Mon, 19 Nov, 2018


समाचारजस्ता छन् अहिलेका नेपाली कथा
ध्रुव सापकोटा  
ध्रुव सापकोटा  |  कात्तिक १७, २०७५

नेपाली कथाको इतिहास आफैंमा निकै छोटो छ । १९९० सालबाट मात्र आधुनिक कथा लेखन सुरु भएको हो । विश्वसाहित्यमा कथाले निकै फड्को मारिसकेको समयमा नेपाली साहित्यमा भर्खर कथा लेखन सुरु भएको पाइन्छ ।

२०५० सालअघि कथा लेखन निकै कम विषयवस्तुमा सीमित थियो । कथाहरूमा विषयवस्तु दोहोरिरहेको थियो । त्यो समयका प्रख्यात कथाकारका कथामा पनि एउटै विषयवस्तु मात्र पाइन्छ । गुरूप्रसाद मैनालीले सामाजिक यथार्थवाद, बिपी कोइरालाले मनोवैज्ञानिक, गोविन्द गोठालेले नगर जीवन (सहरी जीवन) जस्ता विषयवस्तुमा कथा लेखेको पाइन्छ ।

दोस्रो विश्वयुद्धपछि नेपाली कथाका विषयवस्तुमा विविधता आउन थाल्यो । निराशा, कुण्ठालगायतका अन्य विषयवस्तुमा पनि कथा लेखिन थाले । कथा लेखनको सुरुवाती दिनमा लेखकले पुस्तक पढ्न नपाएका कारण विषयवस्तु दोहोरिरहेका थिए । दोस्रो विश्वयुद्धपछि नेपालमा पठन संस्कृतिको पनि विकास भयो । त्यसपछि, बिस्तारै नेपाली कथा लेखनमा निराशावाद, अस्तित्ववाद, भौतिकवादजस्ता विषयवस्तु आउन थाले । शंकर लामिछाने, पारिजातलगायतका कथामा यस्ता विषयवस्तुको उठान व्यापक रूपमा भएको छ ।

२०५० सालपछिको कथा लेखनमा स्वतन्त्रता आयो । लेखक प्रजातान्त्रिक भएर लेख्न सक्ने अवस्थाको सिर्जना भयो । देशमा भएको राजनीतिक परिवर्तनका कारण पहिलेजस्तो लेखकले कुनै कुरा लेख्दा लुकाएर लेख्नुपर्ने अवस्था रहेन । एक किसिमले भन्दा लेखकका कलम स्वतन्त्र भए । उनीहरूले आफूलाई मन लागेको विषयमा कथा लेख्न सक्ने अवस्था सिर्जना भयो । प्रत्यक्ष रूपमा कथा लेखेर राज्यसत्तामाथि प्रश्न उठाउन पनि स्वतन्त्र भए लेखक । 

लेखकले आफूले भ्याएसम्म लेख्नलाई छुट पाएपछि नेपाली कथा लेखकमा विषयवस्तु धेरै आउन थाले । पहिलाजस्तो सरकारले प्रतिबन्ध लगाउँछ कि भनेर डराउँदै अनेक बिम्ब र शिल्पको प्रयोग गर्नुपर्ने बाध्यता रहेन । कथाकारले आपूmसँग भएको क्षमतालाई प्रयोग गरेर राम्रो कथा लेख्न सक्ने अवस्थाको सिर्जना यति बेला भयो । 

डायस्पोरिक लेखकको सुरुवात पनि २०५० पछि नै सुरु भयो । २०५० अगाडि नेपालीहरू देश छोडेर युद्धमा मात्र जाने गरेका थिए । भाडाका सैनिकको रूपमा मात्र नेपाली देश छोड्ने गरेका थिए । तर, २०५० पछि देशबाहिर रहेका नेपालीका दुःखव्यथाहरू लेखिन थाले । युद्धबाहेक रोजगारीका लागि नेपालीहरू देशबाहिर जाने परम्पराले व्यापक रूप लियो । जसले गर्दा नेपाली कथालेखनमा डायस्पोरिक लेखनको प्रवेश हुन सुरु भयो ।

२०५० पछि नै छाउपडी, दाइजोलगायतका विभिन्न महिला हिंसाका सामाजिक विषयमा पनि कथा लेखन सुरु भयो । एकातिर सञ्चारमाध्यमले लेखेका महिला हिंसाका समाचारले व्यापक रूप लियो । जसकारण नेपाली कथा लेखनमा त्यसको प्रभाव देखियो । 

२०५० सालअघि सञ्चार क्षेत्र पनि परिबन्दमा बाँधिएको थियो । अर्कातिर, महिला लेखकको संख्या आफैंमा कमी थियो । पारिजात र प्रेमा शाहबाहेकका महिला लेखक सायदै थिए । त्यो समयमा महिला हिंसा भए पनि त्यस विषयमा कसैले लेख्ने गरेका थिएनन् । 

तर, २०५० सालपछि एकाएक यस विषयका कथा लेखिन थाले । महिला लेखकहरू पनि साहित्य लेखनमा आउन थाले । जसको प्रभाव नेपाली कथामा पनि देखियो । महिलाका कथालाई महिलाले नै आफ्नो भाषामा लेख्दा झन् बढी प्रामाणिक भएर आउन थाल्यो । 

कथा लेखनको इतिहासमा २०५० अघि जातीय पहिचानका विषयमा कथा लेखिएको थिएन । २०५० पछि नै नेपाली कथालेखनमा जातीय पहिचानले प्रवेश गर्यो । जातीय पहिचानका कथा लेखिएकै कारण पछाडि पारिएका जातिको पीडाका बारेमा अरूले थाहा पाउन थाले ।

पारिवारिक विघटनका विषयवस्तुमा पनि कथा २०५० पछि नै लेखिन सुरु गरे । अर्कातिर नेपाली राजनीतिमा भएका परिवर्तनका बारेमा पनि कथा लेखन सुरु भयो । नेपाली समाजले देखेको जनयुद्धका विषयमा पनि कथा लेखन सुरु भयो । 

२०५० अघि बढी नै मात्रामा सामाजिक मुद्दामा कथा लेखिएको मेटिन्छ । त्यस समयमा अलि फरकपन भनेको मनोवैज्ञानिक विषयवस्तुमा कथा लेख्ने मात्र थियो । तर, २०५० को पछिका दिनमा भने नेपाली कथामा विषयवस्तु व्यापक रूपमा आएको देखिन्छ । विषयवस्तुमा विविधता आए पनि कथाको स्तर जति बढ्नुपर्ने त्यति बढ्न सकेको छैन । 

नेपाली कथाले २०५० पछि विषयवस्तुमा फड्को मारेको भए पनि शिल्पगत चार्तुय भने निकै कम देखिन्छ । कथा लेखनमा मुख्य कुरा भनेको शिल्प र भाषा हुन्छ । तर, पछिल्ला समयमा लेखिएका कथामा यिनै कुराको अभाव देखिएको छ । 

सामान्य रूपमा अहिलेको नेपाली कथा लेखनमा प्रयोग भएको भाषा अखबारी कथा लेखनको जस्तो देखिन्छ । लेखकले कथालाई पृथक् बनाउन चाहिने भाषाको ज्ञान राख्न नसकेको देखिन्छ । गहिरो साधना गरेर आफूले चाहेको विषयवस्तुमाथि कथा लेख्दा मात्र कथा सुन्दर हुन जान्छ । 

अहिले केही लेखकबाहेक अधिकांशमा साधनाको कमी देखिएको छ । छिट्टै लोकप्रिय हुने होडबाजीमा लेखकले कथाको मात्रा बढाएको देखिन्छ । कथा लेखनमा परिस्कृत हुनेका लागि मुख्य कुरा साधनाको आवश्यकता हुन्छ । जुन २०५० पछिका अधिकांश कथा लेखकमा छैन । 

२०५० अघिको समयमा कथा लेखनमा पनि देखिएको कमजोरी भाषाको नै थियो । त्यो समयका बिपी कोइराला, गोविन्द गोठाले, गोपालप्रसाद रिमाललगायतका लेखकको कथामा संस्कृतनिष्ठ भाषाको प्रयोग भएको देखिन्छ । मौलिक नेपाली भाषाको कमी ती कथामा छन् । तर, ती कथामा शिल्पको भने प्रचुर प्रयोग भएका छन् । 

हिन्दी साहित्यको प्रभावका कारण पनि त्यस बेलाका कथामा शिल्पको प्रयोग सुन्दर रूपमा भएको देखिन्छ । २०५० पछिको समयमा नेपाली लेखकले विश्व साहित्यका विभिन्न कुरा पढ्न पाएका छन् । तर, उनीहरूले आफ्ना कथामा भाषालाई उकास्न भने नसकेको देखिन्छ ।

अहिले विश्वसाहित्यमा विभिन्न प्रयोग भएर उत्कृष्ट कथा सिर्जना भएका छन् । नेपाली कथामा भने साधनाको कमी भएकाले यी कुरा पढ्न पाइएको छैन । अर्कातिर, शाश्वत चिन्तनको कमी खट्किरहेको छ । अधिकांश नेपाली कथा विषयवस्तुलाई मात्र ध्यानमा राखेर लेखिएका छन् । 

अहिलेका नेपाली कथा लेखनमा लागेका लेखकले छिटो लोकप्रिय हुने बाटो मात्र अपनाएका छन् । जुन कुरा लेख्दा मसलेदार सुनिन्छ, जुन कुरा बिक्छ, त्यस्ता कुराका बारेमा मात्र कथा लेखेर बसेका छन् उनीहरू । तर, जुनसुकै समयमा पढ्दा पनि समयसान्दर्भिक र शाश्वत हुने कथा निकै कम लेखिएको छ ।

अखबारमा समाचार लेखेजस्तो घटनाको विवरण मात्र लेख्दा कथा कहिल्यै पनि हँुदैन । त्यसरी कथा लेखेर विश्वसाहित्यमा नेपाली कथा पुग्छ भनेर सोच्नु भ्रम हो । हाम्रा लेखक स्थूल विषयमा कथा लेखेर अल्झिरहेका छौं । अर्कातिर, लेखकले कथामा प्रयोग पनि गरेको देखिँदैन । विश्वसाहित्यमा भएको प्रयोगलाई हेर्ने हो भने त्यहाँ कुनै विषयवस्तुविना नै कथा लेख्ने प्रयोग पनि भएको पाइन्छ । 

भाषा र शिल्पलाई सुन्दर रूपमा प्रयोग गरेर शिल्पगत चार्तुय देखाउँदै उनीहरूले कथा लेखिरहेका छन् । जबकि नेपाली कथाकार अझै पनि विषयवस्तु मात्र भनिरहेका छन् । कथा लेखनमा मौलिकताको पनि कमी छ । मौलिकताको कमीमा कदापि पनि राम्रा कथा लेखिन सकिँदैन । 

अहिलेको नेपाली कथालाई हेर्दा राजनीतिको पनि निकै बढी प्रभाव परिरहेको छ । कुनै नेताले बोलेको कुरामाथि कथा भन्दै लेख्ने पनि छन् यहाँ । २०५० अघिको समयमा हेर्ने हो भने नेपाली कथामा राजनीतिको प्रभाव निकै कम परेको थियो । तर, अहिलेको राजनीतिको प्रभावका कारण पनि नेपाली कथाको स्तर पर्याप्त रूपमा बढ्न सकेको छैन ।

२०५० अघिका नेपाली साहित्यमा योगदान दिने कथाकारमा बिपी कोइराला, गोविन्द गोठाले, रमेश विकल, पोषण पाण्डे, भवानी भिक्षु, ध्रुवचन्द्र गौतमलगायतका लेखक छन् । त्यो समयमा नेपाली लेखकले केही कुरा छपाउनुअघि निकै सोच्नुपथ्र्यो । जसकारण पनि कथा निखारिएर प्रकाशन हुन्थे । अहिलेका कथामा त्यो विशेषताको कमी छ । अधिकांश लेखकले कथा भनेर अनेक कुरा छपाइरहेका छन् । 

नेपाली कथाको स्तर जति माथि हुनुपथ्र्यो त्यो नहुनुको अर्को कारण लेखन पेसा नभएर पनि हो । कुनै पनि काम निरन्तर गरिरहेमा मात्र त्यसमा निखारपन आउने गर्छ । तर, नेपाली कथा लेखनमा लागेका कोही पनि पूर्ण रूपमा लेखेर बसेका छैनन् । जसकारण उनीहरूमा साधना भएको छैन । साधनाको कमीमा राम्रा कथा आउन सक्ने कुरा पनि हँुदैन । झन्, अहिलेका नेपाली कथाकारले जे मन लाग्छ त्यही विषयमा विवरण मात्र लेख्ने गरेकाले पनि कथाको स्तर माथि उठ्न सकेको छैन । गुटवादका कारण नेपाली कथालाई माथि उठ्नबाट रोकिरहेको छ ।

पहिले संख्यात्मक रूपमा कम कथा लेखिएका भए पनि राम्रा कथा लेखिएका थिए । अस्तित्ववाद र मनोविज्ञानका विषयमा मात्र कथा लेखिएका भए पनि भाषा र शिल्पका कारण कथा उत्कृष्ट लेखिएका थिए । अन्य राजनीतिक तथा सामाजिकलगायतका विभिन्न समस्याका बाबजुद पनि त्यस्ता कथा लेखिनु भनेको आफैंमा एउटा ठूलो कुरा थियो । सरकारी पक्षबाट त्रषित हुँदै कथा छाप्दा निकै सास्ती व्यहोरेका थिए लेखकहरूले ।

अहिले नेपाली लेखकले यस्तो समस्या भोगेका छैनन् । विषयवस्तुमा विविधता भए पनि नेपाली कथाले आफ्नो स्तरलाई माथि उठाउन नसक्नु अर्को एउटा दुःखद कुरा हो । राजनीतिक तथा सामाजिक व्यवस्था धेरै पछि विकास भएका कारण पनि हाम्रा कथा विश्वसाहित्यमा पुग्न सकेका छैनन् । 

राम्रा कथाको उत्पादनमा निकै कमी भएको छ । २०५० पछि अलि बढी पृथक नयनराज पाण्डे, नरायण ढकाल, राजेन्द्र पराजुलीलगायतका कथामा मात्र पाइएको छ । अन्य, कथाकारका कथामा भाषा तथा शिल्पमा कुनै पनि सुन्दरता भेटिँदैन । 

अर्कातिर, नेपाली कथाकारमा अध्ययनको पनि कमि रहेको छ । समाचार लेखेजस्तो घटनाको विवरण मात्र लेखेर कथा लेखें भन्नु मूर्खता मात्र हो जस्तो लाग्छ । 
 



यो पनि नछुटाउनुहोस्