काठमाडौंसँग बुटबल पराजित

काठमाडौं– पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)अन्तर्गत आए भएको दोस्रो खेलमा हुलास काठमाडौं रोयल्सले बुटबल ब्लास्टरलाई ३७ रनले पराजित गरेको छ । 

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको काठमाडौंले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । १ सय ७३ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३५ रन मात्रै बनाउन सक्यो ।
 
बुटबलका ओपनर रोहन मुस्तफाले अर्धशतक बनाए पनि त्यो जितको लागि पर्याप्त भएन । उनले ५१ बलको सामना गर्दै ५ चौका र ४ छक्काको मद्दतले ६१ रन जोडेका थिए । यस्तै, चिरङ सुरीले ११, भिम सार्कीले १२ र सिद्धान्त लोहनीले १३ रन बनाउनुबाहेक अन्य ब्याट्समेनले दोहोरो अंक जोड्न सकेनन् । 

काठमाडौंका अमर रौतेलाले बुटबलको तीन विकेट लिए । यस्तै, नन्दन यादव र वसन्त रेग्मीले समान २ विकेट लिए भने गौरव टमोरले १ विकेट लिए । 

असअघि, काठमाडौंका नरेश बुढाऐरले अर्धशतक बनाएका थिए । उनले २८ बलमा ३ चौका र ५ छक्कासहित ५८ रन बनाए । यस्तै, जयकिसन कोल्सावालले ४५ तथा, पवन सर्राफले २२, गौरव टोमरले ११ रन जोडे । यस्तै, कप्तान ज्ञानेन्द्र मल्ल २५ रनमा नटआउट रहे । 

बुटबलका विपिन खत्रीले दुई विकेट लिए । यस्तै, रोहन मुस्तफा र सम्सद शेखले समान १ विकेट लिए । 

यो जितसँगै काठमाडौं तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चार खेल खेलेको काठमाडौं ३ खेलमा जित निकाल्दै ६ अंकसहित शीर्ष स्थानमा रहेको हो । ५ खेलमा २ खेल मात्रै जितेको बुटबल भने तालिकाको पाँचाैँ नम्बरमा पुगेको छ ।
 
पिपिएलअन्तर्गत भोलि शनिबार एक खेल हुँदै छ । विराटनगर र चितवनबीच भोलि खेल हुनेछ । 
 





  • प्रकाशित मिति : कात्तिक १६, २०७५ शुक्रबार १७:२७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया