काठमाडाैं- सुन व्यवसायीहरूले पछिल्लो समय पैसा कमाउने नयाँ धन्दा सुरु गरेका छन् । व्यवसायीले सर्वसाधारणसँग महँगो ब्याज दिने प्रलोभनमा पारेर सर्वसाधारणसँग पैसा लिइरहेका छन् ।
खासगरी देशको पूर्वी क्षेत्रमा यो व्यवसाय फस्टाएको छ । पूर्वका धरान, इटहरी, धनकुटा, दमक, बिर्तामोडलयाएतका सहरहरूका साथै गाउँमा पनि व्यवसायीले पैसा लिने यो उपाय अपनाएका हुन् । प्रतिष्ठित सुन व्यापारीहरूले धेरै ब्याज दिने भएपछि सर्वसाधारण पनि लोभिने गरेका छन् ।
बैंकमा बचत गर्दा बढीमा ७ प्रतिशत ब्याज दिन्छ, तर उनीहरूले ३६ प्रतिशतसम्म ब्याज दिने भएपछि मानिस बैंकमा राखेको पैसासमेत निकालेर यस्ता व्यापारीलाई दिइरहेका छन् । तर, सर्वसाधारणले आफ्नो पैसा फिर्ता माग्न थालेपछि उनीहरू तर्किने गरेका छन् ।
महँगो ब्याजदरमा धेरै पैसा कमाउने सपना पालेका कतिपय सर्वसाधारणका लागि भने त्यही ब्याजदर पासो भएको छ । उनीहरूका लागि लोभले लाभ लाभले विलाप भएको छ । त्यो पैसा कहाँ लगानी गर्छन् सुन व्यापारी ?सामान्यतया यस्ता व्यापारीले संकलन गरेको पैसा अनुत्पादक क्षेत्रमा खर्च गरिरहेका छन् ।
उनीहरूले घरजग्गा किन्नमा नै खर्च गरिरहेका छन् । यस्तै, केही पैसा मोजमस्तीमा उडाउन गरेको पनि बुझिन्छ । जग्गाको मूल्यमा भएको वृद्धिको पैसाबाट नै उनीहरूले ब्याज तिरिरहेका छन् । पछिल्लो समय सर्वसाधारण आफूले दिएको पैसा फिर्ता माग्न आए भने ती व्यापारीहरूबीच संकट उत्पन भएको छ । उनीहरूले लिएको पैसा विभिन्न घरजग्गामा लगानी गरेका छन् । बचत गर्नेहरू पैसा फिर्ता लिन आएपछि पैसा कसरी दिने ?
बचतकर्ताले पैसा फिर्ता गर्न दबाब दिएपछि भने उनीहरू पैसाबराबरको जग्गा वा घरको अफर गरिरहेका छन् ।सस्तो मूल्यमा किनिएको जग्गामा उनीहरू सर्वसाधारणलाई भिडाएर नाफा गर्न खोजिरहेको जस्तो पनि कतिपयको बुझाइ छ । जग्गा वा घर लिन नचाहने सर्वसाधारणलाई भने पैसा नदिएर थप समस्यामा पार्ने गरेका छन् ।
कानुनी रूपमा बढी ब्याजदरमा पैसा दिन पाइन्छ ?नेपाल राष्ट्र बैंक ऐनको परिच्छेद ९ अनुसार कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले कुनै पनि प्रकारको निक्षेप लिन वा कर्जा दिन बैंकबाट तोकिएको स्वीकृति लिनुपर्ने व्यवस्था छ । ऐनमा बैंकले तोकिएबमोजिमको आवश्यक सर्तसमेत पालना गर्नुपर्ने हुन्छ ।
यसरी बैंकको स्वीकृतिमा खोलिएका संस्था वा व्यक्तिहरू भएमा पनि राष्ट्र बैंकले बनाएको ब्याजदरसम्बन्धी नियमहरू स्वीकार्नुपर्ने कानुनी व्यवस्था छ ।तर, कुनै पनि बैंकसँग स्वीकृति नलिई मनोमानी ढंगले धेरै ब्याज दिन्छु भनेर पैसा संकलन गर्नु गैरकानुनी हो ।
अझै उनीहरूले अत्यधिक रूपमा दिएको ब्याजदार पनि गैरकानुनी नै हो ।अर्थतन्त्रमा यसको कस्तो प्रभाव ?पछिल्लो समय बैंकहरूले तरलताको अभाव भोगिरहेका छन् । बैंकमा कर्जा लिन आएका ऋणी बैंकमा बचत नभएको कारण खाली हात फर्किरहेका छन् । यसरी सुन व्यापारीहरूको चलखेल पनि बैंकमा तरलता अभावको एक कारण रहेको विज्ञहरू बताउँछन् । नेपाल राष्ट्र बैंकका एक कर्मचारीका अनुसार व्यापारीबाट बढी ब्याज पाउने भएपछि सर्वसाधारणले बैंकमा सुरक्षित राखेको पैसासमेत निकालेर उनीहरूलाई दिएका छन् । यसले गर्दा यता बैंकमा लगानीयोग्य रकमको अभाव भएको छ भने अर्काेतिर बचत गरेका सर्वसाधारण दिएको पैसा नउठेर अर्काे समस्यामा छन् ।
यसरी मोटो रकम अनुत्पादक क्षेत्रमा लगानी हँुदा त्यसले अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारिरहेको हुन्छ । यसले कुनै रोजगारिका अवसर सिर्जना पनि गरिरहेको हँुदैन । अनौपचारिक क्षेत्रमा भएको यस्तो कारोबारले उत्पादन नगर्ने हुनाले ठूलो रकम होल्ड भएको छ । यसले अर्थतन्त्रलाई गतिशील पनि बनाउँदैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।