उपस्थिति होइन, महिला लेखकका पुस्तकको छलफल कमीः कुमारी लामा

कुमारी लामा विशेषगरी कविता र निबन्ध विधामा कलम चलाउँछिन् । २०७१ सालमा उनको उज्यालो अन्धकार (निबन्धसंग्रह) प्रकाशित भएको छ । त्यसबाहेक उनी निरन्तर रूपमा लामो समयदेखि पत्रपत्रिकामा सामाजिक विषयमाथि लेख्दै आएकी छिन् । ‘नेपाली साहित्यमा महिलाको उपस्थिति’ विषयमा फरक धारले साहित्यकार कुमारी लामासँग गरेको अन्तर्वार्ता यहाँ प्रस्तुत छः

१. हिजोआज के लेख्दै हुनुहुन्छ ? 

केही लेख र निबन्धहरू ।

२. साहित्य लेखनमा महिलाको उपस्थिति पुरुषको तुलनामा कम देखिएको हो ? 

गणना नै गर्दा केही तलमाथि भए पनि वर्तमान परिप्रेक्ष नियाल्दा त्यस्तो लाग्दैन । हिजोआज विविध साहित्यिक विधामा महिलाको उपस्थिति बाक्लै देखिन्छ ।
 
३. नेपाली साहित्यमा महिलाको उपस्थिति न्यून छ भन्ने सुनिन्छ । यो हल्ला मात्र हो कि सत्य पनि ? 

महिला लेखकको उपस्थिति नै न्यूनचाहिँ होइन । बरु चर्चा, विमर्श, या उनीहरूको पुस्तकबारे छलफल तथा अन्तक्र्रियालगायतका कुराचाहिँ अलि कम हुने गरेको पक्का हो । तर, यही कुरा पनि सबै महिला लेखकको हकमा लागू नहुन सक्छ । पछिल्लो समय लेखनका सबै विधामा महिला लेखकको प्रभावपूर्ण उपस्थितिका साथै उनीहरूको पुस्तकको राम्रै चर्चा र छलफल भएको देखिन्छ ।



४. लेखिरहेका महिला लेखक पनि चुलो र चौकाले गर्दा साहित्यमा समय दिन सकिएन भन्ने गुनासो गर्छन् । के महिलालाई लेखनमा लाग्नका लागि घरपरिवारबाट बन्देज नै छ त ? 

महिलाहरूमा केही सामाजिक मान्यताले छुट्ट्याइदिएका जिम्मेवारीका साथै केही स्त्रीजनीन जिम्मेवारी अवश्य छन् । तर, आज जसले लेखिरहनुभएको छ उहाँहरू समय मिलाएरै अघि बढ्नुभएको छ । गुनासाका केही पाटा हुँदा हुन्, तर ती कुराबाट अलि अघि बढेको हो कि जस्तो लाग्छ । हामीले बाँचिरहेको समयमा कुनै महिलालाई लेख्न घरपरिवारबाट बन्देज नै लाग्छजस्तो त लाग्दैन, तर चाहेजति समय दिन गाह्रो परेको भने हुन सक्छ । 




५. कतिपय सार्वजनिक कार्यक्रममै महिला लेखकले आफूहरूको समूह नभएकै कारण पछाडि पर्नुपरेको गुनासो पनि गर्छन् । के महिला लेखकको समूह (गुट) नभएकै हो ? 

गुट या समूहलाई कुन अर्थमा लिने ? केही व्यक्तिहरूको समूह या अलि फराकिलो रूपमा धेरैलाई समेट्ने ? आज महिलाका अनेक साहित्यिक समूह छन् जहाँ उनीहरू साहित्यिक विमर्श, अनुभव अनुभूतिको साटासाट गरिरहेकै छन् । साहित्यकार अर्चना थापा, उमा सुवेदी र म, हामी तीन जनाको एउटा आह्वान नामक साहित्यिक समूह छ । हामी प्रत्येक दुई महिनामा महिलालाई केन्द्रमा राखी बहस तथा छलफल गर्छौं । धेरै साहित्यकारहरू आउनुहुन्छ छलफलमा । जिम्मेवारीपूर्वक काम गर्दै गरेका महिलाका समूह छन् नेपाली साहित्यिक वृत्तमा । 

६. महिला लेखकले विभिन्न समयमा यौनहिंसा सामना गर्ने गरेको पनि सुनिन्छ । तर, यो विषयमा भने महिला लेखक किन मौन ? 
    
एकाध महिला लेखकले विगतमा त्यस्ता घटनाबारे संकेत गरेका छन् । आज पनि त्यस्तो केही भइरहेको छ भने निकै मुखर भएको ह्यासट्याग मिटू आन्दोलनमा ढिलोचाँडो यो कुरा बाहिर आउँला । 
 
७. महिलाको चुलो–चौका र परिवार मात्रै साहित्यमा लेखे भन्ने गुनासो गरिन्छ । के महिला लेखक लेखनमा चुलोबाट बाहिर आउन नसकेकै हुन् ? 

पहिलो कुरा चुलो–चौकाको कुरा लेख्दा समस्या के छ ? अनि अर्को कुरा महिला जो अधिकांश समय चुलोचौकामा थिए ( आज अलि फराकिएको छ समय) भने उनीहरूले आफ्ना पीडा, समस्या घरभित्रका कुरा लेख्दा त्यसमा नाक खुम्च्याउनुपर्छ भन्ने त लाग्दैन मलाई । तर आजको साहित्य हेर्नु हुन्छ भने महिला लेखनमा निश्चय नै चुलोचौका मात्र आएको छैन । 

८. पुरुष साहित्यकार महिलाका विषय लेखेर चर्चित हुन् सक्छन् भने, महिला स्वयं आफ्नो विषयमा किन लेख्न सक्दैनन् ? 
    
पक्कै सक्छन् । र आज भइरहेको पनि त्यही हो । साठीको उत्ताराद्र्ध र सत्तरीको दशकको सुरुवातसँगै सतहमा आएको हो सीमान्तकृत वर्गको आवाज । त्यसमा महिलाका मुद्दा निकै पेचिलो भएको छ । आजका महिला लेखक निश्चय नै सीमान्तकृत, इतिहासले बिर्सेका त्यस्ता महिला पात्रको खोजीमा छन् र लेखाइमा पनि त्यही आइरहेको छ । ती लेखनले चर्चा पनि उत्ति नै पाएको छ । 

 ९. महिलाको शरीरलाई साहित्यमा विभिन्न तवरमा वर्णन गर्ने गरिन्छ, लिंगका आधारमा यसरी कसैको शरीरको वर्णन गर्नु कस्तो लाग्छ तपाईंलाई ? 
    
त्यो हाम्रो समाजको सामन्ती पितृसत्तात्मक सोचको रहलपहल धङधङी हो । जसलाई पुँजीवादी विचारले मलजल गरिरहेको छ । वर्णनका लागि मात्र महिलाको शरीर वर्णनले साहित्यमा न्याय गर्दैन । महिलाको बाहिरी आवरण मात्रै चर्चा गरियो भने त त्यो महिला शरीरको वस्तुकरण हो जो पुँजीवादीको मूल ध्याउन्न पनि हो । महिला शरीरभित्रका ती अनेकन पीडा, क्षमता, विद्रोह, आक्रोश, भोगाइ, शक्तिलगायतका विषयको उठान जरुरी छ । 

१०. साहित्यलाई महिलाले लेखेको र पुरुषले लेखेको भनेर भन्नु कत्तिको न्यायोचित हो ? 

निश्चय नै न्यायोचित होइन । कसले लेखेको भन्नु भन्दा पनि के लेखेको छ चाहिँ प्रमुख कुरा हो भन्ने लाग्छ । लिंग, जाति, धर्म या अन्य केही क्याटगोरीमा लेखकलाई राखेर आग्रहपूर्वक कसैले हेर्छ भने त्यो पक्कै ठिक होइन । 

अब त झन् महिला र पुरुष मात्र नभई फरक यौनिकता भएका व्यक्तिहरू पनि हुनुहुन्छ । उहाँहरू पनि लेखनमा आउन सक्नुहुन्छ । त्यसैले लेखनचाहिँ पहिलो सर्त हो भन्ने लाग्छ ।
 

  • प्रकाशित मिति : कात्तिक १६, २०७५ शुक्रबार १९:३९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया