चाहेको ठाउँमा पुस्तक पुर्याउने ‘किताब यात्रा’

साहित्यकार नयनराज पाण्डेले रामलाल जोशीको ‘सखी’ र रमेश सायनको ‘छुटेका अनुहार’ पुस्तक मगाए । आफूले चाहेको पुस्तक उनकै ढोकाअगाडि आइपुग्यो । त्यो पनि १० प्रतिशतको छुटमा । जुन काम गरेको थियो, ‘किताब यात्रा’ले । पाण्डेले पुस्तक पाएपछि आफ्नो सामाजिक सञ्जालमा लेखे, ‘पुस्तक किन्नलाई पसल–पसल भौँतारिनुभन्दा किताब यात्राबाट लिनु ठीक’ ।

किताब यात्रा अर्थात् किताबलाई यात्रा गराउने काम । आफूले चाहेको किताब आफ्नै पायक पर्ने ठाउँमा छुटसँगै पाउँदा को खुसी नहोला ? किताब यात्राले सुरु गरेको यो काममा पाठकले यस्तै सुविधा पाएका छन् । २०७४ चैतबाट औपचारिक रूपमा सुरु भएको किताब यात्राले पुस्तकप्रेमीले चाहेको पुस्तक उसैले भनेको ठाउँमा छुटसहित पुर्याउँछ । किताब यात्राका संस्थापकमध्येका एक ऋषिराम अधिकारी भन्छन्, ‘राजधानीमा प्रकाशन भएका पुस्तक सोही दिन राजधानीबाहिरका पाठकले पाउँछन् । किताब यात्राको एउटै काम पुस्तकप्रेमिलाई सेवा दिनु हो ।’

प्रविधि र सञ्चारको विकास व्यापक रूपमा भइरहेको वर्तमान समयमा यिनको प्रयोगबाट हरेक कुरा सम्भव भएको छ । आफूले चाहेको धेरैजसो सरसामन अहिले अनलाइनबाटै किन्न सकिन्छ । तर, सबै कुरा अनलाइनबाट खरिद गर्न सम्भव भए पनि पुस्तक किन्न पाउने प्रचलनको पूर्ण विकास भएको थिएन । अन्य देशमा व्यापक रूपमा यो संस्कृतिको विकास भएता पनि नेपाली बजारमा धेरै कम मात्रामा पुस्तकको अनलाइन व्यापार भएको पाइन्छ । किताब यात्राले नेपाली साहित्यको विकाससँगै नेपाली पाठकलाई लक्षित गरी यो काम सुरु गरेको ऋषि बताउँछन् । 

नेपालका राजधानीबाहिरका ठाउँमा साहित्यका पुस्तक सजिलै पाउन सम्भव छैन । राजधानीबाहेकका ठाउँमा भएका अधिकांश स्टेसनरीमा पनि साहित्यको पुस्तक पाउन निकै गाह्रो हुन्छ । पाए पनि आफूले चाहेको पुस्तक चाहेको समयमा प्राप्त हुँदैन । झन्, काठमाडौंमा प्रकाशित पुस्तक मोफसलमा पुग्नलाई नै निकै समय लाग्छ । तर, मोबाइल र इन्टरनेटको पहुँच देशको सबैजसो ठाउँमा रहेको छ । किताब यात्राले यिनै सञ्चारका माध्यमको सहायताले ती पाठकको चाहना पूरा गर्ने उद्देश्य लिएको छ । ऋषि भन्छन्, ‘काठमाडौंमा मात्र नभएर नेपाली साहित्यलाई संसारभर नै पुर्याउनका लागि किताब यात्राको स्थापना भएको हो ।’

पठनसंस्कृतिको विकाससँगै साहित्यको विकासका लागि किताब यात्रा खोलिएको ऋषि बताउँछन् । ‘नेपालमा साहित्यका पाठकले चाहेको पुस्तक समयमा पाउँदैनन् । नेपाली पुस्तक नै पनि मोफसलमा पाउन निकै गाह्रो छ ।’ ऋषि भन्छन्, ‘नेपालीसँगै विदेशी साहित्यका पुस्तक पाठकको हातमा सजिलै पुर्याउने लक्ष्य किताब यात्राको हो ।’ किताब यात्राका कारण निकट भविष्यमा साहित्यका पाठकको संख्यामा पनि वृद्धि हुने उनी दाबी गर्छन् । 

तर, किताब यात्रा देशमा मात्र पनि सीमित छैन । देशबाहिरका ठाउँमा पनि डेलिभरिको निश्चित खर्च लिएर किताब यात्राले काम गरिरहेको बताउँछन्, ऋषि । नेपालबाहिर रहेर पनि किताब यात्राबाट पुस्तक प्राप्त गर्ने एक हुन्, अजय अनमोल । नेपालबाहिर पनि किताब यात्राले दिएको सेवाबाट आफू खुसी भएको उनी लेख्छन् ।



किताब यात्राले पुस्तकलाई अनलाइनको माध्यमबाट बिक्री मात्र नभएर पुस्ताकलयको काम पनि गर्ने गरेको छ । आजसम्मका दिनमा काठमाडौंभित्रका विभिन्न व्यावसायिक ठाउँमा गरी एघारवटा पुस्ताकलय बनिसकेको ऋषिले जानकारी दिए । पश्चिमी शैलीका सबैजसो कम्पनीमा पुस्ताकलय हुने र कर्मचारीले आफूले चाहेको वेला पुस्तक पढ्न पाउँछन् । त्यही शैलीलाई अनुशरण गर्दै नेपालमा पनि पुस्ताकलयको निर्माणमा अगाडि बढ्ने सोच किताब यात्राको रहेको उनले बताए । उनी भन्छन्, ‘हरेक ठाउँमा पुस्तक उपलब्ध भएपछि पठनसंस्कृतिको विकास भएर नेपाली साहित्य सबैको माझमा पुग्छ भन्ने विश्वास गरेका छौँ ।’

नेपालभित्रका जुनसुकै ठाउँमा पनि किताब यात्राले डेलिभरी चार्जविना नै पुस्तक उपलब्ध गराउने गरेको ऋषि बताउँछन् । उनी भन्छन्, ‘मानिसलाई सबैभन्दा धेरै केहीले सिकाउँछ भने त्यो पुस्तकले नै हो ।’ निश्चित छुटमा डेलिभरी चार्जविना पुस्तक उपलब्ध गराउनाले मानिस पुस्तकप्रति आर्कषित हुने उनको धारणा छ । किताब यात्राले पुस्तक बेच्न मात्र नभएर हरेकलाई ज्ञान बाँड्न पनि यो काम सुरु गरेको उनको भनाइ छ । भन्छन्, ‘पुस्तक बेच्न मात्र नभएर मानिसलाई कसरी पुस्तक पढ्नमा आकर्षित गर्ने भन्नेमा किताब यात्रा केन्द्रित छ ।’ 



किताब यात्राले सुरु गरेको कामबाट साहित्यप्रेमीले पूर्ण लाभ लिइरहेका छन् । हेटौँडाका अंकित अर्याल लेख्छन्, ‘आफूले चाहेको पुस्तक चाहेको ठाउँ र समयमा उपलब्ध गराइदिनुभएकोमा धन्यवाद किताब यात्रालाई ।’ त्यस्तै साहित्यकार ब्रजेश खनालले आफूले चाहेको पुस्तक समयमा नै पायक पर्ने ठाउँमा ल्याउने किताब यात्राको सेवाबाट निकै खुसी भएको कुरा आफ्नो सामाजिक सञ्जालमा व्यक्त गरेका छन् । यस्ता धेरै छन्, जसले किताब यात्राले गरेको कामबाट पूर्ण रूपमा लाभ प्राप्त गरिरहेका छन् ।

किताब यात्रा व्यवसाय कम सेवा ज्यादा भएको बताउँछन्, ऋषि । भन्छन्, ‘किताब यात्राले पुस्तकको बिक्री–वितरणमा वृद्धिसँगै पाठकको संख्यामा पनि वृद्धि गर्ने आशा छ ।’ तीन महिनासम्म खोज गरेर, नेपाली साहित्यको बजारलाई बुझेर सुरु गरिएको किताब यात्राले आफ्नो उद्देश्यअनुसारको काममा सफलता पाइरहेको उनले बताए । अहिले किताब यात्राले विभिन्न प्रकाशनगृहसँग समन्वय गरेर धेरैभन्दा धेरै पुस्तकलाई आफ्नो तर्फबाट पाठकमाझ पुर्याउने काम भइरहेको जानकारी दिन्छन्, ऋषि । 

कुनै पनि पाठकले साहित्यका पुस्तक नपाएर भौँतारिनुपर्ने समयको अन्त्य हुने बताउँदै ऋषि भन्छन्, ‘पुस्तकले मान्छको जीवनमा धेरै कुरा सिकाउँछन् । किताब यात्राले पुस्तकको यात्रा गराएरै पाठकलाई धेरै कुरा सिकाउन मद्दत गर्नेमा विश्वस्त छौँ ।’
 

  • प्रकाशित मिति : कात्तिक १६, २०७५ शुक्रबार १९:३७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया