पुस्तकको लोकप्रियता निर्धारण गर्ने मदन पुरस्कार

यस वर्षको मदन पुरस्कारप्राप्त कृति योगमाया अहिले नेपाली साहित्य बजारमा चर्चाको विषय बनेको छ । मदन पुरस्कार पाउनुअघिसम्म सामान्य ठानिएको योगमायाको चर्चा–परिचर्चा पुरस्कारपछि ह्वात्तै बढेको छ ।

पुरस्कार पाउनुअघिसम्म सामान्य रूपमा लिइएका पुस्तकले पुरस्कार पाएपछि एकाएक चर्चा पाउने गर्छन् । एउटै लेखकले लेखेका कृतिमध्ये पनि मदन पुरस्कार पाएको पुस्तकको धेरै चर्चा हुने गर्छ । एउटा कृतिले मदन पुरस्कार पाइसकेपछि पुरस्कार पाउने लेखकका अन्य कृति भने छायामा पर्छन् ।

त्यस्तैमध्ये एक लेखक हुन्, नारायण वाग्ले । द्वन्द्वकालको विषयलार्ई समेटेर लेखिएको उनको पहिलो पुस्तक ‘पल्पसा क्याफे’ले २०६१ मा मदन पुरस्कार पाएको थियो । नेपाली उपन्यासको ‘माइल स्टोन’ मानिने यो कृतिपछि वाग्लेले साहित्यमा खासैै कलम चलाएनन् । तर, पनि मदन पुरस्कारको ह्याङ ओभरमै सही उनले पल्पसा क्याफे सार्वजनिक गरेको पाँच वर्षपछि मयुर टाइम्स लेखे । 

तर, उनको पहिलो पुस्तकले जत्तिको चर्चा दोस्रो पुस्तक ‘मयुर टायम्स’ले पाउन सकेन । 

तराईमा पत्रकारिता गर्नेको जीवनमा जनयुद्धको प्रभावलाई केन्द्रमा राखेर लेखिएको यो पुस्तकका बारेमा धेरैले थाहै पाएका पनि छैनन् । अर्को मदन पुरस्कार पाएको कृति ‘जीवन काँडा कि फूल’की लेखक झमक घिमिरेको पनि पुरस्कृत कृति मात्र चर्चित भएको पाइन्छ ।

आफ्नो जीवनी रहेको पुस्तकले निकै चर्चा पाए पनि उनका अन्य ‘अवसानपछिको आगमन’, ‘मान्छेभित्रका योद्धाहरू’, ‘रात र भूतप्रेतका सन्त्रास’लगायत कुनै पनि कृतिले चर्चाको सिँढी उक्लन सकेको देखिँदैन । 



‘राधा’ उपन्यासबाट मदन पुरस्कार पाएका कृष्ण धरावसीका अन्य पुस्तक पनि छायामा परेका छन् । ‘बालक हराएको सूचना’, ‘शरणार्थी’, ‘आँधी नआउने घर’लगायत उनका अन्य कृति कुनैले पनि राम्रो चर्चा पाएका छैनन् । 

पुरस्कार पाएपछि मात्र चर्चा कमाउने पुस्तकमा रामलाल जोशीको ‘ऐना’, अमर न्यौपानेको ‘सेतो धरती’लगायत थुप्रै कृति छन् ।



२०५० को दशकभन्दा अगाडिको साहित्यलाई हेर्ने हो भने पनि हालत त्यस्तै नै देखिन्छ । पुरस्कार पाएका कृतिको तुलनामा त्यो समयका राम्रा पुस्तकले पनि पाउनुपर्ने लोकप्रियता पाएका छैनन् । मदन पुरस्कार पाएपछि मात्र लेखकका अन्य कृतिको बारेमा खोजी हुने गरेको पाइन्छ । 

अहिलेका प्रकाशित कृतिमा पनि केहीलाई छाडेर हेर्ने हो भने मदन पुरस्कारले पुस्तकलाई चर्चित बनाउनमा ठूलो भूमिका खेलिरहेको पाइन्छ । राधा’ उपन्यासबाट मदन पुरस्कार पाएका कृष्ण धरावासी यो विषयमा भन्छन्, ‘हरेक पुरस्कारले लेखकलाई चिनिन र लोकप्रिय बन्न मद्दत गर्छ । झन्, मदन पुरस्कार त सबैभन्दा ठूलो साहित्यको पुरस्कार हो नेपालको ।’ पुस्तकलाई चर्चामा ल्याउन मदन पुरस्कारले ठूलो भूमिका खेल्ने उनी बताउँछन् । 

नेपाली साहित्यमा वर्षभरिमा सयौँ पुस्तक प्रकाशन हुन्छन् । तर, साहित्यको सबैभन्दा ठूलो मदन पुरस्कार एउटा पुस्तकले प्राप्त गर्छ । ‘राम्रा पुस्तकले नै पुरस्कार पाउँछन् वा पुरस्कार पाउने पुस्तक नै राम्रा हुन्छन् भन्ने हुँदैन,’ धरावासी भन्छन्, ‘तर, पुरस्कार पाएपछि पुस्तक सबैको नजरमा पर्छ । जसकारण त्यसको बिक्री र लोकप्रियतामा पनि वृद्धि हुन्छ ।’

‘राधा’ पुस्तकभन्दा अगाडि अन्य पुस्तकले साहित्यका अन्य पुरस्कार पाएका भए पनि तिीनहरूले चर्चा नकमाएको बताउँछन्, धरावासी । उनी भन्छन्, ‘राधा’जति अन्य कुनै पनि कृति चर्चित हुन सकेका छैनन् ।’

वर्तमान नेपाली साहित्यको बजारमा अधिकांश लेखकको कृति बजारमा कहिले आउँछ र जान्छ पत्तो हुँदैन । तर, मदन पुरस्कार पाएका लेखकको कृति बजारमा आउने कुराकै बारेमा ठूलो तामझाम हुने गरेको पाइन्छ ।

उदाहरणकै रूपमा हेर्दा ‘ऐना’ पुस्तकले मदन पुरस्कार पाउनुअघिसम्म रामलाल जोशीलाई केहीले मात्र चिनेका थिए । उनको दोस्रो पुस्तक ‘सखी’ मदन पुरस्कार पाएका लेखकको पुस्तक भएकाले चर्चामा आयो । 

पुस्तकको स्तरभन्दा बढी पुस्तकले पाएको पुरस्कारलाई आधार मानेर बजारमा पुस्तक बिक्री हुने गरेका छन् । कुनै पनि पुस्तक आफैँमा राम्रो भएर चर्चामा आउनुको साटो मदन पुरस्कार पाएपछि मात्र चर्चामा आउने गरेको कुरा यहाँबाट पुष्टि हुन्छ ।

साहित्यमा मदन पुरस्कारबाहेकका अन्य पुरस्कार पनि छन् । तर, ती पुरस्कार पाएका पुस्तकको ठूलो चर्चा भएको पाइँदैन । अन्य पुरस्कार पाएका पुस्तकले साहित्य बजारलाई पनि तताएको देखिँदैन ।

तर, मदन पुरस्कार पाएका पुस्तकको सन्दर्भमा भने ठीक विपरित भइरहेको देखिन्छ । पुस्तकको विषयवस्तु र स्तरभन्दा बढी मदन पुरस्कार पाएको कृति भन्ने ट्याग झुन्ड्याइएका कारण पुस्तकले बजारलाई तताइरहेको छ । यसर्थ, यो पनि भन्न सकिन्छ कि पुस्तकलाई चर्चित बनाउने जिम्मा मदन पुरस्कारको हो ।

साहित्यको गुणस्तरलाई पुरस्कारले मूल्यांकन नगर्ने बताउँदै कवि श्यामल भन्छन्, ‘मदन पुरस्कार पाएर पुस्तक चर्चित हुने कुरा व्यापार र बजारसँग सम्बन्धित छ ।’

मदन पुरस्कार आफैँमा एउटा इतिहास बोकेको पुरस्कार भएकाले पनि यो पुरस्कार पाएका कृतिको चर्चा हरेक क्षेत्रमा हुने गरेको देखिन्छ । यसर्थ पनि पुस्तकको लोकप्रियतामा मदन पुरस्कारले ठूलो भूमिका खेल्ने गरेको  श्यामल बताउँछन् ।

अर्कातिर, मदन पुरस्कार पाएका कृतिलाई विभिन्न पाठ्यक्रममा समावेश गरिने प्रचलनका कारण पनि पुस्तक चर्चित हुने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘मदन पुरस्कार पाएका हरेक कृति राम्रा हुन्छन् भन्ने हँुदैन । तसर्थ, पुरस्कृत भएकै आधारमा कृतिलाई चर्चाको विषय बनाउने नकरात्मक प्रवृत्ति रहेको छ ।’

पुस्तकले मदन पुरस्कार पाएको आधारमा पुस्तक उत्कृष्ट छ भन्दै चर्चा गरिनुले नेपाली पाठकको स्तर देखाउने श्यामल बताउँछन् । नेपाली साहित्यका पाठकले प्रकाशक र पुरस्कारको हल्लाको पछि लागेर पनि पुस्तकलाई लोकप्रिय बनाउन अप्रत्यक्ष रूपमा मद्दत गरिरहेको उनको धारणा छ ।

साहित्यमा दिइने देशकै सबैभन्दा सम्मानित पुरस्कार भएकाले पनि पुरस्कृत कृतिको व्यापारका लागि प्रकाशकले  हल्ला गर्ने गरेको श्यामलको बुझाइ छ । त्यस्तै, सञ्चार र पत्रपत्रिकाले मदन पुरस्कार पाएको कृतिको विभिन्न चर्चा गर्नाले पनि कृति लोकप्रिय हुने गरेको उनको धारणा छ ।

पुँजीसँग प्रत्यक्ष रूपमा पुस्तक व्यापारलाई जोडिएको छ । व्यापारलाई बढावा दिनका लागि विभिन्न हल्ला भएता पनि त्यसले पुस्तकको लोकप्रियतालाई केही समयसम्म मात्र कायम गर्ने उनी बताउँछन् । ‘मदन पुरस्कार पाएका र पुरस्कृत कृति भन्दै हल्लाका कारण चर्चामा आएका सबै कृति राम्रा छैनन्,’ उनी भन्छन्, ‘इतिहासलाई नै हेर्ने हो भने पनि हल्लाका आधारमा चलेका कृतिको आयु निकै कम देखिन्छ ।’
 

  • प्रकाशित मिति : कात्तिक १६, २०७५ शुक्रबार १९:१६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया