सुदूरपश्चिममा धमाधम सर्वसम्मतले एमालेका वडाअध्यक्ष चुनिँदै

नेकपा एमालेको आसन्न १० औं महाधिवेशनलाई लक्षित गरी वडा अधिवेशन गर्ने क्रम जारी रहेको छ । कात्तिक ६ हुन नसकेका वडाका अधिवेशनसमेत धमाधम भइरहेका छन् ।

केन्द्रमा एमाले उपाध्यक्ष भीम रावल र केन्द्रीय सदस्य झपट रावल सुदूरपश्चिममा प्रदेशमा एकलौटी तरिकाले वडा अधिवेशन सम्पन्न भएको भन्दै असन्तुुष्टि व्यक्त गरिरहेका छन् । अझै भीम रावल त सुदूरपश्चिममा वडा अधिवेशन नै भएको छैन भन्ने जस्ता अभिव्यक्तिहरू दिइरहेका छन् ।

कैलालीमा जिल्ला इन्चार्जसमेत रहेका झपट रावलले नयाँ सदस्यता वितरण भएको पार्टीको निर्णय कार्यान्वयन नभएको भन्दै संगठन विभागमा उजुरी गरेका छन् ।  

केन्द्रीय कमिटीको भदौ १० गते बसेको बैठकले २०७७ चैतसम्म पार्टी सदस्यता प्राप्त गरेको व्यक्तिमात्र चुन्ने-चुनिने अधिकार राख्ने पार्टी निर्देशन विपरीत पार्टी जिल्लाको बैठक नबसी नयाँ पार्टी सदस्यता वितरण गर्ने, त्यसरी तत्कालै अवैध रूपमा वितरण गरिएका पार्टी सदस्यहरूलाई चुन्ने चुनिने अधिकार दिइने भनी जिल्ला कमिटीको नाममा सर्कुलर जारी भएको भन्दै रावलले पार्टीको संगठन विभागमा उजुरी दिएका हुन् । 

‘नयाँ पार्टी सदस्य वितरण गर्दा जिल्ला कमिटीको बैठकले निर्णय गर्ने र प्रदेश कमिटीले अनुमोदन गरी प्रक्रिया पूरा भएका व्यक्तिहरूलाई मात्र नयाँ पार्टी सदस्यता प्रदान गर्ने, पार्टी एकता हुँदा तत्कालीन नेकपा (माओवादी केन्द्र)को १० हजार ८३७ पार्टी सदस्य र एमालेको १४ हजार ५९६ पार्टी सदस्यता रहेको विवरण पार्टी जिल्ला कमिटी कैलालीमा र पार्टी प्रदेश कमिटीलाई प्राप्त भएको थियो । सोको विवरण हाल पार्टी कार्यालय कैलाली र प्रदेश कार्यालय धनगढीमा सुरक्षित रहेको र दुई पार्टीको एकता हुँदा कायम रहेका पार्टी सदस्यहरूको नवीकरण गर्ने र अन्य नयाँ पार्टी सदस्य वितरण गर्दा पार्टीको मापदण्ड अपनाउनुपर्नेछ’, इन्चार्ज रावलले दिएको उजुरीमा उल्लेख छ ।

दुुई नेता असन्तुुष्टि पोखिरहँदा प्रदेशका जिल्लाहरूमा भने धमाधम वडा, पालिका अधिवेशन सम्पन्न भइरहेका छन् । अधिकांश ठाउँमा सर्वसम्मत तरिकाले वडा र पालिका प्रतिनिधि चुनिँदै छन् । कात्तिक पहिलो साता आएको बाढीपहिरोले केही वडामा प्रभावित भए पनि अधिकांश क्षेत्रमा सौहार्द वातावरणमा सम्पन्न भइरहेको एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले बताए ।



सचिव रावलले भने, ‘सम्पूर्ण तथ्यांक प्रदेशमा आइपुगेको छैन । कुनै जिल्लामा वडा अधिवेशन सम्पन्न भएर पालिकाको समेत सुरु भइसकेको छ ।’ 

कार्तिक १५ गतेभित्र सबै जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।



बाजुराको ६९ वडामा वडा अधिवेशन सम्पन्न भएको छ । पालिकाको पनि ३ वडामा भइसकेको छ । ९ पालिका रहेको बाजुरामा ६ वटामा बाँकी रहेको छ । दार्चुलामा ६१ वडामध्ये ५५ मा अधिवेशन सम्पन्न हुँदा दार्चुलामा पनि पालिका अधिवेशन सुरु भइसकेको छ ।

भीम रावलको गृहजिल्ला अछाममा पनि वडा अधिवेशन भइरहेका र हुने क्रममा  छन् । अछाम जिल्लाका ९१ वटा वडामध्ये हालसम्म ६० भन्दा बढी वडाको अधिवेशन भइसकेको नेकपा एमाले अछामका कार्यालय सचिव लीलाराज केसीले बताए । विभिन्न वडामा अधिवेशन भइरहेको र बाँकी वडामा कात्तिक १४ गतेभित्र गर्ने गरी तयारी अघि बढिरहेको उनले जानकारी दिए ।

मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनलाई लक्षित गरेर केन्द्रको निर्देशन अनुसार पार्टीको आधारस्तम्भका रूपमा रहेका वडा अधिवेशनबाट वडा नेतृत्व चयन गर्ने कार्यसमेत जारी रहेको एमाले कार्यालय सचिव केसीले बताए । संगठित सदस्यता नवीकरण, शुल्क संकलन, पालिका प्रतिनिधि छनौट लगायतका कार्य वडा अधिवेशनबाट भइरहेका केसीको भनाइ छ ।

पछिल्लो बेमौसमी बर्षा तथा सञ्चारमाध्यममा आएको अवरोधका कारण वडा अधिवेशनमा केही प्रभाव परे पनि आफ्नो पार्टीको चुस्त संगठनले सबै कार्य अघि बढाइरहेको कार्यालय सचिव केसीले बताए । जिल्ला सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिका-५ मा नेकपा एमालेको वडा कमिटी चयन गरिएको छ ।

हरिपाले कामीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य सिद्धप्रसाद ढुंगानाले बताए । वडा कमिटीको उपाध्यक्षमा रतन भाट, सचिवमा रुद्र बिक, उपसचिवमा सीता देवी ढुंगाना र छत्र बहादुर बोहरा निर्वाचित भएका छन् ।

यस्तै अधिवेशनबाट राष्ट्रिय युवा संघ नेपालको वडा कमिटी अध्यक्षमा भोजराज ढुंगाना निर्वाचित भएका छन् । यसैगरी पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानमा खडक बोहराको अध्यक्षतामा ३७ सदस्यीय नयाँ वडा कमिटी चयन गरिएको छ । त्यस्तै पञ्चदेवल विनायक नगरपालिका- ३ मा मदन अधिकारीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी निर्वाचित भएको छ।

मंगलसैन नगरपालिकाका हालसम्म ७ वडामा अधिवेशन सम्पन्न भएको एमाले सचिवालय सदस्य भीम बहादुर रावलले बताए । वडा नम्बर ७ र १३ का वडा अधिवेशन भएका उनले बताए । नगरमा १५ गते नगर अधिवेशन गरिने छ । यसैगरी रामारोशन गाउँपालिका–१ मलातीकोटमा रतन साउँदको ३१ सदस्यीय वडा कमिटि गठन गरिएको छ । यस्तै डडेल्धुरा र डोटी, कैलाली र कञ्चपुरमा पनि वडा अधिवेशन धमाधम भइरहेको प्रदेश कमिटीले जानकारी दिएको छ । 

  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार १३:५८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया