भारतले आगामी वर्षसम्म पाँच अर्ब डोज कोरोना भ्याक्सिन बनाउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी वर्षको अन्त्यसम्ममा भारतले पाँच अर्ब डोज कोरोनाविरुद्धको भ्याक्सिन बनाउने बताएका छन् । शनिबार रोममा आयोजित जी- २० देशहरुको सम्मेलनलाई सम्बोधन गर्दै मोदीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री मोदीको कार्यक्रमबारे मिडियालाई जानकारी दिँदै विदेश सचिव हर्षवर्धन शृंगलाले अन्तर्राष्ट्रिय यात्राको सुविधा दिन र भ्याक्सिन लगाएको प्रमाणपत्रको आधारमा मान्यता दिने प्रणाली निर्माणमा समेत जोड दिएको जानकारी दिए । 

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले भारतमा बनेको कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगका लागि स्वीकृति दिन ढिलाइ गरेको मोदीले बताएका थिए । छिटो स्वीकृति दिएका खण्डमा भ्याक्सिन अन्य देशमा समेत पठाउन सकिने उनको भनाइ थियो ।

संयुक्त राष्ट्र संघको स्वास्थ्य निकाय प्रविधि सल्लाहकार समूहको नोभेम्बर ३ मा बैठक बस्दै छ । उक्त बैठकमा कोभ्याक्सिन प्रयोगको स्वीकृति दिनेबारे छलफल हुने बताइएको छ । 

भारत बायोटेकको कोभ्याक्सिन र अस्ट्राजेनेका तथा अक्सफोर्ड विश्वविद्यालय निर्मित कोभिसिल्ड भारतमा अधिक प्रयोग हुँदै आएको छ ।

कार्यक्रममा मोदीले महामारीका क्रममा १५० देशलाई चिकित्सा सामग्री आपूर्ति गर्न तथा विश्व आपूर्ति शृंखलालाई जोगाउन भारतको महत्वपूर्ण योगदान रहेको बताए । शृंगलाका अनुसार मोदीले यस्तो टिप्पणी जी-२० बैठक अन्तर्गतको ‘वैश्विक अर्थव्यवस्था र वैश्विक स्वास्थ्य’ सत्रमा गरेका थिए । 



मोदीले लचिलो वैश्विक आपूर्ति शृंखलाको पक्षमा आफ्नो धारणा राखेका थिए । उनले भारतले साहसिलो आर्थिक सुधार गरिरहेको र जी-२० देशहरु भारतको आर्थिक उभार तथा आपूर्ति शृंखलामा विविधिकरणको साझेदार बन्न आह्वानसमेत गरे ।

शृंगलाका अनुसार, मोदीले सम्बोधनका क्रममा महामारीविरुद्धको लडाइँ र भविष्यको वैश्विक स्वास्थ्य समस्याको पृष्ठभूमिमा ‘एक धर्ती, एक स्वास्थ्य’ दृष्टिकोण प्रस्तुत गरेका थिए ।
 



  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार ११:६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया