पलेशालाई आइओएफटिसीको सम्मान

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)ले टोकियो पारालम्पिक- २०२० मा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गाेवर्द्धनलाई सम्मान गरेकाे छ ।

आइ‌‌ओएफटिसीले शुक्रबार नगद १ लाख १ हजार रुपैयाँसहित सम्मान गरेकाे हाे ।

टोकियो पारालिम्पकमा नेपालबाट सहभागी एक मात्र खेलाडी पलेशा मुख्य ‘ड्र’ को पहिलो खेलमा बेलायतकी खेलाडीसँग पराजित भएकी थिइन् । रिपाचेजमा पुनः अवसर पाएकी पलेशाले पहिलो खेलमा अमेरिका र दोस्राेमा सर्बियाकी खेलाडीलाई हराउँदै कांस्य पदकनजिक पुगेकी थिइन् । कांस्य पदकको भिडन्तमा भने पलेशा चीनकी खेलाडीसँग हार्न पुगिन् । 

पलेशासँगै प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्ट पनि नगदसहित सम्मानित भएका छन् । २०१५ देखि पारा तेक्वान्दो खेलाडीलाई प्रशिक्षण दिन सुरु गरेका अन्तर्राष्ट्रिय लेभल २ प्रशिक्षक लामा र विष्टलाई जनही ५१ हजार नगद प्रदान गरियो ।

संघीय सांसद नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उनीहरूलाई पाटन माविमा आयोजित एक कार्यक्रमबीच नगद र प्रशंसा पत्र प्रदान गरे । सोही अवसरमा पलेशाको प्रशिक्षणका बेला फिजियोथेरापिस्ट रहेकी नेहा शाह, नेपाली पारा तेक्वान्दोमा योगदान पुर्‍याएवापत जनार्दन ढुंगेल र हाल क्यानाडामा रहेका पूर्व पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवरलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । आइओएफटिसीको आइओएफटिसी टिम नेपालमार्फत सबैलाई सम्मान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले पारा खेलाडीको स्तर वृद्धिका लागि नेपाल पारा ओलम्पिक कमिटीले अझ सक्रियता बढाउनु पर्नेमा जोड दिए । पलेशाले पदक नजिते पनि आफ्नो प्रदर्शनबाट देशवासीलाई हर्षित तुल्याउन सफल भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पदकका लागि अझ बढी मिहिनेत गर्ने बताइन् ।



आइओएफटिसी अमेरिकाको मिचिगनमा

पारा खेलाडीलगायतको सम्मानलगत्तै आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)को १३ औं संस्करण अमेरिकाको मिचिगनमा हुने जानकारी दिइयाे ।



आइओएफटिसीको प्रायोजनमा मिचिगनको एभरेस्ट तेक्वान्दो संघले आयोजना गर्न लागेको प्रतियोगिता मे १३ देखि १४ तारिखसम्म हुने प्रतियोगिता संयोजक लवप्रसाद गोर्खालीले बताए।

यसअघि प्रतियोगिता २०२० को मे १ र २ तारिखका लागि मिचिगनमै हुने तय भए पनि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित गरिएको थियो । उक्त प्रतियोगिताका लागि नेपालबाट सहभागी हुने ५ खेलाडीसमेत छनोट गरिएको थियो ।

‘नयाँ छनोट गर्ने वा तिनै खेलाडीलाई सहभागी गराउने भन्ने विषयमा टुंगो लागेको छैन । उनीहरूको ट्रेनिङको अवस्था बुझ्छौं अनि छलफल गरेर निर्णय गर्छाैं’, संयोजक गोर्खालीले भने, ‘छनोट गरेको लामो समय भएकाले सकभर नयाँ छनोट गर्नेमै हाम्रो जोड हुने छ ।’

प्रतियोगितामा २० राष्ट्रका ६०० भन्दा बढी खेलाडीको सहभागिता रहने बताइएको छ । सिनियर र जुनियरमा गरी ६५ स्वर्ण, ६५ रजत र १३० कांस्यका लागि प्रतिस्पर्धा हुनेछ । ३ पुरुष र २ महिला गरी नेपालबाट ५ खेलाडीलाई सहभागी गराइने छ ।

विगतका १२ संस्करणमध्ये अमेरिकामा ५, नेपालमा ४ तथा भारत, बेलायत र हङकङमा १-१ पटक प्रतियोगिता भएको थियो । आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार ७:५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया