\
पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणीसमेत उनले गरे ।
‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको आइतबार काठमाडौंमा एक कार्यक्रमबीच विमोचन गर्दै उनले सरकारलाई प्रश्न गरे– न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्नुपर्दैैन ?
न्यायालय बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमण गरेर नेपालको शिर निहुर्याएको पूर्वराष्ट्रपति यादवको ठहर छ । सारा न्यायाधीश, नेपाल बार, कानुनविद्हरु एक ठाउँमा रहेका बेला पनि राजीनामा दिन्न भनेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कसको आडमा भनेको भन्दै यादवले राजनीतिक दलमाथि प्रश्न तेस्र्याएका छन् । उनले भने, ‘न्यायालयमा सारा न्यायाधीशहरु एकातिर छ । बुद्धिजीविहरु एकातिर छ । संविधानविद्हरु, कानुनविद्हरु एकातिर छ । यस्तो अवस्थामा प्रधानन्यायाधीश भन्छ कि म छोड्दिन । केही नभए पनि एक्लै बेन्चमा बस्छ । कसको तागतमा ?’
सरकार देशको प्रथम प्रतिनिधि भएकाले सरकारले आफ्नो ट्रयाक टू डिप्लोमेसीबाट न्यायका प्रतिष्ठित व्यक्ति, कानुनविद्सँग सल्लाह गरेर ती समस्यालाई हल गर्नुपर्नेमा उनले जोड दिए । उनले थपे, ‘आज संसारको सामुन्ने न्यायालयको अवस्था यस्तो छ । यस्तो अवस्थामा हामी संसारको सामुन्ने टाउको देखाउन सक्छौँ ?’
पूर्वराष्ट्रपति यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति पनि असन्तुष्टि जनाए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा राष्ट्रपति भण्डारीले साथ दिएकोमा उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
संविधानको कार्यान्वयन गर्न दलहरु गम्भीर नभएकोमा पूर्वराष्ट्रपति यादवले चिन्तासमेत व्यक्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।