काठमाडौं– पोखरामा जारी पहिलो पोखरा प्रिमियर लिग (पिपिएल) को फाइनलमा पोखरा पल्टन र चितवन राइनोज भिड्ने भएका छन् । आइतबारको खेलमा हुलास काठमाडौं रोयललाई ६ विकेटले हराएपछि चितवन राइनोजले पोखरासँगको भेट पक्का गरेको हो ।
यसअघि, तालिकाको शीर्ष स्थानमा रहँदै पोखरा फाइनलमा प्रवेश गरेको थियो ।
आइतबारको एलिमिनेसनमा टस जितेर ब्याटिङ रोजेको काठमाडौंले सबै विकेट गुमाउँदै ९४ रन बनाएको थियो । ९५ रनको झिनो लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको चितवनले १० बल बाँकी छँदै लक्ष्य भेट्टायो ।
चितवनका सुमित पटेलले ३८, हरिशंकर शाहले २६ तथा अरिफ शेखले नटआउट २० रन जोडे ।
काठमाडौंका सुसन भारीले ३ तथा पवन सर्राफले १ विकेट लिए । अन्य बलर भने सफल हुन सकेनन् ।
कप्तान ज्ञानेन्द्र मल्लले ३० तथा जयकिसन कोल्सावालले २५ रन बनाए पनि अन्य ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न नसक्दा काठमाडौंले दुई अंकाको टोटलमै चित्त बुझउनुपर्यो, जुन चितवनका लागि सहज लक्ष बन्यो ।
काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा चितवनका सन्नी पाटेलले ३ विकेट लिए । यस्तै, भुवन कार्की र सुमित पन्तले समान २ तथा करण केसीले १ विकेट लिए ।
पोखरा र चितवनबीचको फाइनल खेल मंगलबार पोखरा रंगशालामा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।