त्रिभुवन विमानस्थलको पिसिआरमा स्टार अस्पतालको मनोमानी, सरकारी नियम नमान्दा यात्रुहरुको बिचल्ली

स्टार अस्पतालले विमानस्थलमा विदेश जाने यात्रुहरुको कोरोनाभाइरसको परीक्षण र्यापिड आरटी पिसिआर टेस्टमा मनोमानी गर्दा दर्जनौँ यात्रुहरु समस्यामा परेका छन् । 

यसअघि त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रुहरुको पिसिआर टेस्टमा जथाभावी शुल्क असुल्ने गरिएको भन्दै सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले विमानस्थलमा गुनासो आएपछि सरकारले विमानस्थलमा यात्रुहरुको पिसिआर गर्दा १२ सयभन्दा बढी नलिन निर्णय गरेका थिए ।

त्यसपछि त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले आइतबार नै त्रिभुवन विमानस्थल परिसरमा रहेका पिसिआर ल्याबहरुलाई यो निर्देशनसहितकाे पत्र  पठाएको थियो ।

तर, सोमबार विहानैदेखि स्टार अस्पतालको ल्याबले विमानस्थलमा यात्रुहरुसँग २ हजार लिएर नै पिसिआर टेस्ट गर्न थाल्यो ।

यात्रुहरुसँग पिसिआरका लागि लिइएको शुल्कको निरिक्षणमा स्टार अस्पतालले ठगी गरेको भेटिएपछि उसलाई विमानस्थल सुरक्षा प्रहरी र अन्य निकायले कारवाही गर्ने चेतावनी दिए ।

‘त्यसपछि स्टार अस्पतालले बढी लिएको ८ सय रुपैयाँ फिर्ता त गर्यो,’ विमानस्थलमा स्टार अस्पतालको मनोमानीका कारण बिचल्लीमा परेका एक यात्रुले फरकधारलाई भने, ‘यसले गर्दा हाम्रो विमान डिले भएको छ । हामीसँग ठगिएको पैसा फिर्ता माग्दा पनि स्टारले सम्मानित तरिकाले दिएको छैन ।’



विमानस्थलमा खटिएका एक सुरक्षाकर्मीले पनि फरकधारसँग भने, ‘हामीले पहिले नै यसरी बढी पैसा असुल्न पाइँदैन भन्दा स्टार अस्पतालले मानेन । माथिल्लो निकायका नेताहरुसँग आफ्नो पहुँच भएको भन्दै उसले विमानस्थल परिसरमा नै सोझासाझा नेपाली नागरिकलाई ठग्न खोजेको थियो । तर, हामीले यात्रुहरुलाई ठगी हुन दिएनौँ ।’

विमानस्थलमा भएका अन्य प्रयोगशालाहरुले आइतबार सरकारी निर्देशनअनुसार १२ सय लिएर पिसिआर गरिरहँदा स्टार अस्पतालले चाहिँ ‘माथिको लिंक’को बल देखाउँदै बढी पैसा असुलेको थियो ।



‘अरु सबैले सरकारी नियम मान्नु पर्ने, स्टारले मान्नु पर्दैन जस्तो गरेको थियो,’ विमानस्थलमा कार्यरत एक कर्मचारी भन्छन्, ‘उनीहरुले गर्दा आज अन्तर्राष्ट्रिय उडानहरु डिले भएका छन् ।’ उनले स्टारका सन्चालकले सरकारले नै लगाएको नियम मान्न नखोजेको बताएका छन् ।

‘अरु अधिकांश ल्याबले १२ सय रुपैयाँ लिएको पिसिआर टेस्टका लागि स्टारले २ हजार लिएपछि उसलाई तत्काल कारबाही गरेर बढी पैसा फिर्ता गर्न लगाइएको हो,’ ती अधिकारीले फरकधारसँग भने ।

अर्कोतिर स्टार अस्पतालका सन्चालकमध्येका एक गोविन्द अकेला चाहिँ हिजोसम्म आफूहरुले २ हजार लिएको र अहिले कुनै कारणविनै १२ सय लिनु उपयुक्त नभएको बताउँछन् ।

‘हामीले २ हजार लिएका थियौँ,’ उनले भने, ‘पछि भित्र जाँच भएपछि हामीले पैसा फिर्ता गरिहाल्यौँ ।’ 

उनले स्टारले मात्र नभएर अन्य ल्याबले पनि आज २ हजार लिएको र सरकारले ल्याएको नियमबारे आफू बेखबर भएकोसमेत बताए । ‘आज क्रिस्टल ल्याबले मात्र १२ सयमा पिसिआर गरेको थियो,’ अकेलाले भने, ‘आइतबारको सरकारी नियम क्रिस्टल ल्याबले मात्र मानेको हो, अरु सबैले त २ हजार नै लिएका थिए ।’

आइतबार नै तपाईंहरुलाई सरकारले पत्र पठाएको थियो नि भन्ने प्रश्नमा उनले भने, ‘ख्वै मलाई त थाहा नै भएन । तर, हामीले आज पहिले धेरै लिए पनि अहिले फिर्ता गरिसक्यौँ, यो त्यस्तो इस्यु नै होइन ।’

पिसिआर गर्दा बढी शुल्क लिएपछि फिर्ता गर्नका लागि स्टारकाे ल्याबअगाडी लाइन लागेका त्रिभुवन विमानस्थालमा यात्रुहरु । यसले त्यहाँ दर्जनाैँ यात्रु बिचल्लीमा परेका छन् ।

यसअघि पनि बारम्बार बदमासी गर्दै आइरहेको छ स्टार

शक्तिकेन्द्रको आडमा स्टार अस्पतालले कोरोनाभाइरस संक्रमण नेपालमा फैलिन थालेपछि यस्तो मनोमानी गरेको यो पहिलो पटक होइन । उसले यसअघि पनि सरकारी नियम अटेर गर्ने, मनोमानी ढंगमा शुल्क निर्धारण गर्ने र लिने काम गर्दै आएको थियो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा स्टार अस्पतालले स्वास्थ्यमन्त्री र अन्य नेताहरुलाई प्रभावमा पारेर विदेश यात्रा गर्ने यात्रुहरुको पिसिआरको ठेक्का आफूले लिएको थियो । 

यसको व्यापक आलोचना भएपछि सरकारले स्टारको एकलौटीमाथि अंकुश लगाएको थियो ।

 

स्टारको पिसिआरबाट गएका १४ यात्रुलाई कोरोना पोजेटिभ देखियो, फ्लाइ दुबईलाई युएईको उड्ड्यन विभागले कारवाही गर्यो

स्टारले सोझा नेपाली जनतालाई विमानस्थलमा ठगी गरेको यो पहिलो पटक होइन । उसको पिसिआरमाथि पनि केही समयदेखि आशंका गर्न थालिएको छ ।

केही दिनअघि मात्र स्टारबाट पिसिआर परीक्षण गरेर फ्लाइ दुबईको विमानबाट यात्रा गरेका १४ यात्रुको रिपोर्ट दुबई विमानस्थलमा पोजेटिभ आएपछि फ्लाई दुबईलाई युएई नागरिक उड्ड्यन विभागले कारवाही समेत गरेको थियो ।

‘त्यति धेरै यात्रुको पोजेटिभ आएको भन्ने त मलाई थाहा नै छैन,’ अकेलाले भने, ‘हुनसक्छ । तर, मलाई थाहा भएन ।’ उनले यस विषयमा आफूले थप केही नबोल्ने पनि बताए । तर, यसबारे जवाफ दिने स्टार अस्पतालको जिम्मेवार अधिकारी को हो त भन्ने उत्तर पनि उनीसँग छैन ।

आइतबारको सरकारी निर्देशनलाई पालना नगरेको भन्दै सरकारी निकायले चाहिँ स्टार अस्पताललाई कारवाही गर्ने तयारी गरेको छ ।
 

  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार २१:३९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया