर्गलाई आइकन बनाएर उनीहरुजस्तै सफल हुन्छु भनेर आइटीमा हाम्फाल्नु लाभदायी होइन ?

ठ्याक्कै यस्तो पनि होइन । उहाँहरु यो क्षेत्रका लागि आइकन नै हो । एमेजन र त्यसको सक्सेस वा सफलताबारे पनि हामीलाई थाहा छ । फेसबुक पनि एकै पटकमा सक्सेस भएको होइन ।

उहाँहरुले जुन मिहिनेत गर्नुभएको छ, त्यसलाई हामीले हेर्नुपर्छ ।

अनि फेरि जुनसुकै मानिसको गोल वा लक्ष्य भनेको चाहिँ आफू मिलेनियर वा बिलेनियर बन्छु भन्ने होइन, समाजमा कस्तो इम्प्याक्ट म छोड्दैछु भन्ने खालको हुनुपर्छ भन्ने लाग्छ । धनी हुन्छु भनेर लाग्यो भने सफल नहुन पनि सकिन्छ । तर, हाम्रो समाजको वा विश्व समाजको मानिसको जीवनलाई थप सहज बनाउँछु भनेर लाग्यो भने पैसा नकमाइएला तर सफल चाहिँ पक्कै होइन्छ ।


नेपालमा आइटी सेक्टरको विषयमा कुरा गर्दा, आइटी ह्युमन रिसोर्सको म्यानेजमेन्ट हुन नसक्दा राम्रो हुन सकेको छैन भनिन्छ । यसको म्यानेजमेन्ट किन हुन नसकेको हो ? यो कसरी हुन्छ ? 

हामीले अघि कुरा गर्दापनि नेपालमा दुईवटा कमजोरी देखिइरहेको छ । केही समयअघि एउटा कम्पनिको सिइओसँग कुरा गर्दापनि हामीले भनेजस्तो रिसोर्स पाउन सकेको छैन भन्नुहुन्थ्यो । त्यस्तै अर्को चाँही मैले कति ठाउँमा जब अप्लाई गर्दापनि पाउन सकिँन भन्नेखालको छ । अहिलेको अवस्था चाँही के छ भने एकातिर डिमान्ड पनि छ अर्कोतिर सप्लाई पनि छ । 

त्यसलाई म्याच हुन सकेको छैन् । अहिले आइटी क्षेत्रलाई चाहिने कुरा चाँही निकै फरक छ । इन्ड्रस्टिलाई चाहिने मान्छे खोज्दा चाँही त्यो खालको मान्छे भेटिरहेको छैन् । र इन्जिनियर्सहरुले पढेको कुरा इन्ड्रस्टिले पत्ता लगाउन सकेको पनि छैन् । अहिले पढिरेहका मान्छेहरुले पढ्दा पढ्दै इन्र्टनसिपको वातावरण बनाउने गर्नुपर्छ होला । त्यो गर्दा चाँही हाम्रा रिसोर्सहरु वेस्ट हुँदैन् । अहिले आइटीको मान्छेहरु खोज्दा पाउन सकिरहेको छैन् । मैले आफैंले पढ्दापनि त्यो खालको प्राक्टिकल थिएन् । 

तर, इन्टरनेटमा भने त्यो सबै थियो । मैले २००९ तिर त्यो हेरेर हाम्रो पात्रो बनाएँ । विद्यार्थीहरु आफैं कलेजले पढाएको पुग्दैन्, रिसोर्सहरु कम छन भनेर आफैं लाग्नपर्ने बेला पनि छ । इन्डस्ट्रिले पनि फ्रेसरहरुलाई चान्स दिएर अघि बढ्नपर्ने हुन्छ । अहिलेपनि कतिले हामीलाई मान्छे चाहिएको छ पाइएको छैन भनिरहनुभएको छ । यो समस्या म्यानेज भएर सहयोग गर्नुपर्छ । 

 

यसको अर्थ तपाईंले नेपालमा स्किलफुल ह्युमन रिसोर्स छैन भन्नुभएको हो ? 

स्किलफुल अफकोर्स नेपालमा छन् । नभएको होइन् । तर, एउटा ग्याप के भयो भने कलेजमा पढ्दा चाँही जुन कोर्स हुनुपर्ने हो त्यो भइसकेको छैन् । यहाँको आइटी स्टुडेन्टलाई राइट स्किल र राइट ट्रेनिङ दिनुपर्छ । 

अब तपाईंकै भेन्चर हाम्रो पात्रोको कुरा गरौँ । तपाईंले यसअघि विभिन्न फोरममा हाम्रो पात्रो आफूलाई अमेरिका पुगेपछि मिति सम्झिन आवश्यक हुँदा जन्माएको भन्नु भएको छ । अब त हाम्रो पात्रो नेपालमा र विदेशमा नेपालीहरुको जीवनशैली नै बनेको छ । पछाडि फर्केर हेर्दा हाम्रो पात्रोमा यतिका वर्ष लाग्दा के कुराहरु मिस गरेँ जस्तो लाग्छ ?

हाम्रो पात्रो बनाएको नै अब त १० वर्षभन्दा बढी भइसक्यो । म विदेशमा पढ्न जाँदा चाहिँ केही नेपाली मिति, पर्वहरु हेर्न वा थाहा पाउन नै समस्या थियो । यो समस्या समाधानका लागि मैले प्रयोग गरेको थिएँ, हाम्रो पात्रो एपले नेपालबाहिर रहेका नेपालीका लागि युजफुल हुन्छ भन्ने मलाई त्यति बेला लागेको थियो ।

हामी बाहिर रहँदा नेपालका समाचार हेर्न र सुन्न पाए हुन्थ्यो भन्ने हामीलाई लागिरहन्थ्यो । र, अर्को कुरा विदेशबाट नेपाल पैसा पठाउनका लागि विनिमय दर पनि हेर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । यही दुई आवश्यक तर साना कुराहरुबाट हामीले हाम्रो पात्रोलाई हेरेका हौँ । 

मैले यो फ्रि टाइममा गरेको थिएँ । आज आएर हाम्रो पात्रो नेपालीहरुको जीवनस्तर सहज बनाउन आएको प्रोडक्ट भएको छ । धेरै नेपालीमाझ यो प्रोडक्ट पुगेको छ, यसले मलाई गर्व महसुस गराउँछ ।

मलाई अर्को गर्व लाग्ने कुरा के हो भने हाम्रोमा जतिबेला एन्ड्रोइड फोन आयो, त्यति बेला नेपालीमा हामीले टाइप गर्न सक्ने सहज माध्यम थिएन । यसलाई पनि समाधान गर्न हामीले हाम्रो किबोर्ड सुरुवात गर्यौँ । अहिले पनि हाम्रो नेपाली किबोर्ड लाखौँ जनाले प्रयोग गरिरहनु भएको छ । 

अर्थात्, त्यति बेला देखिएको समस्या समाधान गर्न हामीले यी प्रोडक्ट सुरुवात गरेका थियौँ । अहिले मलाई लाग्छ कि कम्तिमा पनि नेपाली भाषाका लागि राइट टाइममा राइट प्रोडक्ट हामीले ल्याएका थियौँ ।

 

हो, हाम्रो पात्रोले अहिले धेरैको जीवन सहज बनाएको छ । गर्व गर्न कुराहरु पक्कै पनि छन् । तर, तपाईंलाई यो प्रोजेक्टमा लागेर केही मिस गरेँ भन्ने लाग्दैन ?

अहिले हाम्रो पात्रो हेर्दा मलाई के लाग्छ भने यसलाई मैले अझ छिटो गर्नु पथ्र्यो । अझ समयमा नै यसलाई सुरुवात गर्न पाएको भए हुँदो रहेछ भन्ने लाग्छ । मैले हाम्रो पात्रो सुरुवात गरेपछि पनि यसका लागि पार्ट टाइम काम गरेँ । 

सिलिकन भ्यालीमा त्यति बेला राम्रो कमाई थियो । तर, अहिले आएर मलाई सन् २०१३ देखि नै पूर्णरुपमा म हाम्रो पात्रोमा लाग्नु पर्ने रहेछ जस्तो लाग्छ । त्यस्तो गरेको भए अहिलेको भन्दा राम्रो गर्न सक्थेँ कि भन्ने पनि लाग्छ । त्यो दुई वर्षको समय जतिबेला मैले अझ राम्रो गर्न सक्थेँ, त्यो मैले गर्नु पथ्र्यो भन्ने लाग्छ । यही दुई वर्ष यसलाई पार्ट टाइम दिएको कुरा चाहिँ मिस हुन्छ ।

 

कुनै समय पात्रो र तिथि मिति हेर्न मात्र प्रयोग हुने हाम्रो पात्रोले अब हाम्रो पात्रो टेलिमेडिसिन, हाम्रो रेमिटजस्ता सेवासुविधा पनि सुरु गरेको छ । हाम्रो पात्रोले यी अरु क्षेत्रमा किन हात हाल्नु पर्छ भन्ने सोच्यो ?

हाम्रो पात्रो एउटा क्यालेन्डरबाट सुरु भयो । हाम्रो त्यति बेला पनि गोल के थियो भने एउटै प्रोडक्टबाट सबैकुरा प्रयोग गर्न पाइयोस् । 

नेपालमा प्रायः फोनहरु एडभान्स्ड थिएनन् । हामीले फरकफरक सुविधा एउटै एपबाट सुरुवात गर्ने निर्णय गर्यौँ । अब जस्तो रेमिटेन्सको कुरा गरौँ । अहिले विदेशबाट नेपालमा पैसा पठाउनका लागि निकै धेरै शुल्क तिर्नु पर्ने अवस्था रहेको छ । यो निकै महँगो भएको मैले पनि महसुस गरेको कुरा हो ।

राष्ट्रबैंकले १२० रुपैयाँ तोकेको अमेरिकी डलर हामीले पठाउँदा ११६ को भ्यालुमा पठाउनु पर्ने समस्या थियो । अब यसलाई थोरै पैसा खर्च गरेर पैसा पठाउन सकिन्छ कि भन्ने हामीले सोच्यौँ, अनि थोरै पैसामा पैसा पठाउन सकिने अवस्था सिर्जना गर्न हामीले खोजेका हौँ ।

नेपालभन्दा बाहिर रहेका नेपालीका लागि सबैभन्दा महत्वपूर्ण कुरा रेमिट्यान्स नै हो । जुन एकदमै महँगो पनि परिरहेको छ । हामीले हाम्रो पात्रोमार्फत् सिधैं बैंकबाट बैंकमा ट्रान्सफर गर्ने सुविधा सुरु गरेका छौँ । हाम्रो पात्रोमा अहिले नै केही कस्टोमरहरु हुनुहुन्छ, त्यसैले पनि हामीले यसलाई कस्ट इफेक्टिभ बनाउन सकिन्छ, कस्टलाई मिनिमाइज गर्न सकिन्छ भन्ने सोच्यौँ । यो सबै नेपालीका लागि राम्रो कुरा हो भन्ने पनि हामीले सोच्यौँ ।

अर्को हामीले केही दिनमा नै टेलिमेडिसिन सेवा सुरु गर्न थालेका छौँ । अब नेपालमा विकटमा रहनु भएका मानिसहरुलाई पनि चिकित्सकसँगको एक्सेस पुगोस् भनेर हामीले यसको सुरुवात गरेका हौँ । चिकित्सकसँग समन्वय गर्न सकियोस् भन्ने हाम्रो उद्देश्य हो । त्यसले समय र पैसाको मात्र वचत गर्दैन, विकटमा रहनु भएका नेपालीहरुलाई पनि सम्बोधन गर्छ ।

अर्को कुरा, नेपालमा चिकित्सककहाँ जाँदा समय जान्छ, पैसा खर्च हुन्छ भनेर हामीले बुझ्दै नबुझी औषधीको प्रयोग गर्न थालेका छौँ । यसले मानिसहरुको स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ । त्यसलाई पनि हामीले केही हदसम्म सम्बोधन गर्न सकिन्छ कि भन्ने सोचेका छौँ ।

 

हाम्रो पात्रो अब सुपर एपमा जाँदैछ भन्ने चर्चा पनि सुनिन थालिएको छ । आखिर हाम्रो पात्रो अब सुपर एपमा किन जान लागेको हो र यो सुपर एप भनेको के हो ?

एउटै एपमा धेरै सुविधा भएको एपलाई सुपर एप भन्न सकिन्छ । सुपर एपमा चाहिँ थर्ड पार्टी साइटका लिंकहरु पनि हुन्छन् ।

विस्तारै हामीले हाम्रो पात्रोबाट फरक फरक समाचार साइटहरुका समाचार पढ्न पाइरहेका छौँ, रेडियोहरु हामीले सुन्न पाएका छौँ ।

सुपर एप भनेको आखिर मल्टिपल एप हो । जसमा धेरैभन्दा धेरै फिचरहरु प्रयोग गर्न पाइयोस् । सुपर एप त एउटा प्लेटफर्म हो जहाँ युजर्स र सर्भिस कनेक्टरहरुलाई एकै ठाउँमा ल्याउन सकियोस् । अब हाम्रो पात्रो विस्तारै त्यतातिर जाँदैछ ।

  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १८:२२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया