वकिल र न्यायाधीश आन्दोलनमा, बन्दीका चार मुद्दा आज पनि अलपत्र

सर्वोच्च अदालतमा झन्डै एक सातादेखि अवरुद्ध मुद्दा सुनुवाइ आज पनि ठप्प भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालतका १९ न्यायाधीश र नेपाल बार एसोसिएसन विरोधमा उत्रिएका कारण सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणका मुद्दासमेत अलपत्र परेका छन् । 

आन्दोलनरत न्यायाधीशहरूले आइतबारबाट बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गर्ने बताए पनि ११ः३० बजेसम्म बन्दीका रिट सुनुवाइ गर्न न्यायाधीशहरू इजलास गएका छैनन् । 

कानुन व्यवसायीहरू प्रधानन्यायाधीशको पक्ष र विपक्षमा बाँडिएर कालो र सेता कपडा बाँधेर सर्वोच्च परिसरमा आन्दोलनमा उत्रिएका छन् भने आन्दोलनरत न्यायाधीश आज पनि आन्तरिक छलफल भन्दै एक ठाउँ भेला भएर छलफल गरिरहेका छन् । 

प्रधानन्यायाधीश जबराले उपस्थित सबै न्यायाधीशका लागि कजलिस्ट (मुद्दा सुनुवाइको सूची) सार्वजनिक गरेका छन् । बुधबार र बिहीबार बन्दीका समेत रिट आफ्नो एकल इजलासमा राखेर सुनुवाइ गरेका जबराले आज आफ्नो इजलासमा बन्दीका रिट सुनुवाइका लागि राखेका छैनन् । 

न्यायाधीश कुमार रेग्मीको इजलासमा एउटा र न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा बैंकिङ कसुर अभियोगमा कारागारमा रहेका कमल ज्ञवालीको बन्दीप्रत्यक्षीकरण रिटको पेसी तोकिएको छ।  



न्यायाधीशद्वय हरिकृष्ण कार्की र सपना प्रधान मल्लको इजलासमा समेत एउटा बन्दीका रिट सुनुवाइका लागि तोकिएको छ । सुनसरीको झुम्कास्थित कारागारलाई विपक्षी बनाएर पुष्पराज गुरुङले दायर गरेको रिट सो इजलासमा छ । तर न्यायाधीशहरू हालसम्म यी सवै निवेदनमा सुनुवाइका लागि इजलास गएका छैनन् । 

बहस बहिष्कारको घोषणा गरेको नेपाल बारसमेत प्रधानन्यायाधीशबाहेकको इजलासमा बहस गर्न जाने निर्णयसहित कालोपट्टी बाँधेर अदालत परिसरमा भेला भएका छन् । तर न्यायाधीशहरू इजलास नजाँदा सात दिनदेखि गैरकानुनी थुनामा बसेको दाबीसहित विचाराधीन रिट अलपत्र छ । 



-न्युज कारखाना
 

  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार १२:१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया