दलहरूको मौनतामा अधिवक्ताहरूको आक्रोश

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरूले न्यायालयमा भएका बेथितिविरुद्ध राजनीतिक दलहरू मौन बसेको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

कार्यपालिकासँग मिलेर राजनीतिक भाग खोजेकोसहितका आरोप लगाएर प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ । 

आइतबारबाट हातमा कालो पट्टी बाँधेर विरोधमा उत्रिएका कानुन व्यवसायीहरूले सोमबार दलका नेताहरूको मौनताप्रति आक्रोश व्यक्त गरेका हुन् । 

आन्दोलनमा आफूहरूको व्यक्तिगत स्वार्थ नभएर न्यायपालिकाको सुधारका लागि संघर्ष गर्नुपरेका बताएका वरिष्ठ अधिवक्ता  बद्रीबहादुर कार्कीले माइतीघरमा नारा लगाएर मात्रै न्यायालयमा सुधार नहुने बताए । 

‘माइतीघरमा नारा लगाएर हुँदैन । हाम्रो व्यक्तिगत स्वार्थ छैन । न्यायपालिकाको सुधारका लागि हो । व्यक्तिगत रूपमा आफ्नो प्रधानन्यायाधीशसँगको कुनै विरोध होइन । उहाँले प्रधानन्यायाधीशका रूपमा मनलाग्दी गर्न पाउनुहुन्न, यसैका लागि हाम्रो संघर्ष हो’, उनले भने । 

वरिष्ठ शतिशकृष्ण खरेलले न्यायालयको सुधारका विषयमा दलहरू मौन बसेको आरोप लगाए । दलहरूको मौनताले ठूलो मूल्य चुकाउनु पर्ने भन्दै उनले भने, ‘दुःखद् कुरा दलहरू बोल्न सकेनन् । मूल्य चुकाउनुपर्छ ।’ 



प्रधानन्यायाधीशको जबराको राजीनामा नै सम्मानजनक बहिर्गमन रहेको वरिष्ठ अधिवक्ता खरेलले बताए । आफू सम्माजनक बिदाइ हुन चाहेको प्रधानन्यायाधीश जबराले दिएको सन्देशप्रति लक्षित गर्दै खरेलले भने, ‘सहज सम्मान बहिर्गमन राजीनामा नै हो । सहजतापूर्वक निकासा दिनुपर्छ ।’ 

उच्च अदालत बार एसोसिएसनका अधिवक्ता रामचन्द्र सिम्खडाले अदालतभित्रको विकृति अन्त्य गरेरै छाड्नुपर्नेमा जोड दिए । ‘अदालतभित्र रहेको विकृति विसंगति अन्त्य गर्न बारले जेहाद छेड्छ । भाग खोज्ने कार्य चल्दैन’, उनले भने। 



दलहरू कमजोर भएका बेला प्रधानन्यायाधीश जबराले राजनीतिक भागबण्डा खोजेको आरोप लगाएका अधिवक्ता सिम्खडाले न्यायापालिका निडर हुन प्रधानन्यायाधीशले राजीनामा दिनुपर्नेमा जोड दिए । 
  
उनले भने,‘दलहरू कमजोर भएका बेला भाग खाेज्ने कुरा जायज छैन । न्यायपालिका निडर हुन प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ ।’

अदालतमा भइरहेका गतिविधिप्रति दलहरूले कानमा तेल हालेर बसेको सिम्खडाको भनाइ छ । ‘अदालतमा आगो लागेका बेला दलहरू कानमा तेल हालेर बस्न होइन । आगो निभाउने हो । प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी रहन्छ।’ 

-न्युज कारखाना

  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार १२:५३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया