लोसपा धनुषामा एकल नेतृत्वकाे माग

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपाल धनुषामा सांगठनिक संरचना कसरी बनाउने र कुन प्रक्रियाअनुसार अगाडि बढ्ने भन्ने सवालमा आन्तरिक किचलो देखिएको छ ।
 
लोसपा नेपाल धनुषाका अधिकांश नेता कार्यकर्ताहरूले शुक्रबार जनकपुरधाममा अध्यक्ष महन्थ ठाकुरसँग भेटघाट गर्दै पार्टीभित्र एकल नेतृत्व चयन गर्दै सामूहिक निर्णय प्रणालीको माग गरेका छन् ।
 
उनीहरूले राजपा रहेको बेला पार्टीभित्र ६ जना अध्यक्ष मण्डल रहेको र उनीहरूमध्येबाट एकजना नेतृत्व गरिरहेको अवस्थाजस्तै अहिले त्यो कुरा स्वीकार्य नहुने समेत बताए । 

विगतमा अध्यक्ष मण्डलमा रहेका व्यक्ति बाहेककालाई वर्तमानमा नेतृत्व प्रदान गर्न अध्यक्ष ठाकुरसँग माग गरे ।
 
लोसपा नेपालका नेता धिरेन्द्र सिंहले भने,‘विगतमा अध्यक्ष रहेका व्यक्तिलाई अब हामी नयाँ नेतृत्वमा स्वीकार्दैनौं । उनीहरूबाहेककालाई अध्यक्ष बनाउनु पर्दछ ।’ 

विगतमा अध्यक्ष मण्डलमा रहेका परमेश्वर साह, संजय सिंह, सतिश लाल दास, ज्ञानेन्द्र झा ज्ञानु र प्रमोद यादवबाहेकका नेतालाई नयाँ नेतृत्वका लागि संयोजक चयन गर्न आफूहरूले अध्यक्ष ठाकुरसँग आग्रह गरेको सिंहले जानकारी दिए । उनले पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रमोद यादवलाई आफ्नो रबर स्टाम्पको रूपमा प्रयोग गरिरहेको आरोपसमेत लगाए । 

उनले भने, ‘परमेश्वर साहले प्रमोदलाई फेरि अध्यक्ष बनाएर आफू अनूकुल काम गराउन चाहिरहेका छन् । परमेश्वरले सुरुमा स्थानीय तहको चुनाव लड्ने र संयोगवश पराजय भोगेमा फेरि प्रदेशसभाको चुनाव पनि आफूले नै लड्ने दाउ खोजिरहेको र सोही अनुरूप आफ्नो अनुकूलका मान्छेलाई उनले फेरि अध्यक्ष बनाउन चाहिरहेका छन् ।’

उनले धनुषा र महोत्तरीमा पार्टीलाई सिण्डिकेट बनाएर आफू अनुकूल चलाउन खोज्ने कुरा कदापि स्वीकार्य नहुने बताए । उनले धनुषामा पार्टीभित्रका अधिकांश नेता कार्यकर्ताहरू यसको विरोधमा रहेको समेत दावी गरे । 

सिंहले अध्यक्ष ठाकुरलाई पार्टीभित्रकै केही नेताहरूले घेराबन्दीमा पारेर एकतर्फी कुराहरू मात्र सुनाई षडयन्त्रपूर्वक प्रमोद यादवलाई फेरि जिल्ला अध्यक्ष बनाउन जालझेल गरिरहेको जिकिर गरे। 
 





  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार ९:२२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया