चिसो मौसम सुरु भएको छ । यस मौसममा वायुप्रदूषण बढ्ने हुँदा श्वासप्रश्वाससम्बन्धी विभिन्न संक्रमणको खतरा हुन्छ ।
हामी पूर्णरूपमा चिसो र वायुप्रदूषणको प्रभावलाई रोक्न सक्दैनौँ । त्यसैले, यससँग लड्ने सर्वोत्तम तरिका हो, शरीरको प्रतिरक्षा वा प्रतिरोध गर्ने क्षमता बढाउनु । यदि हाम्रो प्रतिरक्षा प्रणाली वा रोग–प्रतिरोधक क्षमता राम्रो छ भने हामी बिरामी हुनबाट बच्न सक्छौँ ।
प्रतिरक्षा शक्ति वृद्धि गर्ने एक प्रमुख माध्यम सन्तुलित आहार हो । सन्तुलित आहारमा प्रत्यक्ष रूपमा प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन आदि पोषक तत्त्व समावेश हुन्छ । यसका साथै अरु विभिन्न तरिकाले प्रतिरक्षा क्षमता बढाउन सकिन्छ ।
बिहानको घाममा बस्नुहोस्
प्रतिरक्षा क्षमता बढाउनमा भिटामिन ‘डी’ को महत्वपूर्ण भूमिका रहन्छ । भिटामिन ‘डी’को सबैभन्दा राम्रो स्रोत हो, बिहानको घाम । बिहानको घाममा २० देखि २५ मिनेट बस्नाले शरीरलाई पर्याप्त मात्रामा भिटामिन ‘डी’ प्राप्त हुन्छ ।
पर्याप्त सुत्नुहोस्
राम्रो प्रतिरक्षा क्षमताका लागि कम्तीमा ७ घण्टा सुत्नु जरुरी छ । निद्राको कमीले तनाव बढाउँछ, जसले कोर्टिसोल हर्मोनको उत्पादन बढाउँछ ।
धेरै अध्ययन–अनुसन्धानबाट प्रमाणित भइसकेको छ कि, कोर्टिसोलले हाम्रो प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ ।
प्रोबायोटिक्स लिनुहोस्
हाम्रो शरीरमा यस्ता करोडौँ ब्याक्टेरिया हुन्छन्, जुन शरीरका लागि लाभदायी छन् । ब्याक्टेरिया र प्रतिरक्षा क्षमताबीच गहिरो सम्बन्ध रहन्छ ।
भोजनमा प्रोबायोटिक्सयुक्त खानेकुरा नियमित रूपमा लिँदा लाभदायक ब्याक्टेरिया बढ्नमा मद्दत पुग्छ । जसका लागि, दही र महीको सेवन गर्नु राम्रो हुन्छ ।
तुलसी, लसुन खानुहोस्, प्रशस्त पानी पिउनुहोस्
तुलसी र लसुनले हाम्रो प्रतिरक्षा शक्ति बढाउन मद्दत गर्छन् । जसले, हाम्रो शरीरलाई संक्रमणसँग लड्न सक्ने बनाउँछ । नियमित रूपमा यी वस्तु प्रयोग गर्नाले संक्रमणको सम्भावना कम हुन्छ ।
त्यसैगरी, प्रशस्त पानी पिउनाले पनि शरीरमा रहेका विषाक्त तत्व तथा संक्रमणबाट जोगिन सहयोग पुग्छ ।
नियमित व्यायाम र योग गर्नुहोस्
नियमित व्यायाम गर्दा रक्तचाप सन्तुलित हुन्छ । साथै, हामीले लिने पोषण तत्वहरू हाम्रो शरीरका सबै कोषिकाहरूमा पुग्दछन् ।
खासगरी साससँग सम्बन्धित योगले नाकको माध्यमबाट अक्सिजनको प्रवाह बढाउँछ । जसले, हाम्रो शरीरमा भएका विषाक्त पदार्थलाई कार्बनडाइअक्साइडको माध्यमबाट बाहिर निकाल्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।