बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । उनीसँगै तीन प्रदेशमन्त्रीले पनि सपथग्रहण गरेका हुन् ।
प्रदेश प्रमुख कार्यालयमा बिहीबार आयोजित समारोहमा उनीहरूले सपथ लिएका हुन् । नवनियुक्त मुख्यमन्त्री पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ खुवाएका हुन् ।
यस्तै, नेपाली कांग्रेसका कृष्णलाल भँडेल, नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद खनालले पनि मन्त्री पदको सपथ लिएका छन् ।
भँडेललाई भौतिक पूर्वाधार मन्त्री बनाइएको छ । मोक्तानलाई सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका पाण्डेले सपथग्रहण कार्यक्रममा आफ्नो शक्ती प्रदर्शन शैलीमा कार्यकर्ता उतारेका छन् । प्रदेश प्रमुखको कार्यालयमा हुने सपथग्रहण कार्यक्रममा यसअघि निमन्त्रणा गरिएको बाहेक र सञ्चारकर्मी मात्रलाई प्रवेश गर्न दिने गरिन्थ्यो ।
तर, बिहीबारको पाण्डेको सपथग्रहण कार्यक्रममा भने उनको निर्वाचन क्षेत्रका ६० भन्दा धेरै नेताकार्यकता सपथग्रहणमा सहभागी भएको देख्न पाइयो ।
सपथग्रहण कार्यक्रममा प्रदेश प्रमुखको परिसर मुख्यमन्त्री र मन्त्रीका कार्यकर्ताले भरिएपछि सुरक्षाकर्मीलाई धान्न हम्मेहम्मे भएको थियो । सपथग्रहण लगत्तै कार्यकर्ताबाट घेरिएका मुख्यमन्त्री पाण्डे र तीन मन्त्रीहरूलाई सत्तारुढमध्ये ठूलो दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल जानै सकेनन् ।
कांग्रेसका नेता इन्द्र बानियाँले कठिनका साथ बधाई दिन पाए । स्टेजमा भीड थेग्न नसकेपछि माइकिङ गरेर कर्मचारीले रोक्न खोजे पनि सकेका थिएनन् । मुख्यमन्त्री पाण्डेको सपथग्रहण कार्यक्रममा सत्तारुढ नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एसका प्रदेशसभा सदस्य मात्रै सहभागी थिए । नेकपा एमालेसहित र साना दलका सांसद भने सपथग्रहण कार्यक्रममा सहभागी भएका थिएनन् ।
भद्रगोल सपथग्रहण :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।