कर्णालीका तीन मन्त्रीको पदावधि सोमबार सकिने

कर्णाली प्रदेशका तीन मन्त्रीको पदावधि सोमबार सकिने भएको छ । एमाले नफुट्दै फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका उनीहरुलाई पार्टीले सांसदबाट हटाएको छ । 

गत वैशाख ३ मा मुख्यमन्त्री शाहीले विश्वासको मत माग्दा उनीहरुले मत दिएर सरकार जोगाइदिएका थिए । एमालेको कारबाहीबाट सांसद पद गुमाएका मन्त्रीहरु अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही सरकारबाट बाहिरिने भएका हुन्। 

सांसद पदमा नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था छ । वैशाखमा फ्लोर क्रस गरेपछि एमालेले उनीहरुलाई जेठमा कारबाही गरेको थियो । सो कारबाहीलाई सर्वोच्च अदालतले सदर गरेपछि उनीहरु सांसदबाट पदमुक्त बनेका थिए।

पदमुक्त मन्त्रीहरुको स्थानमा एकीकृत समाजवादीले तीन नयाँ अनुहारलाई मन्त्री नियुक्त गर्ने तयारी गरेको छ । मन्त्रीका लागि समाजवादीले चन्द्रबहादुर शाही, देवी ओली र पदमबहादुर रोकायाको नाम पठाउने तयारी गरेको बुझिएको छ । यद्यपि, अहिलेसम्म औपचारिक निर्णय भएको छैन । 

हाल कर्णाली प्रदेशसभामा ३५ जना सांसद छन्। जसमध्ये नेकपा (एमाले) १३, नेकपा (माओवादी केन्द्र) १२, नेपाली कांग्रेस ६, नेकपा (एकीकृत समाजवादी) ३ र राप्रपाका एक सांसद छन् । 





  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार २०:५५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया