प्रधानन्यायाधीश जबराले तत्काल पदबाट राजीनामा दिनुपर्छ : रामचन्द्र पौडेल

सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले छिटो पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

उनले प्रधानन्यायाधीश जबराले छिटो पदबाट राजीनामा दिए मात्रै सम्मानजनक बर्हिगमन हुने बताएका हुन् । कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले मंगलबार बिहान हेटौँडामा आयोजना गरेको एक कार्यक्रममा पाैडेलले प्रधानन्यायाधीश जबराले केही दिनअघि आफ्नो सम्मानजनक बर्हिगमनको कुरा गरेको उल्लेख गर्दै त्यसका लागि जबराले छिटो राजीनामा दिनुपर्ने धारणा राखे । 

उनले ढिलाइ गर्दै गए बर्हिगमन अपमानजनक हुने पनि पाैडेलले बताए । उनले प्रधानन्यायाधीशसँग सेटिङ गरेर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदलाई ध्वस्त पारेको, संविधानको आत्मामाथि नै प्रहार गरेको आरोपसमेत लगाए । 

‘अरू संस्था त ध्वस्त भए-भए । देशको एउटा जनताको न्यायको अन्तिम मन्दिर आज सर्वोच्च अदालत ध्वस्त भइरहेको छ । सर्वोच्च अदालतको यो हाल भइरहेको छ । अब अहिले प्रधानन्यायाधीशले अस्ति मात्रै भन्नुभयो– ल ल म छोड्न त छोड्छु तर मलाई सम्मानजनक बर्हिगमनका लागि मौका दिनुस् । मैले त हिजो भन्दिए– जति छिटो छोड्नु हुन्छ, त्यति सम्मानजनक । जति ढिलो छोड्नु हुन्छ, त्यति असम्मानजनक हुन्छ तपाईँको । किनभने एकपछि अर्को सेटिङका प्रश्न खोतलिँदै आउँछन् । सेटिङ गर्नुभएको क–कसले? यो देशका प्रधानमन्त्रीहरू सेटिङ गर्ने अदालतसित,’ पाैडेलले भने, ‘प्रधानन्यायाधीशसँग सेटिङ गर्ने । तलाई यो मन्त्री दिन्छु, यो राजदूत दिन्छु । आयुक्त दिन्छु, मेरो कुरा मान । मैले संवैधानिक परिषदलाई ध्वस्त पारेको पनि मान । संविधानको आत्मामाथि प्रहार गरेको साँची बसिदे प्रधानन्यायाधीश भनेर यो सेटिङ गरेको हो कि होइन? आज सर्वोच्च अदालतको के हालत भइरहेको छ? यो अवस्थामा देश किन पुग्यो?’

उनले जनताको न्यायको अन्तिम मन्दिरको रूपमा रहेको सर्वोच्च अदालत ध्वस्त हुने अवस्थामा पुगेकोमा भन्दै चिन्तासमेत व्यक्त गरे । फरक प्रशंगमा पौडेलले नेतृत्व परिवर्तन गरेर मात्रै पार्टीलाई सही दिशामा अघि बढाउन सकिने बताए । त्यसका लागि पुस्तान्तरण नभइ नेतृत्व परिवर्तन आजको आवश्यक्ता भएको उनको तर्क थियो ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार १४:३९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया