कोरोना महामारीका कारण हरेक क्षेत्र लामो समयसम्म बन्द रहे । मानिसहरुको भिडभाडबाट जोगिनुपर्ने भएकाले सरकारले गरेको लकडाउनलाई आमसर्वसाधारण र व्यवसायीले पनि स्वीकार गरे । कोरोना संक्रमण दर घट्दै गएपछि सरकारले विस्तारै लकडाउन खुकुलो बनाउँदै लगेर स्वास्थ्य मापददण्ड पालना गर्दै व्यवसाय सञ्चालन गर्न अनुमति दियो । अन्य क्षेत्र सामान्य अवस्थामा फर्किन थाले पनि पर्यटन क्षेत्रमा कोरोना महामारीको असर अहिले पनि उत्तिकै छ ।
विदेशी पर्यटकलाई लक्षित गरेर खोलिएका होटेल, रेस्टुरेन्टहरुले अझै पनि लय समात्न सकेका छैनन् । घाटा नै सहेर पनि एकाध विदेशी र नेपाली पाहुनाका भरमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन हुन थालेका छन् । एकातिर, पाहुना नआएका कारण व्यवसायी मारमा परेका त छन् नै, अर्कोतिर प्रहरी प्रशासनले समन्वय गरेर सहज बनाइदिनुको साटो उल्टै सास्ती दिँदा व्यवसायी मारमा परेका छन् ।
दसैँअघिको एक दिन ठमेलमा रहेको लिटिल बुद्ध रेस्टुरेन्टमा पाहुनाहरु रक्सीको चुस्कीसँगै मन्द म्युजिकको आनन्द लिइरहेका थिए । वातावरण एकदमै पारिवारिक र शान्त थियो । केही विदेशी र थोरै नेपाली पाहुना रमाइरहेका थिए । त्यतिकैमा पाँचजनाजति बुट बजार्दै माथिल्लो तलामा उक्लिए । यसो उताउति हेरे । थोरै मान्छे देखेपछि उनीहरुले मलाई बोलाए । नजिकै गएपछि एकजनाले भने, ‘ए ग्राहक त थोरै रहेछन्, तपाईंले के सहयोग गर्न सक्नुहुन्थ्यो !
उनीहरूको भनाइले मेरो दिमाग एकदमै तातेर आयो । एकातिर, आफूलाई सहयोग नै गर्न नसक्ने देखे भने अर्कोतिर आफूलाई होच्याएको जस्तो लाग्यो । यसो को रहेछन् भनेर बुझ्दा सादा पोसाकमा आएका प्रहरी रहेछन् । उनीहरू केही न केही निहुँ खोज्न आएको जस्तो लागेर म धेरै बोलिनँ ।
सादा पोसाकमा आएका प्रहरीले खर्च मागेका थिए । दुई वर्षदेखि कोरोनाले थला परेको व्यवसाय बल्ल–बल्ल उठ्न खोज्दै छ । त्यसमाथि पनि प्रहरीलाई नै पैसा दिनुपर्यो भने कसरी चलाउन सकिन्छ ? उनीहरूले पैसा माग्दा नदिएपछि विनाकारण पनि बेला–बेलामा दुःख दिने गरेका छन् ।
गृह मन्त्रालयले अहिले हामीलाई राति २ बजेसम्म सञ्चालन गर्न दिएको छ । राति मन्द म्युजिकसहित रेस्टुरेन्ट खोल्दा पनि प्रहरीले अनाहकमा दुःख दिइरहेको हुन्छ । यदि उनीहरूले भनेअनुसार पैसा दिन सकियो भने छुट दिन्थे होला । तर, अहिले त्यसरी प्रहरीलाई नै पैसा दिन थाल्यो भने भर्खर उँभो लाग्न लागेको व्यवसाय कसरी टिकाउने ?
मैले होटल व्यवसाय चलाएकै कारण प्रहरीबाट सुरक्षाभन्दा पनि दुःख र सास्ती मात्रै पाएको छु । प्रहरीको नयाँ हाकिम परिवर्तन भयो कि फेरि दुःख पाइहालिन्छ । कतिपय व्यवसायीले उनीहरूको मागअनुसार खानपिन र पैसाको व्यवस्था गर्छन् । जसले ‘व्यवस्था’ गर्यो, उनीहरूलाई व्यवसाय गर्न सहज छ ।
कोरोना महामारीपछि दसैँअघिबाट भर्खरै रेस्टुरेन्ट खोलेको थिएँ । मध्यरातको समय थियो । ठमेल क्षेत्र पनि सुनसान जस्तै थियो । विगतको माहोल हेर्दा सामान्य चहलपहल मात्र थियो । त्यही बेला सुटबुटसहित प्रहरी टोली आयो । हतियारसहितभित्र छिरेका प्रहरी आएर तर्साउन थालेपछि विदेशी ग्राहक डराउन थाले । नेपालीहरु पनि खाने कि उठेर जाने भन्नेमा अन्योलमा परे । प्रहरी टोलीको नेतृत्वकर्ताले एकदमै रुखो बोलीमा भने, ‘यति राति होहल्ला गरेर बस्ने, यसको मालिक को हो ? त्यसलाई समातेर गाडीमा हाल् ।’
माहोल एकाएक नरमाइलो बन्यो । खानपानमा मस्त रहेका ग्राहकहरू पनि उठेर हिँड्न थाले । प्रहरी भने झन्–झन् निहुँ खोज्न थाल्यो । मलाई समातेर प्रहरी वृत्त लगेर गए । एक घण्टा भित्र राखेर पछि छाडिदिए । के ठमेलमा व्यवसाय गर्नु मेरो अपराध हो ? राज्यले मलाई दिएको अधिकार प्रयोग गर्न नपाउनु ? मैले गल्ती नै गरेको भए किन एक घण्टामै छाडियो ? अपराध गरेको भए कानुनअनुसार कारबाही गरेको भए भइहाल्थ्यो नि !’
क्लबहरूमा रातभर होहल्ला हुँदा पनि प्रहरी चुप लागेर बस्छ । किनकि त्यहाँ त सबै सेटिङ मिलाइएको हुँदो रहेछ । हप्ता–हप्तामा पैसा दिन नसक्ने व्यवसायीलाई प्रहरीले मलाई जसरी नै दुःख दिइरहेको छ ।
कोरोना महामारीभन्दा अगाडिसम्म व्यवसाय राम्रोसँग चलेको थियो । मैले पनि प्रहरीलाई जे–जस्तो खान मन लागे पनि दिएकै थिएँ । त्यो बेला भने केही कुरामा पनि अवरोध गरेनन् । अहिले व्यवसाय खोलेर पनि घाटामा गइरहेको बेला कसरी उनीहरूलाई ‘हप्ता’ दिन सक्छु ? मैले राज्यलाई लाखौँ ट्याक्स तिरिरहेकै छु । राज्यले नै राम्रोसँग चलाउन दिए पो राज्यलाई पनि ट्याक्स दिन सक्छु नत्र कसरी तिर्नु ?
यसरी प्रहरीले एक दिन हैन दिनहुँ अनाहकमा दुःख दिइरहेको छ । यस विषयमा मैले ठमेल पर्यटन विकास परिषद्मा पनि कुरा राखेको थिएँ । त्यहाँ पनि खासै सुनुवाइ भएन । प्रहरीको नयाँ हाकिम आयो कि दुःख दिइहाल्छन् । यसरी हाम्रै सुरक्षा तथा कानुन कार्यान्वय गर्ने निकायबाट नै दुःख पाइन्छ भने कताबाट न्याय पाइन्छ ?
ठमेल क्षेत्रका अधिकांश होटल व्यवसायीलाई प्रहरीले बेला बेला दुःख दिइरहन्छ । बार, रेस्टुरेन्ट र क्लबहरूमा मदिरा सेवन गरेर होहल्ला गर्ने, झै–झगडा गर्नु त सामान्य जस्तै हो । यस्ता खालको समस्यालाई सुल्झाउन पनि प्रहरीलाई पैसा दिने गर्छन् । पैसा दिएन, उनीहरूले मागेको कुरा फ्रिमा खान दिएन भने सानो घटनालाई पनि ठूलो मुद्दा बनाइदिन्छन् । त्यही भएर कोही साथीहरू पनि बोल्न डराउँछन् । प्रहरी तथा सुरक्षा निकायसँग हाम्रो माग भनेको गल्ती गरेको छ भने कानुनबमोजिम कारबाही गर्दा केही फरक पर्दैन, तर अनाहकमा दुःख दिने काम चाहिँ नगर्नुहोस् ।
हामीले यही व्यवसाय गरेर आफ्नो पेट पाल्ने मात्र हैन, सयौँ मजदुरको परिवारको पनि चुल्हो बल्छ, यति मात्र नभएर राज्यलाई तिर्ने करबाटै सुरक्षाकर्मीको तलबदेखि लिएर परिवारको पेटमा पनि खाना पुग्छ । प्रहरी भनेको त रक्षक हो । तर व्यवसायी सधैँ प्रहरी देख्नेबित्तिकै डराउनुपर्ने ? प्रहरी आउनेबित्तिकै अब कस्तो खालको दुःख दिन्छन् भनेर त्रासमा बस्नुपर्ने ?
यसरी नै प्रहरीले दुःख दिइरहनुभन्दा त राज्यले नै हाम्रो व्यवसाय नै सधैँको लागि बन्द गरिदिए हुन्छ । अन्तिममा प्रहरी साथीहरूलाई मेरो एक मात्र अनुरोध छ- तपाईं आउँदा हामीलाई त्रासको वातावरण हैन सुरक्षाको प्रत्याभूति होस् ।
(खनाल ठमेलका होटल व्यवसायी हुन् ।)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।