विदेशी सम्बन्धनका कलेजकाे मनाेमानी: विदेशी विश्वविद्यालयको पढाई नेपालमै, तर पढ्न विदेशिनेको लर्को उस्तै

नेपालबाट हरेक वर्ष ५० हजारको हाराहारीमा विद्यार्थीहरु पढ्न विदेश जान्छन् । विगत आठ वर्षमा साढे तीन लाख नेपाली विदेशमा अध्ययनका लागि गइसकेका छन् । विदेशमा गएर पढ्नुका साथै कमाई पनि गर्न पाइने भएपछि पछिल्लो समय धेरै विद्यार्थीको रोजाईमा विदेश पर्न थालेको हो । 

विदेश पढ्न पाइने पाठ्यक्रम नै नेपाल पढाइन्छ । तरपनि धेरै विद्यार्थीहरूको रोजाई विदेश नै हुन्छ । 

विश्वका नाम चलेका विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा ८५ वटा शिक्षण संस्थाले शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

स्नातक र स्नातकोत्तरमा विदेशी सम्बन्धनप्राप्त शिक्षण संस्थाले विदेशी विश्वविद्यालयकै पाठ्यक्रमअनुसार पठनपाठन गर्दै आएका छन् । यतिसम्म कि विश्वविद्यालयकै सेड्युअल अनुसार नै पठनपाठन मात्र नभएर परीक्षा समेत एकै समयमा गर्छन् । 

परीक्षामा सुरपरिवेक्षणका लागि समेत विश्वविद्यालयबाट प्रतिनिधि खटिने गरेका छन् । नेपालबाट बाहिर गएर महंगो शुल्क तिरेर पढ्नुपर्ने बाध्यता कम गर्न त्यही शिक्षा नेपालमै पढाउन थालियो । तरपनि धेरै विद्यार्थीको रोजाई विदेश नै हुने गरेको छ । 

नेपालमा गत वर्ष १९ हजार विद्यार्थीले विदेशी सम्बन्धन प्राप्त शिक्षण संस्थामा अध्ययन गरेका छन् । सन् २०१९ मा भने ३५ हजारभन्दा बढी विद्यार्थी ति शिक्षण संस्थामा पढेका थिए । त्यही वर्ष ६३ हजार २५९ विद्यार्थीले विदेश पढ्नका लागि ‘नो अब्जेक्सन लेटर’ लिएका थिए । 



विदेशमै पढाई हुने विषय नेपालमै उपलब्ध भएपछि विदेश जानेदर कम हुनुपर्ने हो । तर, त्यसको ठीक उल्टो भइरहेको छ । देशको बौद्धिक वर्ग अध्ययन गर्ने बहानामा विदेश जाने तर नफर्किने प्रवृत्ति पनि बढ्दो छ । यसरी विदेश जान थालेपछि एकातिर देशको ठूलो अर्थतन्त्र विदेश पुग्छ भने अर्कोतिर देशको दक्ष जनशक्ति पनि विदेशिन पुग्छ । 

नेपालबाट अस्ट्रेलिया, जापान, नर्वे, पोर्चुगल, अमेरिका, क्यानडा लगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जाने गरेका छन् । सबैभन्दा बढी अस्ट्रेलिया जाने गरेका छन् भने दोस्रोमा जापान रहेको छ । 



नेपालमा पनि सरकारी तथा निजी क्षेत्रबाट शिक्षामा ठूलो लगानी भए पनि विद्यार्थीको विदेश मोहमा भने कमी आउन सकेको छैन । वैदेशिक अध्ययनका लागि जानेहरूले कलेजको पढाई तथा बसोबास गरेर कम्तिमा पनि २० देखि २५ लाख खर्च गर्छन् । विदेश गएर पढ्नुपर्ने विषय नेपालमै पढ्न पाइदा पनि विदेशिनेको लर्को नघट्नु शिक्षा क्षेत्रको चिन्ता र चुनौतीको विषय भएको शिक्षाविद् प्रा.डा. विश्वनाथ कोइराला बताउँछन् । 

नेपालबाट जाने विद्यार्थीहरू पढाई सँगसँगै कमाई गर्नका लागि विदेश जाने गरेको उनको भनाइ छ । नेपालको शिक्षा प्रणाली नै धेरै पुरानो भएकाले पनि विद्यार्थीहरू विदेश नै रोज्ने गरेको उनी बताउँछन् । 

‘कलेज त छ तर, के गर्नु पढाई प्रणाली नै असाध्यै पुरानो भयो । त्यसले गर्दा विद्यार्थीहरूको रोजाई विदेश परिरहेको छ’, उनले भने, ‘विदेशी सम्बन्धनबाट खुलेका कलेजहरूले पनि विद्यार्थीलाई आकर्षण गर्न सकिरहेका छैनन् । त्यसका लागि कलेजहरूले सोच्नुपर्ने बेला आएको छ ।’

विद्यार्थीलाई वैदेशिक अध्ययनमा जानबाट रोक्न लागि सार्वजनिक कलेज र विश्वविद्यालयको शिक्षा प्रणाली सुधार गर्नुपर्ने उनको भनाइ छ । 

एकातिर विदेशी सम्बन्धनप्राप्त शिक्षण संस्था खुल्ने क्रम बढ्नु र अर्कोतिर विदेश जाने क्रम पनि बढ्नुमा शिक्षा मन्त्रालयकै कमजोरी रहेको हिसान उपाध्यक्ष युवराज शर्माको भनाई छ । 

‘विदेशकै पढाई यहीँ हुने भएपछि विदेश जाने विद्यार्थी त घट्नुपर्ने हो नि ! तर, ठ्याक्कै उल्टो भइरहेको छ’, उनले भने, ‘यसमा शिक्षा मन्त्रालय नै दोषी छ । त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेतिर ध्यान दिन सकेको छैन । मन्त्रालय कडाईका साथ एक्सनमा उत्रियो भने क्षणभरमै समस्याको समाधान गर्न सकिन्छ ।’ 
विदेशी सम्बन्धनबाट खुलेको शिक्षण संस्था शैक्षिक परामर्श संस्था जस्तै बनेको उनको आरोप छ । 

‘अहिले विदेशी सम्बन्धन प्राप्त शिक्षण संस्था त केबल नाम मात्रका छन् । तिनीहरूले दिने शिक्षाको गुणस्तर सरकारी विद्यालयको भन्दा पनि तल्लो स्तरको छ । अनि कसरी विद्यार्थीको आकर्षण हुन्छ । विद्यार्थीबाट शुल्क बढी लिने तर, पढाईको लेभल भने तल्लो स्तरको गराएपछि हुन्छ ?’, शर्माले प्रश्न गरे । 

शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखाका उपसचिव लक्ष्मीकुमार खड्काले भने नेपालीहरूमा बढ्दो इच्छा आकांक्षाका कारण यस्तो अवस्था सिर्जना भइरहेको बताए । 

याे पनि पढ्नुहाेस्–

मन्त्री र उच्च अधिकारीको मिलमतोमा हुँदैन विदेशी सम्बन्धनप्राप्त कलेजको अनुगमन

विदेशी सम्बन्धनप्राप्त कलेजमा छात्रवृत्ति कार्यान्वनयमा समस्या, अन्यौलमा शिक्षा मन्त्रालय

विदेशी सम्बन्धनको नाममा नेपालमा कलेजहरु गर्दैछन् मनोमानी

विदेशी सम्बन्धनको नाममा नेपालमा कलेजहरु गर्दैछन् मनोमानी

 

  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार ८:३६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया