कसले बिगार्‍यो पृथ्वीको वातावरण? धनीहरूले !

२०१८ मा सेफान गास्लिङ र उनको टोलीले महिनौंसम्म पेरिस हिल्टनदेखि ओपेरा विन्फ्रेजस्ता धनी मानिसलाई तिनको सोसल मिडिया प्रोफाइलमा खेदिरह्यो । स्विडेनको लाइनेस विश्व विद्यालयमा टुुरिज्म विषयका प्राध्यापक गास्लिङ जान्न चाहन्थे, यी धनी मानिस हवाई जहाजमा कति यात्रा गर्छन् ।

उनले पत्ता लगाए, यस्तो यात्रा निकै हुने गर्छ । बिल गेट्स संसारभर पर्यावरण बिग्रँदै गएकोमा निकै चिन्ता गर्छन्, उनले नै २०१७ मा ५९ पटक हवाई यात्रा गरेका थिए । गास्लिङले के पत्ता लगाए भने, बिल गेट्सले ३४३,५०० किलोमिटर यात्रा गरेका थिए । यो दूरी आठ पठक संसारलाई चक्कर लगाए बराबर हो । र, यसले १६०० टन ग्रिनहाउस ग्यास उत्सर्जन हुन पुग्यो । यो औसतमा १०५ जना अमेरिकी नागरिकले वर्षदिनभरिमा गर्ने यात्राबाट उत्सर्जन हुने परिमाण बराबर हो ।

संसारका धनी मानिसको जिन्दगीका बारेमा थाहा पाउन सहज नहुने गास्लिङ बताउँछन् । धनीहरुको जीवनशैलीका कारण ग्रिनहाउस ग्यास उत्सर्जन कुन परिमाणमा भइहरेको छ भन्ने पत्ता लगाउन पनि कठिन हुने उनको भनाइ छ । उनको अनुसन्धान पर्यावरण एक्टिभिस्ट ग्रेटा थनबर्गसँग मेल खान्छ, जसले व्यक्तिगत जवाफदेहितामा जोड दिन्छ । हवाई जहाजले सबैभन्दा बढी ग्रिनहाउस ग्यास उत्सर्जन गर्छ, यसकारण पनि यो विषयलाई व्यक्तिगत जवाफदेहितासँग जोडिएको हो ।
थनबर्गले २०१९ मा दि गार्डियन अखबारमा लेखेकी थिइन्– ‘जति बढी तपाईंको कार्बन फुटप्रिन्ट छ, त्यति नै बढी तपाईंको नैतिक जिम्मेवारी पनि छ ।’

कार्बन उत्सर्जनमा असमानता

पछिल्लो केही दशकमा संसारभर फैलिएको असमानताबारे चर्चा चलिरहेको छ । २००८ को आर्थिक संकटदेखि महामारीसम्म जलवायु परिवर्तनको असर सबैभन्दा बढी गरिबहरुमा पर्न गएको छ । तर असमानता कम गर्ने बारेको बहसमा हामी अधिक उपभोग गर्नेलाई बिर्सिदिन्छौं । बर्लिनका थिंकट्यांक हट एन्ड कुलका म्यानेजिङ डाइरेक्टर लुइस अकेन्जी भन्छन्, ‘तपाईंले गरेको प्रत्येक युनिटको अधिक प्रयोगले के संकेत गर्छ भने, कुनै पनि व्यक्तिले कुनै पनि स्थानमा प्रदूषण वृद्धिमा आफ्नो हिस्सा छोडिरहेको छ ।’ यसकारण कार्बन फुटप्रिन्टमा असमानता छ र संसारमा जलवायु परिवर्तनसँग जुध्नका लागि गरिएको कोसिसमा यो एक खतरा हो ।

यो सन्दर्भसँग जोडिएको आँकडा निकै आश्चर्यजनक छ । २०२० मा अक्सफाम र स्टकहोम पर्यावरण इन्स्टिच्युटले निकालेको एक रिपोर्टका अनुसार, २०१५ मा संसारभरको आधा ग्रिनहाउस ग्यास उत्सर्जनमा १० प्रतिशत सर्वाधिक धनी मानिस जिम्मेवार छन् । त्यसमा पनि एक प्रतिशत धनी व्यक्तिले १५ प्रतिशत उत्सर्जन गरेका थिए । यो आँकडा सबैभन्दा गरिब ५० प्रतिशत मानिसले गरेको उत्सर्जनको दुईगुना हो, जसले सात प्रतिशतमात्रै उत्सर्जन गरेका थिए । तर जलवायु परिवर्तनको दुष्प्रभाव यिनीहरुमाथि पनि पर्छ ।



गरिबहरूको आवश्यकता पनि पूरा भएको छैन

स्टकहोम पर्यावरण इन्स्टिच्युटकी स्टाफ वैज्ञानिक एमिली घोषका अनुसार, संसारको तापमान १.५ डिग्री सेल्सियसभन्दा बढी नबढाउनका लागि ‘कार्बन बजेट’ को व्यवस्था रहेको, तर त्यसको ठूलो हिस्सा धनी मानिसले प्रयोग गर्ने कोशिस भइरहेको छ । गरिबको ५० प्रतिशत आवादीका लागि अलिकति ठाउँ पनि छाडिएको छैन, जसले उनीहरु उत्सर्जन गर्ने स्तरसम्म पुगुन् ।



हट एन्ड कुल इन्स्टिच्युटका अनुसार, अधिकांश धनी देशका मानिस जुन ढंगमा वस्तुहरुको प्रयोग गरिरहेका छन्, त्यसबाट धरतीको वातावरणमा निकै खराब असर परिरहेको छ । आयात गरिएका सामानका कारण हुने उत्सर्जनकै कुरा गर्दा पनि बेलायतमा प्रत्येक व्यक्तिले वार्षिक औसतमा ८.५ टन कार्बन उत्सर्जन गर्छन् । क्यानडामा यो आँकडा १४.२ टन रहेको छ । हामीले यदि तापमान १.५ डिग्री सेल्सियस नाघ्न नदिने हो भने, उत्सर्जन घटाएर ०.७ टनमा ल्याउनु आवश्यक छ ।

उत्सर्जनमा यस्तो परिवर्तन आउनका लागि मानिसहरुले आफ्नो जीवनशैली फेर्नुपर्छ या सरकारहरुले कडा कदम चाल्नुपर्छ । अन्केजी भन्छन्, ‘जीवनशैली परिवर्तन गर्न पनि सन्दर्भ आवश्यक पर्छ । संसारका अधिकांश मानिस अस्थिर राजनीति र आर्थिक अवस्थामा बाँचिरहेका छन् । तर अधिक धनी मानिसको जीवनशैलीमा परिवर्तन नआई अन्य कुरा गरेर काम छैन ।’

अमेरिकाको क्लार्क विश्व विद्यालयकी प्रोफेसर इमिरेट्स हेलिना सेजवाल्ड ब्राउन भन्छिन्, ‘धनी मानिसको जीवनशैलीबाट अन्य मानिसले प्रेरणा लिन्छन् । यसकारण पनि यो एक खराब ट्रेन्ड हो ।’

गास्लिङ थप्छन्, ‘हवाई यात्राको कुरा गर्दा, तपाईंले त्यस्तो यात्रा गर्न थालेपछि, तपाईं एलिटमा पर्नुहुन्छ ।’ संसारका ९० प्रतिशत मानिसले कुनै पनि खालको हवाई यात्रा गरेका छैनन् र संसारका एक प्रतिशत मानिसले हवाई यात्रा गर्दा हुने उत्सर्जन प्रदूषणको कारक बनेको छ । उद्योगपति वा सेलिब्रिटी जो आफ्नो ब्रान्डिङका लागि विभिन्न स्थानमा जान्छन्, तिनले मानिसमा नयाँ आकांक्ष पैदा गरिदिन्छन् ।

राष्ट्राध्यक्ष, ठूला उद्योगपति र सेलिब्रिटीले प्रयोग गर्ने एसयुभी खरिद गर्ने सपना मिडिलक्लासका मानिसहरु देख्न थालेका छन्, जबकि यसले वातावरणमा खराब असर पार्छ । २०१९ मा संसारभर सवारीसाधनको बिक्री ४२ प्रतिशत बढ्यो । एसयुभी सवारीले प्रदूषण अधिक वृद्धि ग¥यो । एसयुभीको बढ्दो मागले विद्युतीय सवारीको फाइदा बिर्सन थालियो ।

ठूला घरहरुका कारण पनि समस्या बढिरहेको छ, किनकि त्यहाँ सामान खपत अधिक हुने गर्छ । एक नयाँ अध्ययनका सहलेखक किम्बरले निकोलस भन्छिन्, ‘घर सोसल स्टाटस बताउने वस्तु भइदिएको छ ।’ घरहरुका कारण हुने उत्सर्जनको ११ प्रतिशत हिस्सा ठूला घरले ओगटेको छ ।

यद्यपि, पछिल्लो समय केही परिवर्तन आउन थालेको देखिएको छ । थनबर्गको प्रयासबाट प्रेरणा लिँदै स्विडेनमा फ्ल्यागस्केम (स्विडिसमा अर्थ– हवाई यात्रामा लाज) को कन्सेप्ट आएको छ, जसले मानिसहरुलाई हवाई यात्राको आवश्यकता बोध गराउन थालेको छ ।

परिवर्तन हुँदैछ

मानिसहरू खानपानमा ध्यान दिन थालेका छन्, यसले वनस्पतिबाट तयार हुने मिट मार्केटमा वृद्धि गराएको छ । ससेक्स विश्व विद्यालयका पिटर नेवल भन्छन्, ‘यो परिवर्तन कुनै सरकारी नीतिका कारण आएको होइन ।’

उदाहरण के दिन सकिन्छ भने, अधिक हवाई यात्रामा कर लगाउने र त्यसबाट उठ्ने रकम स्तरीय सार्वजनिक यातायातमा प्रयोग गर्न सकिन्छ । ठूला घरहरुको करबाट घरहरुलाई इन्सुलेट गर्दै इन्धनलाई गरिबी निवारणमा लगाउन सकिन्छ । तर अप्ठेरो के छ भने, धनी मानिसहरु सहजै यस्तो कर दिन मान्दैनन् ।

सरकारले नै चाल्नुपर्छ कदम

एउटा तरिका के अपनाउन सकिन्छ भने, पर्सनल कार्बन अलाउन्स अर्थात् प्रत्येक व्यक्तिलाई एक कार्बन अलाउन्स दिने, जसलाई सम्बद्ध व्यक्तिले बिक्री वा खरिद गर्न सकोस् । अधिक उत्सर्जन गर्ने मानिसले कम उत्सर्जन गर्नेसँग खरिद गर्न सक्छ । यो उपाय अपनाएर आयरल्यान्ड, फ्रान्स र क्यालिफोर्नियामा प्रयाग गरिँदै छ । तर बेलायत सरकारले यो उपाय आर्थिक रुपमा उपयोगी नहुने र सामाजिक रुपमा पनि स्वीकार नहुने बताएको छ ।

एउटा उपाय के हुन सक्छ भने, सरकारहरुले निजी जेट र ठूला जहाजलाई बजारमा आउनबाट रोक्ने । यसको सट्टा कम उत्सर्जन गर्ने साधनको उपयोगमा जोड दिने ।
जलवायु परिवर्तनको असर देखिइसकेको छ, तर सरकारहरु आफ्ना मतदाता भड्किने अनि धनी मानिसहरु रिसाउने डरको सामना गरिरहेका छन् । कतिपय देशका सरकारहरुले कडा कदमा चालेका पनि छन् । ब्रिटेनमा वेल्सको सरकारले उत्सर्जन घटाउने लक्ष्यमा पुग्न सकियोस् भनेर नयाँ सडक प्रोजेक्ट रोकिदिएको छ ।

नेदरल्यान्ड्स सरकारले पशुपालन ३० प्रतिशत घटाएको छ । ब्रिटेनको चर्चित नर्विच तथा एक्स्टर सहरमा कम उत्सर्जन गर्ने घर निर्माणमा जोड दिइएको छ ।
२०२१ मा एम्स्टर्डममा एसयुभी र छोटो दूरीको हवाई यात्राजस्ता उत्सर्जन गर्ने चिजहरुको विज्ञापनमा रोक लगाइएको छ । ब्राजिलको साउपाउलो र भारतको चेन्नईजस्ता सहरमा पनि बिलबोर्डमा यस्ता विज्ञापनमा रोक लगाइएको छ । 

अन्केजी भन्छन्, ‘यो पर्याप्त छैन । जुन रफ्तारमा जलवायु परिवर्तन भइरहेको छ, सरकारहरुले थप कडा कदम चालेर अपनाइएका उपायमा सुधार ल्याउनुपर्छ । स्तरीय सार्वजनिक परिवहन, कोइलाबाट बन्ने बिजुलीमा निर्भरता कम गर्ने, स्तरीय घर, इन्धनबाट चल्ने सवारी हटाउनेजस्ता विकासका काम गर्नुपर्छ ।’

उनका अनुसार, कुनै पनि मानिसले जानीबुझी वातावरणमा नोक्सान पुर्याउँदैन । ‘मानिसहरु वस्तुको उपयोग आफ्नो आवश्यकता पूरा गर्न, आराम पाउन या विज्ञापन तथा समाजको दबाबमा गर्छन्,’ उनी भन्छन्, ‘व्यक्तिगत रुपमा चालिएका कदमले ठूलो मद्दत पुग्दैन र मानिसले वातावरण बिग्रेकोमा दुःखमनाउ गरेर मात्रै पनि हुँदैन ।’
उनी थप्छन्, ‘हामी सबैले एक कार्यकर्ताले जसरी काम गर्नुपर्छ । हामीले सरकारलाई झकझकाउनुपर्छ कि, उसले आफ्नो बाचा पूरा गरोस् ।’ (बिबिसी)  

  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार १६:२४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया